बुटवल । चालु आवको १० महिनामा बुटवल उपमहानगरपालिकामा ३७ लाख रुपैयाँभन्दा बढी रकम भत्तामा खर्च भएको छ । असारदेखि वैशाख मसान्तसम्म जनप्रतिनिधि एवं विभिन्न समितिहरूको बैठक भत्ता मात्र ३८ लाख रुपैयाँ खर्च भएको हो । यो खर्च चालु आवको मसान्तसम्म अझ बढ्नेछ ।
बुटवल उपमहानगरपालिकाले नीतिगत रूपमै भत्ता उपलब्ध गराउने निर्णय अनुरूप नै बैठक भत्तामा लाखौँ रुपैयाँ वार्षिक खर्च हुँदै आएको छ । बैठक भत्ता कर्मचारीले समेत पाउने गरेका छन् । वडा समितिको बैठक, विभिन्न समिति, उपसमिति, मूल्यांकन, राजस्व परामर्श समिति, खरिद इकाइ लगायतका समितिहरूको बैठक भत्तामा १० महिनामा ३८ लाख ७ हजार रुपैयाँ भत्तामा खर्च भएको हो । त्यसबाहेक नगरसभा बैठकको २० लाख भत्ता रकम मध्ये ४ लाख ८ हजार रुपैयाँ पनि १० महिनामा खर्च भइसकेको बुटवल उपमहानगरपालिकाका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिए ।
उपमहानगरपालिकाले बनाएको ऐनअनुसार एउटा वडाको बढीमा तीनपटकसम्म बैठक बसेको भत्ता पाउने कानुनी प्रावधान छ । ६ सदस्यीय समिति रहने वडामा एउटा बैठकमा प्रतिव्यक्ति एक हजारका दरले बैठक भत्ता दिइँदै आइएको छ । यसरी हेर्दा एउटा वडामा महिनाको तीनपटक बैठक बस्दा वार्षिक २ लाख १६ हजार रुपैयाँ भत्तामा खर्च हुने गरेको छ । १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा वार्षिक ४१ लाख ४ हजार रुपैयाँ भत्तामा रकम खर्च हुँदै आएको छ । चालु आवको १० महिनामा मात्र २८ लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ । त्यसबाहेक विभिन्न समिति उपसमितिका लागि उपमहानगरपालिकाले २५ लाख रुपैयाँ बजेट छुटाएको छ । जसमध्ये चालु आवको १० महिनामा ९ लाख ८८ हजार रुपैयाँ खर्च भइसकेको छ ।
प्रतिक्रिया