ताप्लेजुङ । मालपोत कार्यालय ताप्लेजुङमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा सुरु गरिएको छ । मंगलबार नवनिर्मित भवनमा कार्यालय सरेसँगै सेवा सुचारु गरिएको हो ।
ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ । देशभरका १ सय ३१ वटा मालपोत कार्यालयमा सेवा विस्तार गर्ने उद्देश्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले बताए ।
महानिर्देशक दवाडीका अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरेको हो । यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोबार भयो, कति खरिदबिक्री भयो, कति कर संकलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न मिल्छ ।
राजस्व संकलनलाई यसले प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यो प्रणालीबाट देशभरका जग्गा तथा जग्गाधनीहरूको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालाहरूलाई आवश्यक पर्ने तथ्यांक र विवरण सजिलैसँग एकै ठाउँबाट प्राप्त गर्न सकिनेसमेत महानिर्देशक दवाडीले जानकारी दिए ।
घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा दिने र लिने र साक्षीहरूको औँठाछाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणहरूका माध्यमबाट प्रणालीमा समावेश गर्ने तथा सो घरजग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र इमेलमार्फत नोटिफिकेसन जाने व्यवस्था रहेको हुँदा किर्ते कारोबार प्रायः शून्य हुने मालपोत कार्यालयको दाबी छ ।
सरकारले कामलाई सरलीकृत गर्ने उद्देश्यले अनलाइन प्रणाली लागू गरे पनि दक्ष कर्मचारीको अभाव र प्राविधिक कमजोरीले सेवाग्राहीले झन्झट बेहोर्नु पर्ने विषयलाई समेत ध्यान दिनुपर्नेमा ध्यान दिनुपर्ने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए ।
कार्यक्रममा जिसस प्रमुख मादेनसहित फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृतहरूको उपस्थिति रहेको थियो । यसैबीच मालपोत कार्यालय ताप्लेजुङले मंगलबारवाट नवनिर्मित भवनमार्फत सेवा सुचारुसमेत गरेको मालपोत अधिकृत भगिमान मादेनले जानकारी दिए ।
प्रतिक्रिया