‘सेज’मा विशेष सुविधा प्रदान गर्न माग

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीले निर्यात व्यापार बढाउन र औद्योगिकीकरणको तीव्र विकासका लागि विशेष आर्थिक क्षेत्र (सेज) मा विशेष सुविधा हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा यहाँ आज आयोजित सिमरा क्षेत्रको औद्योगिकीरणलाई तीव्रता दिन ‘गार्मेन्ट प्रशोधन क्षेत्र’ सञ्चालनसम्बन्धी अन्तक्र्रियामा उनीहरूले सेजमा आवश्यक पूर्वाधार, परियोजना, ऋण, कच्चा पदार्थ स्वदेशमै उपलब्धलगायतका सुविधा हुनुपर्ने माग गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले मुलुकको निर्यात बढाउन र औद्योगिकीकरणमा सेजको महत्व दर्शाउँदै सरकारले यसलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने सुझाब दिए ।

पूर्वसचिव पुरूषोत्तम ओझाले सिफारिस भएको झन्डै २० वर्षपछि सिमरामा ‘गार्मेन्ट प्रशोधन विशेष क्षेत्र’ सञ्चालनमा आउन लागेकामा खुसी व्यक्त गर्दै सेजमा आउने कानुनी र अन्य समस्या समाधान गर्न सरकारले ‘द्रुतमार्ग संयन्त्र’ निर्माण गर्नुपर्ने सुझाब दिए । अर्का पूर्वसचिव विमल वाग्लेले सेजमा विशेष सुविधा प्रदान गर्नुपर्ने बताउँदै सरकारले यसको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नुपर्ने सुझाब दिनुभयो । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम घिमिरेले मुलुकभर सेज स्थापना गर्ने अभियान चलेको भन्दै स्थानीय तहसम्म घरेलु ग्राम स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘सेज’मा हडताल भए क्षतिपूर्ति कसले दिन्छ ?
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयनमा समस्या रहेको बताए । साथै उनले सेजभित्र बन्द हडताल भए त्यसको क्षतिपूर्तिको व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए । सेजसम्बन्धी ऐनअनुसार उक्त क्षेत्रभित्र बन्द हडताल गर्न निषेध छ ।

कार्यक्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नेपालमा सेज स्थापनाको वर्तमान अवस्था र उद्देश्यका बारेमा प्रकाश पार्दै यसमा प्रदान गरिएका सुविधाका बारेमा जानकारी गराए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले निर्यातमुखी उद्योग र व्यापार प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताउँदै सेज व्यवस्थापनमा सरकारले निजी क्षेत्रसँग सहजीकरण गरेर अघि बढ्ने जानकारी दिए ।

सरकारले निर्यातमूलक उद्योगको प्रवद्र्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन गर्ने, विदेशी पूँजी तथा प्रविधि भित्र्याउने, विदेशी बजारमा स्वदेशी उत्पादनको पहुँच पु¥याउनेलगायतका उद्देश्य राखी २०६० सालदेखि सेज आयोजनाको अवधारणा अघि बढाएको हो ।

प्रतिक्रिया