कक्षाकोठा नहुँदा विद्यार्थीको बेहाल

कालिकोट । यो कुरा रास्कोट नगरपालिका कालीकोटको हो । गर्मी दिन, टिनको छानोबाट निस्कने तातो बाफ अनी शरीररै भरी निस्किएका पसिनाहरू हातले पुछ्दै गुनासो पोख्दै गरेका बालशिक्षामा अध्यननरत करिब ३३ जना विद्यार्थीहरूले कक्षाकोठा अपुग भएका कारण विद्यालय बाहिर बरन्डामा बसेर पढ्दै गरेको गुनासो सुनाए ।

आर्थिक समस्याका कारण राम्रो विद्यालयमा पढ्न नपाएका रास्कोट नगरपालिका लहरेला निवासी सात वर्षीय पवन टमटाको धुलोधुवाले मुखैभरी छोपिएको थियो । विद्यालय डे«स पनि च्यातिएको थियो । पवन टमटा मात्रै होइन बालशिक्षा अध्ययनरत भुपेस शाहीको पनि हालत त्यस्तै थियो । बालशिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरू बाहिरको धुलोधुँवामा नै बसेर अध्ययन गर्दै थिए । बालशिक्षामा अध्ययनरत ३३ जनाको मात्र यो पीडा होइन कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्मका सबै विद्यार्थीलाई कक्षाकोठाको समस्या छ ।

विद्यालयका शिक्षक धर्मराज शाहीका अनुसार यस विद्यालयमा अध्ययनरत २ सय २४ जना विद्यार्थीलाई न त राम्रो खानेपानीको व्यवस्था छ न त शौचालयको नै । विद्यालय सुधारका लागि धेरै निकायसँग पहल गरियो तर कतैबाट पनि गुनासो सुनुवाई नभएको कुरा शाहीले बताए । विद्यालयका प्रधानाध्यापक मुना विष्ट शाहीका अनुसार विद्यालयका भवनहरू पनि जीर्ण अवस्थामा छन् । भौगोलिक विकटताका कारण विद्यालय पनि वस्तीभन्दा टाढाको दुरीमा रहेकाले विद्यार्थीहरूको उपस्थित कमै हुने र राम्रो पढाइलेखाइ नहुने बताइन् ।

विद्यालयमा हाल बालशिक्षालगायत अन्य गरी नौ जना शिक्षकशिक्षिका रहेका छन् । ‘जेठ महिनाको टन्टलापुर घाममा विद्यार्थीलाई घाममा राखेर पढाउनुपर्ने रहर होइन वाध्यता हो, ‘बालशिक्षाकी शिक्षिका पद्मावती शाहीले बताइन् ।

रास्कोट नगरपालिका–१ लहरेलास्थित श्री कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू गर्मी दिन होस् या हिउँद महिनाको चिसो वा बर्खाको मुसलधारे पानी जस्तोसुकै अवस्थामा पनि विद्यालयको बरन्डामा बसेर नै अध्ययन गरिरहेका छन् । यस विद्यालयको शैक्षिक स्तर सुधारका लागि स्थानीय तहले भरिपूर्ण सहयोग गर्ने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । बरालका अनुसार यसै आव भित्रमा कालिका आधारभूत विद्यालयको भौतिक गुणस्तर सुधारका लागि नगरपालिकाबाट नै बजेट विनियोजित गर्ने बताएका छन् ।

शिक्षा विभाग प्रमुख प्रभुलाल न्यौपानेले यस विद्यालयमा मात्र होइन रास्कोट नगरपालिकाभित्र रहेका अधिकांश विद्यालयमा यस्तो समस्या देखापरेकाले अब तत्कालै सम्पूर्ण विद्यालयको अनुगमन गरी विद्यालय सुधारका लागि लागिपर्ने कुरा सुनाए । सामुदायिक रेडियो चंखेली एफएम कालिकोटले सहजीकरण गरेको शैक्षिक संवाद कार्यक्रममा यस्तो अवस्था र अवस्थामाथि छलफल भएको हो । कार्यक्रमको सहजीकरण रेडियो चंखेलीका कार्यक्रम संयोजक हस्त चौलागार्इं (त्रिकाल) र समाचार प्रमुख विश्वनाथ सिंखडाले गरेका थिए ।

प्रतिक्रिया