अरुणले ल्याए ओशोसम्बन्धी पुस्तक

काठमाडौं । स्वामी आनन्द अरुणद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ बजारमा आएको छ ।

ओशो तपोवनमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी, कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित, पत्रकार देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्दले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

नेकपाका प्रवक्ता श्रेष्ठले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनालाई पुस्तकमा चित्रण गरिएको बताए । कांग्रेस नेता गिरीले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म अध्यात्मलाई सही रूपमा बुझ्न नसक्ने विचार जिकिर गरे ।

त्यस्तै, डा दीक्षितले गहन आध्यात्मिक संस्मरण रहेको पुस्तकले पाठक र लेखक दुवैलाई नौलो अनुभव हुने धारणा व्यक्त गरे । पत्रकार त्रिपाठीले पुस्तकले गुरु र शिष्यको सम्बन्धलाई नयाँ उचाइमा प्रस्तुत गरेको विचार राखे । कार्यक्रममा नागरिक लुईंटेलले कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताए ।

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सान्निध्यमा आफूले देखे भोगेका विषयलाई पुस्तकमा उतारेको जनाए । नेपालका धार्मिक स्थललाई विश्वमा चिनाउनुपर्ने आवश्यकतामा जोड दिँदै उनले सुन्दर देशको प्रचार गरेर यसबाट फाइदा लिनुपर्दछ । पुस्तक बुक हिल्स् पब्लिकेशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया