सत्यमोहन र ललितपुर

संस्कृतविद् सत्यमोहन जोशी गत सोमबार ( वैशाख ३०) देखि ९९ सय वर्ष पुरा गरी सय वर्ष उमेरमा प्रवेश गरेका छन् । शताव्दि पुरूषका रूपमा जोशीलाई गत वर्ष नै राज्यले जीवित सम्पदाका रूपमा सम्मान गरेको थियो भने ललितपुर महानगरपालिकाले मासिक २५ हजार रूपैया“ भत्ता र एउटा सवारी साधन उपलव्ध गराएको थियो । जीवित सम्पदा जोशीको जन्मदिनका अवसरमा ललितपुर महानगरपालिकाले सोमबार आफ्ना मातहतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दियो । साथै रथारोहण गराएर नगर परिक्रमा गरी उनलाई सम्मानसमेत प्रकट गर्यो । ललितपुर महानगरसभाले संस्कृतविद् जोशीको सम्मानमा यो वर्षभरी नै विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । ०७६ वैशाख ३० गतेबाट कार्यक्रम सुरू गरी एक वर्षसम्म अर्थात् २०७७ वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ । जोशीको तस्बिर अंकित ब्यानर ललितपुर महानगरपालिका र सगरमाथामा फहराउने, नेपाल सरकारसँग समन्वय गरी जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने, नेपाल सरकारसँग समन्वय गरी जोशीको तस्बिर अंकित चाँदीको मुद्रा निष्कासन गर्ने, जोशीलाई गोसाइँकुण्ड (सिलु) दर्शन गराउने, जोशीको प्रतिमासहित उनको नाममा ललितपुर महानगरपालिका क्षेत्रभित्र पार्क निर्माण गरी उक्त सडकलाई उनको नामबाट नामाकरण गर्नेलगायत २० वटा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ । जोशीकोे अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुगेका कारण यो सम्मन दिइएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको भनाइ छ ।

राजा–महाराजा, रानी–महारानीबाहेक कुनै व्यक्ति जीवित रहेकै अवस्थामा जन्मदिनको अवसरमा सरकारी विदा दिने परम्परा नेपालमा यसअघि सायद थिएन । सर्वसाधरणका छोराले यस्तो सम्मान पाएको नेपालको इतिहासमा सायद पहिलो नजिर हो । जोशी यो हदसम्मको सम्मान पाउन लायक पात्र पनि हुन् । बाबु शंकरदास जोशी र आमा राजकुमारीको कोखबाट बखुम्बहाल, ललितपुरमा जन्मेका जोशीले हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका छन् । जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनका करिब ५० वटा अनुसन्धानात्मक कृति प्रकाशित भइसकेका छन् । जसरी मोतिराम भट्ट नजन्मेको भए भानुभक्त आचार्यको योगदान इतिहासको गर्भमा बिलिन हुन्थ्यो, त्यसरी नै सत्यमोहन नभएको भए कलाकार अरनिकोको तथा भृकुटीको योगदान विलिन हुन्थ्यो । नेपालको संस्कृतिका लुकेका गौरवशाली तथ्यहरूलाई उजागर गर्ने काममा जोशीको योगदान धेरै नै महत्वपूर्ण छ ।

ललितपुर महानगरपालिकाले गरेको यो काम स्तुत्य छ । मुलुकका अन्य पालिकाहरूले पनि ललितपुरबाट पाठ सिक्नुपर्छ । आफ्नो क्षेत्रका सम्पदाहरूको संरक्षण र संवर्धन गर्नुपर्छ । ललितपुर महानगरपालिकाले यो निर्णय गरेको भोलिपल्ट नुवाकोटको एउटा पालिकाले आफ्नो क्षेत्रकी एक सय १७ वर्षीय आमाको सम्मान गर्यो । पालिकाको कोषबाट मासिक १० हजार रूपैँया भत्ता दिने निर्णय गर्यो । एक सय १७ वर्षको उमेर पुगेकी ती आमा सायद विश्वकै सबैभन्दा बढी उमेरकी महिला होलिन् तर अहिलेसम्म गुमनाम थिइन् । शताब्दी उमेर पार गरिसकेका यस्ता गुमनाम बा–आमाहरू मुलुकका कुना कन्दरामा अझै पनि होलान्, उनीहरूको खोजीगरी उचित सम्मान दिनुपर्छ । यो काम गर्ने भनेको स्थानीय सरकारले नै हो । हुन त १ सय वर्ष उमेर पार गरेकाहरू विश्वमा धेरै छन् तर हाम्रो जस्तो गरिब मुलुकमा भने सय वर्ष उमेर पार गर्नेहरू आफैँमा सम्पदा हुन् ।

प्रतिक्रिया