कविताको गुरूत्व विचारमा छ

कवि केशव सिलवाल, नेपाली प्रगतिवादी कविताका क्षेत्रमा परिचित नाम हो । कविताले समाज र भुइँमान्छेको आवाजलाई कलात्मक रूपमा प्रस्तुत गर्नुपर्दछ भन्ने मान्यता राख्ने कवि सिलवालका दुईवटा कविता संग्रह ‘बर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ प्रकाशित छन् । कवि सिलवालसँग नेपाली कविताका बारेमा सौर्य दैनिकले गरेको कुराकानीः

० नेपाली कविता लेखनको धारप्रतिको यहाँको दृष्टिकोण के छ ?
नेपाली कवितामा विभिन्न धार र प्रवृति क्रियाशील छन् । एकथरि कलालाई अहम् मान्दै त्यसको पछि कुँदिरहेछन् र आफू अब्बल भएको भ्रम दिन खोजिरहेका छन् । भावुकतालाई बिकाउ मान्दै भावुकताको व्यापार समेत गरिरहेछन् । तिनीहरू आफैँ भावुक छन् कि छैनन् यो प्रश्न यो छ । अर्काथरि विचारको कविता लेख्नेहरू छन् । विचारको कविता लेख्ने नाममा कलालाई पन्छाउने प्रवृति पनि छ । वास्तवमा हुनु पर्नेचाँहि विचार र कलाको संयोजन हो । त्यसमा यथेष्ट प्रयास हुन सकेको छैन । जनमानसले पछिसम्म सम्झने र जनमानसलाई झकझकाउने कविता वैचारिक कविता नै हो । सात सालको परिवर्तनपछि वैचारिक कविता नेपाली कविताको मूल प्रवृति बनेको छ । हुन त केही अझै पनि छन्द कविता पनि लेखिरहेछन् । धेरै गजल लेखनमा रमारहेका छन् । तर, पनि वैचारिक कविताले आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको छ ।

० पछिल्लो समय लेखिएका कविताले पिँधका मानिसलाई उठाउने कत्तिको काम गरेको छ ?
पछिल्लो समय वैचारिक कविताको लेखनमा नयाँ नयाँ कविको प्रवेशले यसलाई समृद्ध बनाउँदै लगेको छ । अहिलेका कविले विचारसँगै कलालाई पनि ध्यान दिएर कविता– साधना गरिरहेका छन् । कविता पनि एउटा आन्दोलन हो, विद्रोहको हुँकार हो । राजनीतिक आन्दोलन कमजोर हुँदै गएको अवस्थामा कविताले आन्दोलनको आव्हान गरिरहेको छ, पिँधका मानिसलाई उठाउने आवाज बोलिरहेको छ । कविताको कारण नै मानिसमा केही आशा जागेको छ, कविताले नै आन्दोलनका लागि मानिसलाई एकजुट गर्ने दम राखेको छ । पिँधका मानिसको आवाज कविताले प्रचुर बोलेका छन् ।

० कस्ता कविताले मानिस र तिनका मनोदशालाई उठान गर्दछन् ?
अहिलेको युग भनेको विकृत पुँजीवाद र भूमन्डलीकरणको हो । नवउदारवादले मानिसको मनस्थिति, प्रवृति, बानी व्यवहार र दैनिकीलाई खलल पु¥याइरहेको अवस्था छ । अहिलेको मानिस कस्तो मानिस हो भन्ने कुरामा बहसको जरूरी भएको छ । खासमा वर्तमान विकृत समयको विरूद्ध आवाज उठाउने कविताले मानिस र तिनको मनोदशालाई उठान गर्न सक्छन् । वर्तमान समयसँग अन्जान, परहेज गर्ने कविता खासमा यो समयको कविता हुन सक्दैनन् । देश जलिरहेको वेला मायाप्रितीका कविता र गुराँसको कविता लेख्न सकिन्न जुन अहिले केही कविले गरिरहेका छन् ।

० समाजशास्त्रीय दृष्टिले नेपाली कवितालाई कसरी मूल्यांकन गर्न सकिन्छ ?
समाजशास्त्र भन्नु समाजको अध्ययन हो । समाजको अध्ययन नगरी कविता लेख्न सकिन्न । हेर्दा सानो आकारको भए पनि कविता लेखनको लागि गर्नुपर्ने पूर्व तयारी विशाल नै हुन्छ । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा नेपाली कविताले नेपाली समाजलाई बुझ्नै बाँकी छ । नेपाली समाज विविधताले भरिपूर्ण समाज हो । यसको विविधतालाई पर्गेल्न सकेन भने समाज एकातिर हुन्छ र कविता अर्कोतिर । नेपाली समाजको कुरा गर्ने हो भने निकै कम कविता लेखिएका छन् जसले नेपाली समाजको विविधतालाई बोल्छन् । यहाँ त पूर्वाग्रही कवि छन् जसलाई केही विषयमा लेख्नु महाभारत छ, छुन पनि मुटु थिच्छन् ।


० नेपालको समाज, संस्कृति, वर्ग र विविधतालाई कविले कसरी छामिरहेका छन् जस्तो लाग्छ ?
मैले अघि नै भने नेपाली समाजको संस्कृति, वर्ग र विविधता नेपाली कवितामा आउनै बाँकी छ । के हो नेपाली समाज भनेर कविले बुझ्नै बाँकी छ । हो, केही कवि जब्बर रूपमा आएका छन्, तर अधिकांशको हालत खराब छ । उनीहरू नेपाली समाजलाई अन्धाले हात्तीछामे जसरी छामिरहेका छन् । एउटा विषय उठाउँछन् र त्यसैलाई यथेष्ट ठान्छन् । अहिले केही आशा गर्ने ठाउँ पनि छ । हरेक समुदाय र स्थानका कवि आइरहेका छन् र ती आफ्नो पहिचान र आवाजसहित आएका छन् । केही समय अघिसम्म तामाङ समुदायबाट आउने कवि नै थिएनन्, अहिले जमात नै खडा छ र तिनले तामाङ कै कुरा लेखिरहेका छन् । यसले नेपाली कवितालाई गरिब होइन धनी नै बनाउँछ । अझ धेरै समुदायबाट स्रष्टाको आगमन हुन बाँकी नै छ । त्यसकारण कयौँ संस्कृतिका कुरा लेखिन बाँकी नै छन् । संस्कृति भन्नु जीवन बाँच्न आयाम हो, ती आयामबाट समाजको निर्माण भएको हुन्छ । ती कयौँ कुरा छुट्नु नेपाली कविताको बिडम्बना हो ।

० कस्ता कविता लेखिनुपर्छ जस्तो लाग्छ ?
खासमा कविताले समाजमात्र लेखेर पुग्दैन, लेख्ने त मानिसलाई झङ्कृत गर्ने, मन मस्तिष्क हल्लाउने आन्दोलनको विषय हो । विचारले लैस भएका र आममानिसको चासोलाई कवितामा उन्नुपर्छ । समाजको यथास्थितिलाई कायम राख्न लेख्नुको अर्थ छैन । परिवर्तनप्रति प्रतिबद्ध लेखनको खाँचो छ । थिचोमिचो, उचनीच, दमन र अभावका विरूद्ध सशक्त रचनाको आवश्यकता छ । नेपाली समाजको गति र दिशाबाट हामी नेपाली आक्रान्त छौँ । त्यसविरूद्ध विद्रोहको हुंकार चाहिएको छ । अहिले विचार विकृत भइरहेको समय हो, विचारमाथि हमला भइरहको अवस्था हो, विचारका कविता लेख्नेमाथि प्रहारलाई तिव्रता दिइएको छ । यस्तो समय अझ बढी विचारको कविता लेख्नुपर्छ । कवितामा विचारका साथसाथै कलाको संयोजन पनि होस् ।

सात सालको परिवर्तनपछि वैचारिक कविता नेपाली कविताको मूल प्रवृति बनेको छ । हुन त केही अझै पनि छन्द कविता पनि लेखिरहेछन् । धेरै गजल लेखनमा रमारहेका छन् । तर, पनि वैचारिक कविताले आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको छ ।

० कविताको गुरूत्व केमा हुन्छ ?
कविताको गुरूत्व विचारमा छ । विचार भएन भने कविता बन्दैन । भाव पक्ष हावी हुँदा कविताले आफ्नो गुरूत्व गुमाउँछ । आममानिस कविताको गुरूत्व हुन् । मानिसविहीन कविताको जगजगी रहेको वेला आममानिसको सम्वेदनामाथि कविता लेख्नुपर्छ ।

० कविता लेखन र यसको फेसनसँगै देखापरेको चर्चाइज्मका बारेमा यहाँ भनाई के छ ?
कविता लेखन अहिले फेसन नै बनेको छ । तपाइँ फेसबुकमा हेर्नोस् त्यहाँ कविताको बाढी आएको देख्नुहुन्छ । दिनमै सयौँ कविता लेख्ने कविहरू छन् जसले कवितालाई सस्तो बनाएका छन् । जे लेखे पनि कविता हुँदो रहेछ भन्ने भ्रम छ । अर्काथरि चर्चाको लागि बिक्ने कुरा लेख्ने कवि छन् । यी दुवै कविताका लागि हानिकारक छन् । कविताको लागि यथेष्ट साधना र लगाब चाहिन्छ । विचार भएर मात्र पुग्दैन त्यसको प्रस्तुतीकरण, कला पक्षको संयोजन गराउन सक्नुपर्छ । अरूले भने जस्तो, दोहोरिएजस्तो हुनु कविताको अर्को खराब कुरा हो जुन अहिले भइरहेको छ । जुन कविता पढे पनि उस्तै लाग्ने रोगले नेपाली कविताग्रसित छ । यसबाट नेपाली कवितालाई बाहिर निकाल्ने भनेको सचेत कविले नै हो ।

प्रतिक्रिया