मह खाँदा नौ जना बिरामी

धादिङ । जिल्लाको विकट गाउँपालिका रुवीभ्याली गाउँपालिकामा भिर मौरीको मह खाँदा नौ जना बिरामी भएका छन् ।

रुवीभ्याली गाउँपालिका–४ स्थित बोराङमा भिरबाट काढेर ल्याएको भिर मौरीको मह चाख्ने क्रममा नौ जना बिरामी भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ । मह चाख्ने क्रममा बिरामी हुनेहरूमा कान्छा लामा तामाङ, तेजबहादुर तामाङ, ग्यालवान तामाङ, सुष्मा तामाङ, हिमाल विक, लालबहादुर विक, मेलामा तामाङलगायत रहेका छन् ।

बिरामी परेका मध्ये कान्छा लामा तामाङ, तेजबहादुर तामाङ, ग्यालवान तामाङको अवस्था गम्भीर हुँदै गएपछि आफन्तहरूले काठमाडौंबाट निजी खर्चमा हेलिकोप्टर मगाई ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । बाँकी बिरामीहरूको भने स्थानीय क्लिनिकहरूमा उपचार भइरहेको रुवीभ्याली गाउँपालिका–४ का वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए ।

आइतबार बिहान मह खाएपस्चात् उनीहरूलाई वाकवाकी लाग्ने, वान्ता गर्ने, पखाला लाग्नेजस्ता समस्या देखिएपछि स्थानीयहरूले उपचारका लागि उनीहरूलाई स्थानीय क्लिनिक लगेका थिए । चेकजाँच गर्दा तीन जनाको अवस्था गम्भीर देखिएकाले उनीहरूलाई निजी खर्चमा हेलिकोप्टरमार्फत काठमाडौं लगिएको र सामान्य अवस्थाका बिरामीलाई अहिले गाउँमै राखेर उपचार भइरहेको वडाध्यक्ष तामाङले वताए ।

रुवीभ्याली गाउँपालिका–४ स्थित बोराङ गाउँ पूर्वगृहमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङको गाउँसमेत हो । जिल्लाको विकटमा रहेको साविकको सेर्तुङ गाविसमा पर्ने यो ठाउँमा अझैसम्म मोटर बाटो पुगेको छैन ।

प्रतिक्रिया