जिउँदै जलाएकी कञ्चनको मृत्यु

जनकपुरधाम । सिराहाकी २१ वर्षीया कञ्चनदेवी मण्डल बिहीबार बिहान सवा नौ बजेतिर भान्सामा खाना पकाउने क्रममा थिइन् । त्यसै क्रममा उनका पति बेचन र सासू सुर्जी मण्डल खत्वे भान्सा कोठामा प्रवेश गरे ।

उनीहरूले एक्कासि कञ्चनको शरीरमा आगो लगाइदिए । त्यसपछि उनी आत्तिँदै निस्किइन् । त्यस क्रममा छिमेकीले कञ्चनको शरीरमा आगो लागेको देखिपछि प्रहरीलाई खबर गरेर उनको शरीरमा लागेको आगो निभाए । उद्धार गरेर उनलाई मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पु¥याइयो ।

तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल पु¥याइयो । चिकित्सकले उनको शरीरको बाहिरी छाला अधिकांश जलेकाले यहाँ उपचार सम्भव नभएको बताए । त्यसपछि चिकित्सकको सल्लाहबमोजिम उनलाई थप उपचारका लागि राजधानी काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्न पु¥याइयो । तर, उनको उपचारका क्रममा शुक्रबार अपराह्न निधन भएको प्रहरीले जानकारी दिएको छ ।

धनुषाको सहिद नगरपालिकामा मट्टितेल छर्केर नवविवाहितालाई पतिले जलाएको घटनाको एक साता नबित्दै सिराहामा पुनः यो घटना घटेको हो । प्रदेश–२ मा बेटी बचाऔँ अभियान चलिरहेकै वेला यत्ति धेरै घटनाहरू घटिरहेका हुन् । घरायसी विवादमा सिराहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवीलाई उनकै पति र सासूले जिउँदै जलाएका हुन् । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले कञ्चनको अवस्था सुरुआतमै गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको थियो ।

भान्छामा काम गरिरहेका वेला शरीरमा पछाडिबाट आगो लगाइदिएको बयान कञ्चनले प्रहरीलाई दिएकी थिइन् । ‘म भान्छामा काम गरिरहेकी थिएँ । आगो लागेपछि थाहा भयो । मलाई मेरो पति र सासूले यस्तो अप्ठ्यारोमा पारे,’ कञ्चनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद खरेलले जानकारी दिए । घाइते अवस्थामा उनीसँग थप केही बुझ्न गाह्रो परेकोले अन्य कुराको बारेमा अनुसन्धान गरिरहेको उनले बताए ।

‘कञ्चनकी सासूसँग हामीले बयान लिएका छौँ तर उनी केही बोल्दिनन् । त्यसैले, मौकामा पीडितसँगै लिएको बयानका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौँ,’ प्रहरीले अगाडि भन्यो, ‘उनका पतिलाई पनि हामीले खोजी गरिरहेका छौँ ।’ पत्नीलाई जिउँदै जलाउने कञ्चनका पति बेचन मण्डल फरार छन् । कञ्चनकी सासू सुर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छोरीलाई जलाएको घटना थाहा पाएपछि सिराहाको अर्नाका सागरपुरबाट कञ्चनका बुबा रामलोचन मन्डल र आफन्त सन्तोष मण्डल मिर्चैया पुगेका थिए । बुबा रामलोचन, आफन्त सन्तोष र माइजूले उपचारका लागि कञ्चनलाई धरान पु¥याएका थिए । स्थानीयका अनुसार दुई वर्षअघि बेचनसँग विवाह बन्धनमा बाँधिएकी मृत कञ्चनकी डेढ वर्षे छोरी छन् । गत वैशाख ५ गते मात्र धनुषाको सहिदनगर नगरपालिका–१ पुर्बारी टोलमा चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

प्रतिक्रिया