औलो रोगीको संख्या यथावत

जनकपुर । प्रदेश–२ मा औलो रोगीको संख्या अहिलेसम्म न्यूनीकरण गर्न नसकिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय प्रदेश–२ ले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । प्रस्तुत तथ्यांक अनुसार प्रदेश–२ मा औलो बिरामीको संख्या ६६ रहेको छ ।

प्रदेश–२ को चार जिल्लामा औलो बिरामी संख्या अहिले पनि यथावत रहेको तथ्यांकले देखाएको छ । प्रदेश–२ को हाइ रिस्क वार्डको संख्या ६ र मोडरेट रिस्क वार्डको संख्या आठ रहेको छ । जसअन्तर्गत धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–१, ३ र ९, मिथिला नगरपालिका–३, ४ र १ वडाहरूमा हाइरिस्क रहेको छ ।

त्यसैगरी गणेशमान चारनाथ नगरपालिका–६ र सवैला नगरपालिका–३ मा मोडरेट रिस्क रहेको छ भने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१ र २ मा मोडरेट रिस्क रहेको देखिएको छ । त्यसैगरी बारा जिल्लाको जितपुर सिमरा नगरपालिका–६, सप्तरी जिल्लाको बोदेवरसाइन नगरपालिका–२, सप्तकोसी नगरपालिका–११ र सुरुंगा नगरपालिका–९ मा मोडेरेट रिस्क रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

कार्यक्रममा निर्देशनालयका प्रमुख डा.प्रमोदकुमार यादवले औलो रोग परजीबीबाट सर्ने रोग भएकोले यसबाट वच्नका लागि रहनसहनमा परिवर्तन ल्याउनुपर्ने बताए । उनले औलो रोग ठीक हुने रोग भएकोले ज्वरो लागेपछि नजिकको स्वास्थ्य संस्थामा गएर जचाउनुपर्ने सल्लाह दिँदै औलो रोग लागेको खण्डमा यसको सम्पूर्ण औषधिहरू निःशुल्क रहेको बताए ।

सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निर्मुल पार्ने लक्ष्य लिइए पनि नेपालमा औलो रोगको अवस्था भयावह रहेको देखिएको छ । प्रदेश–२ मा बिरामीको संख्या कम देखिए पनि यस रोगको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा रहेको देखिएको छ । जसअन्तर्गत सुदूरपश्चिम प्रदेशमा बिरामीको संख्या ५ सय ८६ रहेको छ भने कर्णाली प्रदेशमा बिरामीको संख्या २ सय १० रहेको छ । त्यसैगरी प्रदेश–१ मा २४, प्रदेश–३ मा २६, गण्डकी प्रदेशमा ३६, प्रदेश–५मा २ सय ३९ बिरामीको संख्या रहेको छ ।

प्रतिक्रिया