खोजखबर

राष्ट्रपति भण्डारीद्धारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सौर्य अनलाइन २०७६ वैशाख १२ गते १२:०३ मा प्रकाशित

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान चीनमा रहेको ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी छन् ।उक्त मन्दिर परिसरमा आइपुग्दा उनलाई यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै सोही मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइयो ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीको साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय