राष्ट्रपति भण्डारी चीनको सियानमा

सियान । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुगेकी छन् ।

उनलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनेछन् । त्यसका साथै उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

प्रतिक्रिया