स्व कांग्रेस नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जलि

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरमा सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जलि दिए । स्व ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

सभापति देउवाले पार्टीको चारतारे झण्डा ओढाएका थिए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्य उपस्थित भएका थिए ।

पार्टीका धेरै केन्द्रीय सदस्य एवं नेता आजदेखि सुरु हुने घोषणा गरिएको जनजागरण अभियानका लागि जिल्ला जिल्लामा पुगेका थिए । लोकतन्त्र दिवसको अवसर पारेर आजदेखि कांग्रेसले ७७ वटै जिल्लामा जनजागरण अभियान सुरु गर्ने तयारी गरेको थियो । नेता ताम्राकारको निधन भएकाले कार्यक्रम वैशाख २५ गतेदेखि सुरु हुने नयाँ कार्यतालिका बनाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेता ताम्राकारको उपचारका क्रममा मङ्गलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय नेता ताम्राकारले स्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

उनले पार्टीका श्रद्धेय नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।

उनले पार्टीको ११औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरे्का थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए । मङ्गलबार बेलुकी बसेको पार्टी केन्द्रीय समितिको बैठकले दिवंगत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

तीन दिनसम्म शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । त्यस्तै आज केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यालय, रुपन्देही जिल्ला कार्यालयलगायत पार्टीको भौतिक संरचना निर्माणमा उनको नेतृत्वदायी भूमिका थियो । राजनीतिक जीवनबाहेक नेता ताम्राकारले शान्ति, बुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माणमा पनि विशिष्ट योगदान पुर्याएका थिए । पार्टी कार्यालयबाट नेता ताम्राकारको शवलाई पशुपति आर्यघाट लगिएको छ । आजै उनको दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया