आइतबारदेखि स्वास्थ्य संस्थाको निरीक्षण

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञ सम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराइ अनुगमन÷निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ । चारमध्ये तीनवटा टोली उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ ।

अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण गरी तोकिएको मापदण्ड पुगेको स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिस गर्नेछ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सीमित स्वास्थ्य संस्थाको एकाधिकार रहेको भन्दै मन्त्रालयले गत चैत १३ गते सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो ।

कामदारको स्वास्थ्य परीक्षणका लागि ठूला अस्पतालले सूचीकरणका लागि निवदेन दिएका छन् । नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एन्ड मेडिकल साइन्स, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्ज प्रालि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि निवेदन दिएका मन्त्रालयले जनाएको छ ।

यसअघि २ सय २६ स्वास्थ्यले मात्र कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछिल्ला समय विकसित प्रविधिसहित स्थापना भएका अस्पतालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका थिएनन् । सरकारले पछिल्लोपटक ०७१ सालमा २ सय २६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षण गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया