पूर्वराजा ज्ञानेन्द्रको पाँच तारे होटल प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

बांके । नेपालगञ्जको बसुदेवपुरमा सञ्चालित नेपालकै पहिलो ग्रिन पाँच तारे होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक बर्ष अघि सफ्ट ओपिनिङ्ग गरी सञ्चालनमा ल्याइएको सोल्टी होटलको मंगलबार ग्राण्ड ओपिनिङ्ग गरिएको हो ।

सुविधा सम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पुर्याएको हुन्छ । तर, यहाँको भुजइगाउँ, वसुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ ।

यो होटल नेपालकै पहिलो हरित ९ग्रिन० होटल मानिएको छ । हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ । जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ । वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्का बताए ।

महाप्रबन्धक खड्काले भने, होटलको संरचना, होटल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरी अन्तर्गत राखेको बताए । हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएको छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार रहेको छ ।

रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी, क्यानाडालगायत मुलुकका होटलमा छ । मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि शुरु गरिएको महाप्रबन्धक खड्काले बताए । विद्युत्मा मितव्ययिता अपनाएको होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरुका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ ।

ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ । नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ । छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँ ठाउँमा सेन्सर जडान गरिएको छ । भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसो कति तापक्रममा छ भन्नेकुरा सहजै थाहापाउन सकिन्छ ।

यसका लागि साढे पाँच लाख लिटरको पानी ट्याङ्की राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको महाप्रबन्धक खड्काले बताए । करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो । एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । क्यासिनो शुरु गरिने योजना छ ।

होटलमा ८१ कोठा छन् । एक रात बस्न चाहेमा चार हजार ३०० खर्चनुपर्ने छ । डोल्पा, रारा, मानसरोवर जाने पर्यटक होटलमा बस्ने गरेका छन् । होटल एशोसिएसन अफ नेपाल ९हान० का महासचिव विनायक शाह सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरणमैत्री होटल भएको र यस्ता होटललाई प्रोत्साहन आवश्यक रहेको बताउँछन् । ‘होटलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटलले पनि यस्ता प्रविधि अपनाउँछन् । पर्यटकले वातावरणमैत्री होटल खोज्छन् अहिले अन्तराष्ट्रिय ट्राभल ऐजेन्सीहरुले वातावरणमैत्री होटल खोजेर बुकिङ गर्ने गरेका छन्,’ महासचिव शाहले बताए ।

प्रतिक्रिया