तीन महिना नपुग्दै स्वास्थ्य सचिव सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तीन महिना नपुग्दै सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो ।

गत माघ ९ मा स्वास्थ्यको जनसंख्या महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुँदा उद्योगमा कार्यरत घिमिरेलाई स्वास्थ्यमा सरुवा गरिएको थियो । घिमिरेले मन्त्रालयमा प्रशासन तथा जनसंख्या महाशाखा हेर्दैै आएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई स्वास्थ्यबाट सरुवा गरेपछि स्वास्थ्यमा नयाँ सचिव पठाएको छैन ।

अब स्वास्थ्य सचिवको जिम्मेवारी एक जनालाई मात्र दिने तयारी रहेको हो । स्वास्थ्यमा अहिले डा. पुष्पा चौधरी सचिवकै रूपमा कार्यरत छिन् । यसअघि १७ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर, अधिकारी दुई महिना नपुग्दै स्वास्थ्यबाट बाहिरिएका थिए ।

यस्तै, सोमबारको बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएको छ । मन्त्रालयका तत्कालिन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो ।

हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा. हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ । मन्त्रालयमा यस पटक ६ वर्षपछि दुई सचिवको बहाली भएको थियो । कार्य व्यवस्थापन गर्न दुई सचिव खटाइएको भनिए पनि घिमिरेलाई करिब तीन महिनामै अर्को मन्त्रालयमा सरुवा गरिएको हो ।

प्रतिक्रिया