‘नानी ! वडाध्यक्षलाई सरुवा गर्न मिल्दैन ?’

शुकदेव थपलिया, काभ्रे । जिल्लाको एक स्थानीय तहमा जिल्ला समन्वय समितिकी उपप्रमुख मञ्जु गौतम पुग्दा उनलाई एक ७७ वर्षीय वृद्धा महिलाले तेर्साएको प्रश्न थियो यो । घरायसी झगडाका कारण आफ्नो वडाबाट न्याय पाउन ती वडाध्यक्षले सयौँपटक वडामा धाउँदा पनि आफ्नो कुरा केही सुनुवाई नगरेको भन्दै उनले गरेको यो प्रश्न सुनेर एकैछिन त उनी जवाफविहीनजस्तै बनिन् ।

उनले केहीबेर सोचेर उनको वास्तविक समस्या बुझिन् अनि यो यहीँबाटै मिल्छ आमा पिर गर्नु पर्दैन भन्ने किसिमको आसयमा कुरा गर्दै उनको समस्या त्यही वडामा रहेका मेलमिलापकर्तामार्फत न्यायिक समितिकहाँ पु¥याइदिइन् । यस्तै अनुभव सुनाउँदै थिइन् स्थानिय तहसँग न्यायिक कार्य सम्बन्धी परामर्श तथा बैठकमा गौतम । काभ्रेको १३ वटै स्थानीय तहका न्यायिक समितिमा रहेका उपप्रमुखहरूको सहभागितामा न्यायिक समिति र मेलमिलापकर्ताबीचको समन्वय, अनुभव एवं हालसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलको आयोजना गरिएको थियो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध मूल नारा बनाएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण नेपाल र द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा काभ्रे बार एसोसिएसनका अध्यक्ष अधिवक्ता देवकुमार मोक्तानले न्यायिक समिति र मेलमिलापकर्ताले हर्ने १३ र ११ प्रकृतिका मुद्दामा न्यायिक कार्य सम्बन्धी व्यवस्था नेपालको संविधानको धारा २१७ ले न्याय समिति हरेक स्थानिय तहमा रहने व्यवस्था गरेको बताउँदै न्याय सम्पादनको क्रममा देखिने जटिलताको सवालमा प्रष्ट्याएका थिए । न्यायिक समितिका सदस्यहरू समेत उपस्थित कार्यक्रममा कस्ताखाले विषय आफूहरूले हेर्ने ? र अबका दिनमा विवादमा आएकाहरूलाई कसरी जित जितको अवस्था बनाउने भन्नेबारे छलफल गरिएको थियो ।

छलफलको क्रममा काभ्रे जिल्लामा कुलोपानी, जग्गा विवाद, घरायसी झगडा, गालीगलौज, सम्बन्धविच्छेद समेतका उजुरी लिएर पीडितहरू आउने गरेको बताइएको थियो । धुलिखेल नगरपालिकाकी उपप्रमुख विमला शर्मा, पनौती नगरपालिकाकी उपप्रमुख गीता वञ्जारा नमोबुध्द नगरपालिकाकी उपप्रमुख रामदेवी तामाङ, मण्डन–देउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाहीले आफ्नो नगरपालिकामा बजार र प्रहरीचौकी नजिक भएकोले पनि कतिपय साना विवादसमेत सिधै प्रहरीमा पुग्ने गरेको बताएका छन् । ग्रामीण भेगको विकट महाभारत गाउँपालिकाकी उपप्रमुख तेजकुमारी माझी, रोशी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी वर्तौला, तेमाल गाउँपालिकाकी उपप्रमुख दुर्गामाया तामाङ, भुम्लु गाउँपालिकाकी कल्पना श्रेष्ठले गाउँमा मदिरा सेवनका विषय बढी र साँध सिमाना विषयसँगै अन्य थुप्रै विषय आउने गरेको र आफूहरूले आएको विवादहरूमध्ये कुन विवाद मिलाउन मिल्छ भन्ने कुरा अध्ययन गरेर मात्रै दर्ता गर्ने र मिलाउने प्रयास गर्ने गरेको बताएका छन् । यस्तै वडाध्यक्षहरूले आफ्नो ठाउँमा आइरहेको विवाद र अपनाइरहेको सामाधानको बारेमा कुरा राखेका थिए ।

उनीहरूले छलफलको क्रममा केही विवाद स्थानीयस्तरमै मिलाउन सकिने भए पनि कानुनी जटिलता र कार्यविधिको अवरोध, भौगोलिक विकटताका कारण अनेक प्राविधिक असुविधा, बाजिएको कानुनी भाषा, जनमानसमा बुझाउन नसकिएको चेतनाजस्ता जटिल समस्या रहेको बताएका थिए । काभ्रेको १ सय ३५ वडामा नै मेलमिलापबाट विवाद मिलाउने अभ्यासलाई दुरुस्त पार्न सबै पक्षको साथ अति आवश्यक रहेको बताइएको थियो । उनीहरूले गाउँमै मिलाइने विवादबाट समय, खर्च र सम्बन्धमा दिगोपन र गोप्यताको बिषयलाई सबैले समयमानै बुझ्नुपर्ने तर्क गरेका थिए ।

यस्तै काभ्रेको तेमाल गाउँपालिका–३ मा मेलमिलाप केन्द्रले गरेको गतिविधिको अनुगमनसमेत गरिएको थियो । अनुगमनका क्रममा भएका समस्या र सामाधानको पाटोबारे र प्रभावकारी काम गर्नै सवालबारे बुझाइएको थियो । पछिल्लो समय पाँच जिल्लाबाट २१ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको काभ्रे जिल्ला संयोजक उमा थापाले बताइन् ।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण नेपालले मेलमिलापकर्ताहरूलाई प्रशिक्षण तालिम दिई वडावडामा मेलमिलाप केन्द्र स्थापना एवं मेलमिलापको लागि सहयोगको वातावरण तयार गरिरहेको छ । यस्तै संवाद समूह काभ्रेले वन्यजन्तुसँग मानवको चिसिँदो सम्बन्धबारे समेत अब के गर्दा मुक्त भइन्छ र सम्बन्ध प्रगाढ हुन्छ भन्नेबारे किसानहरूसँग एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएको छ ।

नालामा रहेका किसानहरूसँग त्यस्ता समस्याहरूको पहिचान गरी त्यसको सामाधान गर्न पहल गर्ने र सरोकारवालाहरूसँग समन्वय गर्ने गर्दै आएको छ । काभ्रेको विभिन्न ठाउँमा बाँदर, दुम्सी लगायतका वन्यजन्तुले बालीनालीमा क्षति पु¥याउँदै आएको भन्दै आफूहरूको समस्या हेरिदिन सरोकारवालाहरूसँग अपिल गर्दै आएका थिए ।

प्रतिक्रिया