सुन्दर नगरी पोखरा । नौ तालले सिंगारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरूले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।
कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौँ नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनु पर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ ।
६ हजार ९ सय ९३ मिटरको उचाइबाट पोखरामा आउनेहरूलाई स्वागत गरे झैँ आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउँछिन् । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छिन् । ०२७ सालमा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउनुहुंदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग । त्यसपछिका दिनहरूमा उनी पोखराको सुन्दरतामा रमाइन् र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बनिन् ।
माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुसी भइन् । माछापुच्छ्रेको कुमारीत्व जोगाउनु पर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न सुरु गरिन् । एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरूमा डा हर्क गुरुङजस्ता विद्वानहरू थिए । उनी आफ्ना धारणामा सुरुदेखि नै अडिग रहँदै आइन् । धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि ।
माछापुच्छ्रेलाई ‘यशोधरा’ ठान्नुहुन्छ उनी । ५० वर्ष अघिदेखि माछापुच्छ्रेलाई मनमा सजाएर राख्दै आएकी उनीलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्रेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनुपर्ने विचार राख्नुपर्नै उनको प्रश्न छ, ‘माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ ? आजसम्म हिमाल आरोहणबाट कति कमायौँ र अब माछापुच्छ्रेबाट पनि कमाउने आशा राखेका छौँ ?’
पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन् । उनले भने, ‘गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरि) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरू मौन छन् ।
अहिले एकाएक माछापुच्छ्रे आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययनविना हतारिन्छौँ । माछापुच्छ्रे«को सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।’ माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट’ को रूपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्रे हिमालको आरोहण खोल्न पहल भएको बताए । ‘प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नुपर्छ,’ उनी भन्छन्, ‘माछापुच्छ्रेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्र्क गरेर हुँदैन ।’
जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनी ठान्छन्, उनले भने, ‘हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसंग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन ।’
सन् १९५६ तिर बिट्रिस कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरूलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ ।
पर्यटन मन्त्रालयका अनुसार ०२० सालपछि यसको आरोहण बन्द छ । कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल । नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको संख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उनको तर्क छ ।
सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो । हाल त्यहाँ आरोहण गर्नेको संख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मन पराउँछन् । माछापुच्छे«्रमा उचाइ र सुन्दरता दुबै विशेषता भएकाले आरोहीको रोजाइ पर्ने तर्क गुरुङको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे आरोहण अनुमति अध्ययनको विषय रहेको बताए । नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा आठ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै आठ वटा छन् । माछापुच्छ्रे हिमाल आरोहणका विषयमा उनले भने, ‘माछापुच्छ्रे हिमाल आरोहण के कारणले रोकिएको थियो रु आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेर मात्रै सान्दर्भिक निर्णय गरिनेछ । हिमाल आरोहीको तथ्यांकलाई पनि हामी केलाउँछौँ ।’
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा भन्छन्, ‘पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छ्रे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गरे । ०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको संघले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ ।
उनले माछापुच्छ्रे हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकाले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताए । नेपालमा सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । उनले त्यसवेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए ।
बेलायतीहरू हाबी रहेको त्यो समयमा उनीहरूकै बोली बिक्ने गरेको लामा बताउँछन् । सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही वेलादेखि यस संस्थाको सिफारिसमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्छन् ।
कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्यान्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौँ नम्बरमा माछापुच्छ्रे रहेको छ ।
प्रतिक्रिया