बबरजंग थापा
गुल्मी नेपालको एक ऐतिहासिक भौगोलिक धार्मिक सांस्कृतिक तथा जातीय र जैविक विविधताले भरिपूर्ण जिल्ला हो । समुद्र धरातलदेखि दुई हजार ६ सय ९० मिटरको उचाइमा अविस्थित रहेको जिल्लाको नामाकरणबारे इतिहास पल्टाएर हेर्दा संस्कृत भाषामा छाउनी वा पल्टन भएको ठाउँलाई गुल्म भनिन्थ्यो । लिच्छवी र मल्लकालमा बाइसे र चौबिसे राज्यमा त्यहाँ छाउनी रहेको थियो भन्ने किंवदन्ती रहेको छ । सदरमुकाम तम्घासबाट चारकोस पूर्वमा रहेको चारपाला भन्ने स्थानलाई गुल्मकोट मानिने गरिएको र कालान्तरमा जिल्लाको नाम गुल्मी रहन गएको पाइन्छ । ११४९ वर्गकिलोमिटर क्षेत्रफल रहेको जिल्लामा दुई लाख ८० हजार १ सय ६० जनसंख्या रहेको छ । हाल दुई निर्वाचन क्षेत्र, दुई नगरपालिकासहित १२ स्थानीय तहमा विभक्त जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, वेशभूषा, रीतिरिवाज र धर्म संस्कृतिको सामञ्जस्यता रहेको छ । विभिन्न तथ्यांकलाई नियाल्दा यो जिल्ला शैक्षिक हिसाबले समृद्ध रहेको पाइन्छ, त्यसैको फलस्वरूप धेरै व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जिल्लाको मात्र नभई राष्ट्रकै गौरवगाथा उँचो राखेका छन् । तर, सम्पूर्ण चिज गर्भमा धारण गरेको जिल्लामा यी विषयहरूमा जानकार र राम्रो प्रचार–प्रसार नहुँदा पर्यटकीय र आर्थिक सम्भावना हुँदाहुँदै पनि यस जिल्ला ओझेलमा परेको छ । यहाँ यिनै विषयवस्तुमा आधारित रहेर जिल्लाको छोटकरीमा चिनारी दिने प्रयत्न गरिएको छ ।
ऐतिहासिक एवं धार्मिक अवस्था
आफ्नै ऐतिहासिकता र धार्मिकता बोकेको जिल्लामा पर्यटकीय सम्भावना प्रशस्त देखिनु स्वाभाविकै हो । पवित्र ऋषिशुङ ऋषिको तपोभूमि रेसुंगा लेकको महत्व छँदै छ । जहाँ हरेक वर्षको साउनको एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । उता विशाल कालिगण्डकी जिल्लाको सीमा भएर बग्नु आफैँमा रमणीय छ । अझ आश्चर्यको विषय त विश्वकै एक मात्र शालिग्राम पाइने कालिगण्डकी किनारमा माघेसंक्रान्तिका दिन भव्य मेला लाग्ने रूरू क्षेत्र त्यस्तै, रूरू कन्याको मन्दिर, ऋषिकेश मन्दिर, भृगतुनेश्वर मन्दिर, सिर्सेनीमा रहेको अरबिन्द्र आश्रम रुद्रबेणी जहाँ कालिगण्डकी र बडीगाड मिलेर बनेको छ । साथै, यहाँ एक ट्रक शालिग्राम रहेको अनुमान गरिन्छ । यस अर्थ दूरदराजका मानिसदेखि बाह्य पर्यटकको मन तानेको छ । यसका अलावा ऐतिहासिक मर्भुङ मालिका, धुर्कोट, पुर्कोट, इस्माकोट, दरबार देवस्थान, मुसिकोट, भार्सेकोट दरबार र देविस्थानजस्ता पर्यटकीयस्थल रहनु गुल्मीकै अग्लो चुचुरोको रूपमा चिनिने भार्सेको थाप्ले र रेसुंगाको मनोरम दृश्य मदाने नजिकै रहेको मालिका मन्दिरले जिल्लाकै सान बढाएको छ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाको दृश्यले गुल्मीलाई भूस्वर्गजस्तो बनाएको छ । धुर्कोट गाउँपालिकामा ०४४ सालमा पत्ता लागेको विचित्र गुफा, छापहिलेको तिखेचुली, हुँगाको शिवालय मन्दिर, गुल्मी र अर्घाखाँचीको सिमानामा रहेको कंके देउरालीदेखि लेकमा फू्ल्ने टाँकी र लालीगुराँसको महत्व बयान गरिसक्नु छैन ।
सामाजिक तथा सांस्कृतिक अवस्था
गुल्मी जिल्लामा लगभग ८५ प्रतिशतले हिन्दू धर्म मान्ने गर्दछन् भने बौद्ध, इस्लाम र क्रिस्चियन धर्म मान्नेहरू पनि रहेका छन् । विभिन्न धर्म संस्कृति, वेशभूषाको विविधता रहेको हुँँदा यिनीहरूमा आआफ्नै चालचलन रीतिरिवाज हुनु स्वाभाविक हो । यहाँ खासगरी, बाह्मण, क्षत्री र मगरको बाहुल्यता रहे पनि अन्य जातजातिहरूको बसोबासले समावेशीताको झल्को दिने गर्दछ । यस जिल्लामा गीततर्फ दोहोरी, देउँसी÷भैलो, भ्याउरे, रत्यौली, असारे गीत, सालैजो, रोइला र सोरठी भाका लोकप्रिय मानिन्छन् । त्यस्तै, संगीततर्फ नौमती बाजा, खैजडी, मादल, गितार, मुजुरा, हार्मोनियम, तबला, मुर्चुंगा, मुरलीका साथै बाँसुरी पनि लोकप्रिय छन् । दसैँपछिको एकादशीदेखि पूर्णिमासम्म कोत तथा मन्दिरहरूमा लाठी, खुँडा र रुमाल समाई लाम लागेर नाच्ने सराँय नाच निकै रोचक लाग्ने गर्दछ । नेपालका अल्पसंख्यक जातिमा पर्ने बोटे जातिले मनाउने आफ्नै संस्कृति तथा रीतिरिवाजले पनि आफ्नो पहिचान स्थापित गरेको छ । यसरी समाजमा विभिन्न जातजातिको बसोबास रहेको गुल्मी जिल्लामा अनेकतामा एकताको सुगन्ध पाइनुले पनि जिल्लाको महत्वलाई थप स्पष्ट पारेको छ ।
आर्थिक अवस्था र सम्भावना
गुल्मी नेपालकै कफी खेतीको सुरुआत गर्ने जिल्लाको रूपमा परिचित छ । यहाँ उत्पादित कफी स्वदेशदेखि विदेशसम्म निर्यात हुने गर्दछ । १९९५ सालमा आँपचौरका हिरा गिरीले म्यानमार (बर्मा) बाट कफीको बोट ल्याएर रोपेका थिए भन्ने भनाइ छ । तर, पछि मात्र ०४२ सालमा व्यावसायिक रूपमा कफी खेतीको सुरुआत गरिएको थियो । गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि नजिकै रहेको भाड गाउँ, नयाँगाउँ र पीपलधारा आदि क्षेत्रमा पाइने सुन्तला धुर्कोट वस्तुमा उत्पादन हुने तोरीका साथै दिगाम थोर्गा र हुँगामा उत्पादन हुने अदुवा उखुबाट खुदो भेली र गुँड बनाइने विधि स्मरण गर्न लायक छ । जसबाट एकातिर आर्थिक उपार्जन भएको छ भने अर्कोतर्फ जिल्लाकै महत्व बढेको छ । यस्तै, दलित समुदायमा प्रचलनमा रहेको फलामका भाँडा बनाउने प्रविधि कुमाल समुदायले माटो तथा सेरामिक्सको प्रयोगबाट बनाउने भाँडा स्थानीय स्रोत साधनको प्रयोगबाट उत्पादन गरिएका र स्थानीय खोलाबाट निकालिएका लघुजलविद्युत् उत्पादनले जिल्लाको सानलाई चम्काउने काम गरेको छ ।
परम्परागत पानीघट्टदेखि इस्मा, छापहिले र दोहोलीमा बनाइने विशेषगरी काठका ठेकाठेकी र उच्च भूभागमा पाइने लालीगुराँस, असुुरो, सोमे, बोधो, टिमुर सुनकाउलो, हर्रो, बर्रो, टोप्रेझार, पखानबेदी, चरीआँैले, निम, चिराइतो र अमलाजस्ता अमूल्य जडीबुटीको पर्याप्तता रहनुले पनि यस क्षेत्रको चिनारी थप समुच्च रहेको छ । गुल्मीमा धेरै घना जंगल भएकाले चितुवा, मृग, हरिण, स्याल, खरायो, तित्रा, कालिज, च्याखुरा, ढुकर, जुरेली, सुगा र न्याउली आदिको दृश्वालोकनसमेत गर्न पाइनुले पर्यटकीय सम्भावनालाई थप उजागर गर्दछ । यी जीवजन्तुको उचित संरक्षण र प्रचार÷प्रसार गर्नसके पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन । कालिगण्डकी, बडीगाड, छल्दीपनाहा, दरौँदी र निस्तीका साथै अर्जैको खोलाबाट जलविद्युत् र सिँचाइको सम्भावना उत्तिकै रहेको छ । चारौसी फाँट, अर्जैबेँसी, छल्दीपनाहा, पौँदी अमराई, बडागाउँ, मजुवा र वामीटक्सारका साथै रमरानी, मेसिपाटा र माझारुम्टाका पाखापखेरामा रहेको परम्परागत खेती प्रणालीमा वैज्ञानिक कृषि प्रणालीको स्तरवृद्धि गर्नसके समग्र कृषि क्षेत्रमै टेवा पुग्नेमा दुई मत छैन । प्रशस्त वनजंगल भएकाले पशुपालनबाट पनि लाभ लिन सकिने प्रशस्त आधारहरू रहेका छन् । यस्तै, पुरानो बस्तीका रूपमा चिनिने मुसिकोट र बडागाउँ मुख्य केन्द्रका रूपमा रहेको रिडीबजार, वामीटक्सार, सिमलटारी लगायतलाई व्यवस्थित सहको रूपमा विकसित गर्न आवश्यक छ ।
गुल्मीको रिङरोडलाई जोड्ने इन्दे्र गौंडाको पुलले प्युठान, बागलुङ र अर्घाखाँचीसम्मको जिल्लाको गतिविधि विस्तार गर्न सघाउ पुग्ने देखिन्छ । त्यस्तै, वामीटक्सार सडक बागलुङ सडक र सालझण्डी–अर्घाखाँची–गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्मको राजमार्ग पिच हुन सके यहाँको पर्यटकीय आर्थिक क्षेत्र माथि उकासिने अपेक्षा गर्न सकिन्छ । त्यसैगरी, रेसुंगा मदानेलगायतका ऐतिहासिक र धार्मिकस्थलबाट केबलकार सञ्चालन गर्नसके पर्यटकीय गन्तव्यमार्फत ५ नम्बर प्रदेशकै मुहार फेर्न सकिन्छ ।
अर्कोतर्फ राम्रो र गुणस्तरीय होटल तथा यातायातको क्षेत्रमा त्यत्तिकै ध्यान पु¥याउन आवश्यक छ । त्यसैगरी, कृषिको बजारीकरण प्राविधिक शैक्षिक जनशक्तिको उत्पादनका साथै अन्तर्राष्ट्रियस्तरको खेलमैदान र नियमित हवाई उडान तथा बढ्दो बसाइँसराइ रोक्नका लागि रोजगारी तथा यथेष्ट भौतिक पूर्वाधारको विकासमा सरोकार पक्षले ध्यान पु¥याउन सके गुल्मीको विकासमा टेवा पुग्ने देखिन्छ । त्यसैले, प्रशस्त सम्भावना र आधारहरू बोकेको गुल्मीको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनु अहिलको आवश्यकता बनेको छ ।
प्रतिक्रिया