आचारसंहिता आमरूपमा स्वीकार गरिएका निर्देशनहरूको सूची हो जसले सञ्चार संस्था तथा त्यहाँ कार्यरत व्यक्तिहरूको क्रियायाकलापहरूलाई निर्देशित गर्दछ । तथा यसले सञ्चारमाध्यमको स्वतन्त्रतालाई प्रोत्साहित गर्दछ । स्वतः सञ्चालित हुने नियमहरू हुने भएकाले आचारसंहिता आपसी समझदारी र सहभागीतामा आधारित हुन्छ । आचारसंहिताले संकटको वेलामा सरकारसँग समन्वय गरी काम गर्न सहयोग गर्दछ किनभने मिडियाको आचरणका बारेमा सञ्चारमाध्यमका प्रतिनिधिहरू समेतको सहभागीतामा आचारसंहिताको तयार गरिएको हुन्छ । आचारसंहिता भनेको एउटा त्यस्तो व्यवहारिक निर्देशिका हो, जसले सम्पादक, सञ्चार उपभोक्ता र पत्रकारहरूलाई सञ्चार व्यवहारका महत्वपूर्ण सवालहरूलाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा जानकारी दिन्छ ।
सञ्चारमाध्यम सञ्चालन हुने वैधानिक परिधिभित्र यसको निर्माण भए पनि आचारसंहिता नरम कानुन पनि हो, जसले नैतिक दबाब दिेने काम गर्दछ । आजभोलि आचारसंहिताको पालना वा उल्लंघनलाई महत्वका साथ निगरानी राख्ने चलन बढ्दै गएको छ । नेपालमा आामसञ्चारको आचारसंहिता बनाउने जिम्मेवारी कानुनी रूपमै प्रेस काउन्सिल नेपाललाई रही आएको छ ।
वास्तवमा पत्रकार तथा आमसञ्चार गृहका व्यक्तिहरूले के गर्न हुन्छ र के गर्न हँुदैन भन्ने निर्देशन नै आचारसंहिता हो । नेपालमा चौथौ अंगको रूपमा स्वीकारिएको यो पेसाकर्मीले आफ्नो आचारसंहिताभित्र बसेर काम गर्छ भने आमनागरिक सुसूचित हुनुका साथै जनमानसमा यो पेसाप्रति सम्मान पनि बढ्छ । पत्रकारिता पेसा पूर्ण स्वतन्त्त हुनुपर्छ तर स्वतन्त्रताको अर्थ अनियन्त्रित र अराजक भने पक्कै होइन । स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग, आधारहिन समाचारको सम्प्रेषणले सिंगै पेसाको साख घटाउँछ ।
आचारसंहिता मिडिया पिच्छे फरक हुनसक्छ तर आधारभूत मान्यता भने एउटै हुन्छ । आचारसंहिता पत्रकारको आचारणसँग सम्बन्धित हुन्छ । पत्रकारिता पेसामा लागेर के गर्न हुन्छ के गर्न हँुदैन र पत्रकारिता पेसाको केन्द्रविन्दु के हो भन्ने विषय आदर्शसँगै सम्बन्धित कुरा हो । एउटा निश्चित पेसा अँगाल्दा उक्त पेसालाई कसरी मर्यादित र गरिमामय बनाउने भनी आचारसंहिताले उक्त पेसाकर्मीलाई एउटा परिधिभित्र राख्दछ । आचारसंहिता कानुनभन्दा पृथक हुन्छ । यो राज्यले लागू गर्ने कानुन जस्तो हुँदैन र दण्डात्मक शक्तिद्वारा लागू हुने पनि हुँदैन ।
पत्रकार वा सञ्चारकर्मीलाई आफ्नो पेसाप्रति अनुशासित र मर्यादित बनाउनु हो । पत्रकारिता क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन प्रेस आचारसंहिताको विकास भएको हो । पत्रकार आचारसंहिताको मूल उद्देश्य पत्रकारितालाई मर्यादित, जवाफदेही बनाउँदै जनताको हितमा समर्पित हुनु हो । प्रेसको व्यवसायिक आचार संहिता त्यस्तो पत्रकारिता क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पत्रका प्रेस आचारणको सिद्घान्त विकसित गरिएको हो । पत्रकार आचार संहिताको मूल उद्देश्य पत्रकारितालाई मर्यादित बनाउँदै जनताको हितमा समर्पित हुन नै हो ।
प्रेसको व्यावसायिक आचरण कायम गर्न निश्चित सिद्घान्तहरूका आधारमा तय गरेको मान्यताहरू नै पत्रकारको आचारसंहिता हो । पत्रकार आचारसंहिता जहिले पनि मिडिया र पत्रकारले के गर्न हुन्छ र के गर्न हुदैन भन्नेसँग सम्बन्धीत छ । नेपालमा पत्रकार आचारसंहिताको दृष्टिकोणले पनि गोर्खापत्रमा देव शमशेरले के छाप्न र के नछाप्ने भनेर पत्रकार आचारसंहिताको रूपमा सनद जारी गरेका थिए । त्यसरी नै नेपालमा विभिन्न समयमा यस्ता विभिन्न आचार संहिता बन्दै आएका छन् ।
हरेक वर्ष आचारसंहिता उल्लंघनका घटनाहरू वृद्घि भएको तथ्यांक अर्थात् प्रेस काउन्सिलको रिपोर्टमा देखाएको छ । यसरी हरेक वर्ष आचारसंहिता उल्लंघनका घटनाहरू बढ्नुमा पत्रकार तथा सञ्चार माध्यम नै जिम्मेवार छन् । पत्रकाररिताको आधारभूत मान्यता नै नबुझेका कतिपय पत्रकारहरूले सामाजिक उत्तरदायित्व बहन गर्ने पेसा भन्दा पनि पत्रकारितालाई व्यक्तिगत फाइदा लिने साधन र साध्यको रूपमा लिने गरेका कारण पनि आधारसंहिता उल्लंघनका घटनाहरू बढेको पाइन्छ ।
नाम चलेका कतिपय सञ्चार माध्यमहरूमा प्रकाशित, प्रसारित समाचार राम्ररी अवलोकन गर्ने हो भने आचारसंहिता उल्लंघन भएका सामाग्रीहरू दैनिक रूपमा पढ्न, हेर्न र सुन्न सकिन्छ । सत्यत्थ्यको गहिराइमा पुग्नुभन्दा पनि सतही, कपोकल्पित र भ्रामक समाचार प्राय गरी विभिन्न पत्रिका, टिभी, रेडियो, तथा अनलाइनहरूले प्रकाशन तथा प्रसारण गर्ने परिपाटीका कारण पनि आचारसंहिता उल्लंघनका घटनाहरू बढ्ेको देखिन्छ ।
नेपालमा हाल आएर केही अनलाइन न्युज पोर्टलहरू आचारसंहिताको बाटोमा हिड्न सकेका छैनन् । नेपालमा च्याउ जस्तै उम्रिएका अनलाइनले सनसनीवाद मच्याएर जनमानसलाई भ्रामक समाचार फैलाएको पाइन्छ । पत्रकारिताको घेराभन्दा बाहिर गएर यहाँका केही अनलाइन मिडियाले जनता समक्ष पत्रकारिता पेसाको गलत फाइदा उठाएका छन् । वास्तवामा पत्रकारितामा शुद्घता, सन्तुलन, विश्वसनीयता, शिष्टता जस्ता सिद्घान्तको आवश्यकता भए पनि यसको कार्यान्वयन अनलाइन पत्रकारिताले दिन सकेका छैनन् । केही अनलाइन मिडियालाई मात्र यहाँ पीत पत्रकारिताको संज्ञा दिन सकिन्छ ।
अर्काेतर्फ यहाँका नाम चलेका अनलाइन मिडियाले भने सकारात्मक समाचार नै दिइरहेका छन् । तसर्थ, सनसनीवाद तथा भ्रामक समाचार, भ्रामक दुश्य अनलाइनमार्फत देखाउने भएकाले नेपालका केही अनलाइनलाई पीत पत्रकारिताको संज्ञा दिन सकिन्छ । नेपालमा सञ्चालमा रहेका अनलाइनहरूमा केवल यौन, वीभत्स तथा रगताम्य दुर्घटनाका तस्बिर श्यामाकन नगरिकनै पोस्ट गर्ने प्रचलन रहेको छ ।
नेपालमा यस्ता कार्यलाई नियन्त्रण गर्ने निकाय प्रेस काउन्सिल हो यसले विभिन्न आचारसंहिता बनाएर अनलाइन तथा अन्य मिडियालाई नियन्त्रण गर्ने जमर्काे गरे पनि सोचेजस्तो उपलब्धि गर्न सकेको छैन् । यसले केही केही अनलाइनलाई मात्र कारबाही गरेको देखिन्छ । तसर्थ यो निकाय निकै नै सक्रिय हुनु जरुरी रहेको छ । यसरी नेपाली अनलाइन मिडियाले मात्र नभएर देशका सम्पूर्ण फरक धारका मिडियाले आचारसंहिताको बाटोमा लाग्नु आवश्यक छ । (यसको फोटो पुरानै छ)
प्रतिक्रिया