युवा जीवन तथा लभलेटर साहित्यको महत्व

कुनै जमाना थियो, ‘लभलेटर साहित्यको ।’ प्रेमपत्र लेख्ने, प्रेम प्रस्ताव राख्ने र प्रेमलाई स्वीकार्ने र विवाह बन्धनमा बाँधिई जीवनलाई सुन्दर बनाउने । लभलेटरमा त्यति शक्ति थियो, जसले अपरिचत, नयाँनौलो सोच्दै नसोचेको मनलाई एकैचोटि वंशीभूत बनाउन सक्थ्यो । फरक–फरक मनहरूलाई मिलाउन सक्थ्यो । फरक–फरक जातधर्म र दूरीलाई समेत नजिक गराउन सक्थ्यो । चाहेको मानिसको आसय बुझ्ने र उसलाई नजिक ल्याई जीवनसाथी बनाउने सहज माध्यम थियो । मानिसका मनहरूलाई कोमल ढंगबाट पगाल्ने, आत्मीय बनाउने मनमुटु नै साटासाट गर्ने त्यो जमानाका युवाका लागि पुल नै थियो ।

लभलेटरले कठोर र अपराधी युवालाई करुण र नरम बनाई प्रेमप्रति आशक्त बनाउँथ्यो । मानसिक रूपमा विक्षिप्त भएकाहरूलाई समेत जिउने साहस दिई त्यागी र समर्पित बनाउँथ्यो । पाउनु मात्र प्रेम होइन, समर्पण गरी अरूको खुसीमा जीवनलाई आहूतीसम्म दिन यसले प्रेरित गरेको थियो । युवा जमातलाई मात्र होइन क्रुर तथा हिंस्रक राजा महाराजा, सम्राटसम्मलाई समेत यसले प्रेम र शान्तिको मार्गमा रूपान्तरण गरेका थुप्रै इतिहासहरू छन् । अझ लभलेटरका बारेमा स्थानीय गाउँघरदेखि राज्य प्रशासनसम्म ठूलै बहस र कारबाहीका विषय बन्थे । शान्ति र त्यागको एउटा गहनमन्त्र नै थियो लभलेटर साहित्य, जसले अर्को मानिसको बाँच्ने साहस दिन्थ्यो, जीवनलाई आहूती दिने शक्ति प्रदान गर्दथ्यो अनि जिउने रहर जगाउँथ्यो । आफ्ना मानिस टाढा भए पनि ऊ प्रतिको माया सदैव साथमा हुन्थ्यो, छोडी जानेप्रति आस्था र विश्वास दिलाइ राख्थ्यो ।

कोही–कसैलाई मन पर्दथ्यो, कोही–कसैको माया लाग्दथ्यो तर अभिव्यक्त गर्न सकिन्नथ्यो । अझ वर्ग, जात र दूरीका कारण कसैले कसैलाई चाहेर पनि आफ्ना मनका कुराहरू अभिव्यक्त गर्न नसकिने अवस्थामा चिठ्ठी नै उपयुक्त माध्यम थियो । त्यस्ता, चिठ्ठीहरूमा अझ प्राकृतिक सुन्दरताका बखानसँग तुलना गर्दै लेखिन थाले पनि ती साहित्यिक प्रेमपत्रको सान्दर्भिकता अर्कै हुन्थ्यो ।

सामान्य युवादेखि राजकुमार, राजकुमारीसम्म र नेपोलियन बोनापार्ट र राजकुमारी डायनाको प्रेमपत्रसम्म हामीले देखेका पढेका छौँ । साहित्यका मुख्यतः पाँचै विधालाई समष्टिगत गरी लेख्न सकिने प्रेमपत्रहरूको इतिहास नेपालका ससाना राज्यदेखि ताजमहल र रोमियो जुलियटसम्मका इतिहासमा भेटिन्छन्, साह्रै सुन्दर साहित्य । बेलायतकै रिचार्ज बर्टन र इजिलावेभ टैलरको प्रेमलाई मूर्तरूप दिन सुन्दर साहित्यले ठूलै भूमिका खेलेको छ ।

नेपोलियन बोनापार्टकी माइली पत्नी मारिया वालेस्कीसँग गहिरो प्रेम र वालेस्कीले लेखेको प्रेमपत्रकै कारण आइसल्यान्डसँगको अन्तिम युद्धमा बोनापार्ट पराजित भएको भन्ने इतिहास पनि छ । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनले पत्नी नान्सी रेगनलाई विवाह भएको ३१ वर्षपछि लेखेको साहित्यिक लभलेटरका बारेमा हामीले पढेकै छौँ (सन् २००० मा प्रकाशन भएको रेगनको पुस्तक आइलभ यू रोनी) । अमेरिकाकै २८औँ राष्ट्र पनि उड्रो विल्सनदेखि विश्वका ठुल्ठूला र महान् व्यक्तिहरू जो लभलेटर लेख्थे । तिनीहरूले आफ्नो व्याकुल प्रेमलाई सार्थक तुल्याउन प्रेमपत्रहरू लेख्थे ।

आजकाल प्रेमपत्र लेखिँदैन । सहरिया टिनेज पुस्तालाई प्रेमपत्र हातले लेखिन्थ्यो भन्दा हासो लाग्न थालेको छ । विज्ञान प्रविधि र इन्टरनेटको जमानाले कलम चलाउनै धेरैलाई अल्छि लाग्न थालेको छ । यस्ता सामाजिक सञ्जालका माध्यममा लेखिने प्रेमपत्रहरूमा कलमले लेखिने साहित्य छैन, कला पनि छैन । कुनै प्राकृतिक सुन्दरतासँग मानिसको रूपरंग र आचरणलाई तुलना गरिँदैन । बरु ‘फेवातालजस्ता आँखा तिम्रा, माछापच्ुछ्रे« हिमालजस्तो नाक तिम्रा, सिमल काँडे छाती, फलानो हिरो हिरोइनजस्तो रूप र शरीर तिम्रो’ आदि भनेर सम्बोधन गरिन्छ ।

साहित्यिक प्रेमपत्रमा प्राकृतिक बखानको घेरामा बाँध्दै मनपरेको मानिसलाई आफ्नो अन्तर आत्ममा कैद गरिने कला हुन्छ । तर, अहिलेका इ–पत्रहरूमा बदामी आँखा, सुनकेशरी लालुपाते ओठ चन्द्रमुहार जसले आफ्नो जीवन पूर्ण हुने र जुनी–जुनी बाँच्न प्रेरणा दिने आग्रह गरिँदैन । बरु प्रेमपत्रमा सिधै यू सेक्सी भनेर यौनको कुरा गरिन्छ । कोकाकोलाको बोतलसँग प्रेमीको शरीरलाई तुलना गरिन्छ । मायालाई रेस्टुरेन्टको खानापिनसँग दाँजेर हेरिन्छ । अहिलेका पुस्तालाई प्रेम एउटा देखासिखीको संस्कार बन्दै गएको छ ।

कलेजमा केटा वा केटीको गर्लफ्रेन्ड वा ब्वाई फ्रेन्ड छैन भने उसको प्रतिष्ठा हुन्न । अझ आधुनिक भनिने महँगा कलेजहरूमा एउटा युवकका दर्जनौँ गल्फ्रेन्ड र एउटी युवतीका त्यति नै ब्वाइ फ्रेन्ड हुनेगरेका छन् । उनीहरू त्यस्तै प्रेममा रमाउँछन् । अन्ततः जब आफ्नो निजी जीवनको सुरुआत हुन्छ, तब उनीहरू ती सबै जीवनसाथीलाई छाडेर विदेशीतिर कुचो लगाइरहेका मानिस खोज्ने र तिनीहरूसँग विवाह गर्ने साधना गरिरहेका हुन्छन् ।

लिखित प्रेमपत्रको अन्तिमविन्दु थियो, ‘दुवै मिलेर जीवनलाई शान्ति दिनु, आफू मरेर पनि अरूलाई बचाउनु र आफ्नो प्रेमी बाँचेकोमा गर्व गर्नु । अहिलेको डिजिटल प्रेममा अशान्ति र आक्रोश हुन्छ, हिंसालाई प्रेरणा दिइरहेको हुन्छ । अन्त्यमा एकैक्षणको यौन तृत्पतामा गएर टुंगिन्छ । प्रेममा यौन नहुन सक्थ्यो, भए पनि त्यो अति नै पवित्र र एक अर्कालाई सदाका लागि जीवन समर्पित गर्ने कसी बन्दथ्यो । तर, आजको प्रेमले केबल यौनको माग गर्दछ । त्यो पनि हिंस्रक र असुक्षित यौन सम्बन्ध । अन्ततः त्यस्ता प्रेम कि, सम्झौतामा कि त दुश्मनीमा पुगेर टुंगिएको छ । त्यसले, आफ्नो पुस्तालाई मात्र होइन्। तिनीहरूबाट जन्मिएका पुस्तालाई समेत असर पु¥याइरहेको छ ।

प्रेममा अनुनयविनय, समीपता, समागम, मिलनविछोड सबै हुन्थ्यो । त्याग र समर्पणमा समेत प्रेमप्रेमिका राजी हुन्थे । त्यही प्रेमलाई प्रेमपत्रले अझ गाडा बनाउँथ्यो । तर, अहिलेका नयाँ पुस्ता फास्ट ट्रयाकमा प्रेम गर्न रुचाउँछन् । फेसबुकमा च्याटिङ अनि पार्कमा डेटिङ, होटलतिर इटिङ र गेस्ट हाउसतिर स्लिपिङ यति नै प्रेमको सार्थकता हो भन्ने ठान्दछन् । यसले हाम्रो संस्कृति, सभ्यता र सहिष्णुताको अन्त्य भई विकृति र असभ्यतातिर धकेल्दै विस्तारै समाजलाई विगठनतिर लगिरहेको हामी पाउँछौँ । समाजमा छरछिमेक, सामाजिक प्रतिष्ठा, इज्जत इमान, दया, माया, सरसहयोग भन्ने हराउँदै गएको छ ।

समग्रमा भन्दा विभिन्न संस्कृति, धर्म, कुल, परम्पराहरू हराउँदै मतलवी समाजको निर्माण हँदै छ । कुनै जमानामा प्रेमपत्रको खेस्रासमेत घर वा विद्यालयमा भेटियो यो सार्वजनिक विषय बन्थ्यो, स्कुलबाट रेस्टिकेटसमेत हुन सक्थ्यो । तर, आजका स्कुल कलेजहरू प्रायः खुलेआम किसिंपार्क र सेक्स अफेअर सेन्टरबन्दा पनि अभिभावक र शिक्षकहरू नयाँ जमाना भन्दै स्वीकारिरहेका छन् । अर्थात् छोरी वा छोराको यस्ता करामतलाई आँखाले देखेर मनले छोपेर बस्नु परिरहेको छ । मोबाइलमै झुन्डिरहेका युवायुवतीहरू हामी जताततै देखिरहेका छौँ । यिनीहरूमध्ये अधिकांश प्रेमका लागि वार्तालाप गरिरहेका हुन्छन् । त्यस्ता इ–वार्तालापमा न कुनै रस छ न कुनै साहित्य । ठाडा कुरा हुन्छन्, न विनम्रता न गहनता सिधै टुंगिन्छ प्रेम । अनि यौन सम्बन्ध, स्वार्थ, गालीगलौज र हिंसामा पुगेर यी प्रेमहरूको दःुखद् अन्त्य भएका छन् ।

मानवतालाई जगाइराख्न र शान्तिमा नै जीवनको आनन्द मान्न हिजोका साहित्यिक प्रेमपत्रहरू मूल्यवान् थिए । मानवजीवन र जगत्लाई सुन्दर बनाउन र शान्ति खोज्न त्यस्ता प्रेमपत्रका विषयमा युवा पुस्ताले अध्ययन गर्न जरुरी छ । यसर्थ, आफ्नो प्रेमलाई शक्तिदिन, रसमय तुल्याउन तथा समाज उपयोगी बनाई हाम्रो मानव धर्म र संस्कृतिलाई बचाइ राख्न नयाँ पुस्ताले प्रेमपत्रको परिभाषा र कलालाई फेरि पुनर्विचार पो गर्ने हो कि !

प्रतिक्रिया