छोराले बुहारी भित्र्याउन हुने तर, छोरीले ज्वाइँ भित्र्याउन नहुने ?

छोराछोरीको समान महत्वबारे मुलुकका ग्रामीण क्षेत्रमा प्रचारप्रसार जरुरी देखिन्छ । छोराले भन्दा छोरीले बढी माया गर्छन् भन्ने कुरा त आमाबाबुले महसुस गरिरहेकै छन् । तर, छोरी विवाह भएपछि अर्काको घरमा जाने भएकोले बुढेसकालमा एक्लै परिन्छ भन्ने मान्यता एकातिर छ भने अर्कातिर मरेपछि दागबत्ती दिन, काजकिरिया गर्न र हरेक वर्ष श्राद्ध गर्न छोरा नै चाहिन्छ भन्ने धार्मिक मान्यता पनि छ

०६८ सालको जनगणनाअनुसार नेपालमा पाँच वर्षमुनिका बालकको संख्या र बालिकाको संख्याको अनुपात १०४ः ९४ छ । अर्थात् ९४ जना बालिका जन्मिदा १ सय ४ जना बालक जन्मिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा एक सय बालिका जन्मिदा १ सय १० बालक जन्मिरहेका छन् । विश्व स्वाथ्य संगठनको स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणले १० वर्षअघि गरेको अध्ययनअनुसार बालिका र बालकको जन्मदर ९८ अनुपात सय थियो ।

०६८ सालको जनगणनाअनुसार भक्तपुर जिल्लामा एक वर्षमुनिका बालिकाको संख्या एक सय हुँदा बालकको संख्या १ सय २३ छ । काठमाडौं जिल्लामा बालिकाको संख्या सय हुँदा बालकको संख्या १ सय १४ छ । ललितपुरमा बालिकाको संख्या सय हुँदा बालकको संख्या १ सय १३ छ । यसैगरी, अर्घाखाँची जिल्लामा सय बालिका जन्मिदा १ सय १७ बालक जन्मिएका छन् । आर्थिक वर्ष ०७४–७५ थापाथली प्रसूतिगृहमा २० हजार ८ सय ६४ शिशु जन्मिए । जसमध्ये ५४ प्रतिशत बालक थिए । अघिल्लो वर्ष जन्मेकामध्ये ५३ प्रशित बालक थिए ।

सरसर्ती हेर्ने हो भने माथि उल्लेखित तथ्यांक निकै कहालीलाग्दो देखिन्छ । प्रकृतिले महिला र पुरुषको संख्या लगभग बराबर हुने गरी सृष्टि गर्ने मान्यता छ । अझ महिलाको संख्या केही बढी हुन्छ । नेपालमा हरेक १०-१० वर्षमा जनगणना गर्ने परम्परा सुरु भएको सय वर्ष नाघेको छ । अहिलेसम्मका सबै तथ्यांक हेर्ने हो भने पनि पुरुषको भन्दा महिलाको संख्या नै बढी देखिन्छ । पछिल्लो जनगणना ०६८ मा पनि ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरुष रहेको देखिन्छ ।

तर, जन्मदरमा भने बालिकाको तुलनामा बालकको जन्म निकै नै धेरै भएको देखियो । यदि, यो तथ्यांक सही हो भने निकट भविष्यमा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै ठूलो हुन सक्छ । महिलाको भन्दा पुरुषको जनसंख्या धेरै नै बढी हुनु भनेको अशान्तिको बाटोतिर जानु हो भन्ने कुरा विश्वका केही मुलुकमा पुष्टि भएको देखिन्छ ।

यो समस्याप्रति अहिलेदेखि नै सचेत हुनुपर्ने देखिन्छ । तर, तथ्यांकहरू कति भरपर्दा हुन् ? भन्नेतर्फ पनि त्यति नै सचेत हुनुपर्छ । उदाहरणका लागि यस वर्षको एसइई परीक्षार्थीमध्ये छात्रभन्दा छात्राको संख्या २ हजार बढी भएको तथ्यांक सार्वजनिक भएको छ । परीक्षा फाराम भरेर, फोटो टाँसेर, लिंग खुलाएरै तथ्यांक लिइने भएका कारण एसइई परीक्षाको तथ्यांकलाई सबैभन्दा भरपर्दो मान्नुपर्छ । प्रदेश–२ मा छात्राभन्दा छात्रको संख्या ४ हजार बढी रहेको र समग्र मुलुकभर छात्राको संख्या २ हजार बढी रहेको एसइई परीक्षाको तथ्यांकले देखाएको छ । जनगणना ०६८ को तथ्यांक र यो तथ्यांकमा पटक्कै मेल खाएको देखिएन ।

०६८ सालको जनगणनाअनुसार राजधानी काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालकको संख्या ५४ प्रतिशत र बालिकाको संख्या ४६ प्रतिशत रहेको भनिएको छ । त्यही सेरोफेरोको पुस्ताले अहिले एसइई परीक्षा दिइरहेका छन् । तर, एसइई परीक्षा दिने वेलामा आइपुग्दा छात्रको संख्याभन्दा छात्राको संख्या निकै बढी कसरी भयो ? यस्तो संवेदनशील तथा मुलुकलाई दीर्घकालीन असर पु¥याउने मामिलामा तथ्यांक संकलन गर्दा हचुवाको विधि प्रयोग गर्नु घातक हुनेछ । कुनै पनि देशको नीति निर्माण गर्दा तथा योजना बनाउँदा जनसंख्यालाई केन्द्रबिन्दुमा राखिन्छ । तर, जनसंख्याको तथ्यांक नै गलत आयो भने राज्यको नीति तथा राज्यका योजनाहरू असफल हुने मात्रै होइन प्रत्युत्पादक हुन सक्छन् ।

एनजिओ, आइएनजिओहरूले डलर खेतीका लागि अनुकूल हुनेगरी तथ्यांकका नाममा मिथ्यांक तयार गर्ने र त्यसैको प्रचार मिडियाले गर्ने काम त भइरहेको छैन ? भन्ने प्रश्न पनि यतिवेला निकै सान्दर्भिक छ । गर्भपतनलाई कानुनी मान्यता दिन हुन्छ कि, हुन्न ? भन्ने विषयमा ०५२ सालमा नेपाल परिवार नियोजन संघले सांसदहरूलाई बोलाएर अन्तक्र्रिया गर्दा एकथरी सांसदहरूको भनाइ थियो, ‘गर्भपतनले सामाजिक मान्यता पायो भने गर्भको पहिचान गरी छोरी रहेछ भने पतन गराउने र छोरा मात्रै जन्माउने प्रवृत्ति बढ्छ, जसका कारण महिलाको संख्या कम हुन गई समाजमा द्वन्द्व बढ्छ ।’ यतिवेला त्यही भनाइलाई पुष्टि गर्नेगरी विभिन्न एनजिओहरूले विभिन्न तथ्यांक प्रस्तुत गरिरहेका छन् । गर्भ पहिचान गरी छोरी भए पतन गराउने प्रवृति मौलाएको छैन भन्न चाँहि सकिन्न । तर, यो प्रवृत्ति कुन हदसम्म मौलाएको छ ? भन्ने प्रश्न मुख्य हो ।

गर्भमा छोरा भए जन्माउने, छोरी भए पतन गराउने समस्या जुन हदसम्म प्रचार गरिएको छ यर्थाथमा त्यस्तो छैन । गर्भको पहिचान सार्वजनिक गरे चिकित्सकलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ । मोटो रकम पाएको अवस्थामा मात्रै चिकित्सकहरूले यो कानुनी आँठो नाघ्छन् । चिकित्सकलाई मोटो रकम दिएर गर्भको पहिचान गराउन सक्ने सामथ्र्य धेरैजसो नेपालीहरूको छैन । जो सामथ्र्यवान् छन् उनीहरू अली पढेलेखेका सचेत छन् । पढलेख गरेको सचेत वर्गमा छोरा नै चाहिन्छ, छोरा नभए स्वर्ग तरिन्न भन्ने परम्परागत मान्यता छैन । एक वा दुई मात्रै छोरीमा चित्त बुझाउनेहरूको संख्या मुलुकमा उल्लेख्य देखिन्छ ।

गर्भपतनले कानुनी मान्यता पाएका कारण बालिकको जन्मदरमा कमी आयो भनेर प्रचार गर्नुभन्दा पनि छोरा र छोरीको समान महत्वबारे मुलुकका ग्रामीण क्षत्रमा प्रचारप्रसार जरुरी देखिन्छ । छोरालेभन्दा छोरीले बढी माया गर्छन् भन्ने कुरा त आम बाबुआमाले महसुस गरिरहेकै छन् । तर, छोरी विवाह भएपछि अर्काको घरमा जाने भएकोले बुढेसकालमा एक्लै परिन्छ भन्ने मान्यता एकातिर छ भने अर्कातिर मरेपछि दागबत्ती दिन, काजकिरिया गर्न र हरेक वर्ष श्राद्ध गर्न छोरा नै चाहिन्छ भन्ने धार्मिक मान्यता पनि छ । विवाह गरेर छोरी पराइ घरमा जाने सामाजिक मान्यता तथा मरेपछि छोरा मात्रै काम लाग्ने धार्मिक मान्यतामा परिवर्तन नै यो समस्या समाधानको मुख्य पाटो हो ।

तर, पछिल्ला दिनमा छोरीले दागबत्ती दिने, काजकिरिया गर्ने प्रचलन सुरु भइसकेको छ । डा. उपेन्द्र देवकोटाको काजकिरिया छोरीहरूले नै गरे । भरतमोहन अधिकारीको काजकिरिया पनि छोरीहरूले नै गरे । विशेषगरी, सहरी क्षेत्र तथा सचेत ग्रामीण बस्तीमा छोरीहरूले काजकिरिया तथा श्राद्ध गर्ने प्रचलन सुरु भइसकेको छ । छोरा नभए स्वर्ग तरिन्न भन्ने धार्मिक मान्यतामा बिस्तारै परिवर्तन हुन थालेको छ ।

यो परिवर्तनलाई अझै द्रुत गतिमा अघि बढाउनुपर्छ । यसका लागि धर्म गुरुहरूको परिचालन नै सबैभन्दा प्रभावकारी हुन्छ । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार राजा जनकको काजकिरिया छोरी सीताले नै गरेकी थिइन् । राजा द्रुपदले आफ्ना शत्रु नाश गर्ने पुत्र प्राप्तिका लागि ठूलो यज्ञ लगाए । दृष्टद्युम्न नाम गरेको पुत्र प्राप्ति भयो । यज्ञबाट पुत्री द्रौपदी पनि प्राप्त भइन् । उनले पुत्री द्रौपदीलाई ग्रहण गरेनन्, दरबारबाट निकाला गरिदिए । तर, द्रोणाचार्यले जब बाबु द्रुपदमाथि आक्रमण गर्दा पुत्र दृष्टद्युम्न टिक्न सकेनन् ।

पुत्री द्रौपदी नै आएर उनको प्राण रक्षा गरिदिइन् । छोराभन्दा छोरीको महत्व तथा सामथ्र्य बढी हुने कुरा हाम्रा धार्मिक ग्रन्थमा प्रशस्त उल्लेख छन् । यस्ता सन्देशहरू हाम्रा धर्म गुरुहरूले दिन सक्नुपर्छ । यसैगरी, छोराले विवाह गरेर बुहारी भित्र्याएजस्तै छोरीले पनि विवाह गरेर ज्वाइँ भित्र्याउन सक्ने गरी समाजिक परिवर्तन पनि जरुरी छ ।

प्रतिक्रिया