माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा मर्यादाका कुरा

एसएलसी परीक्षालाई एसइईमा रूपान्तरण गरी सकेपछि पनि पुरानै शैली र मानसिकतामा परीक्षा सञ्चालन गरिनु तथा संघको जिम्मेवारीलाई पूर्णरूपमा प्रदेशमा हस्तातरण गर्न नसकिनु विडम्बना हो

माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत्र १० गते देखि २१ गतेसम्म सञ्चालन हुन गइरहेकोमा देशभरका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमा ४ लाख ७५ हजार ३ सय परीक्षार्थी सहभागी छन् । परीक्षामा ग्रेडवृद्धितर्फ ९ हजार ५ सय १९, पुरानो ग्रेडबृद्धितर्फ ५ हजार ८ सय ८३ तथा प्राविधिकधारतर्फ ९ हजार ३ सय ४३ परीक्षार्थी सामेल छन् ।

नियमित समूहमा ४ लाख ५० हजार १ सय ८६ परीक्षार्थी सहभागी छन् । अक्षरांक मूल्यांकन पद्धतिलाई निरन्तरता दिँदै परीक्षाको नतिजा प्रकाशित गरिने यस परीक्षालाई समयानुकुल अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने दिशामा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायहरूको सहकार्य समेत अपरिहार्य छ ।

मुलुक संघीयतामा रूपान्तरण भइसकेपछि पहिलोपटक परीक्षा व्यवस्थापन, अनुगमन, सञ्चालनलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ भने राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनको जिम्मेवारीका साथ परीक्षाका यावत कार्य अघि बढ्नेछन् । विद्यमान शिक्षा ऐन तथा कानुनी व्यवस्था अनुसार एसइई परीक्षाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रदेश सरकारमा निहित रहे पनि परीक्षासम्बन्धि सम्मूर्ण जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरिएको छैन भने संघको जिम्मेवारी पनि कायमै राखिएको छ ।

एसएलसी परीक्षालाई एसइईमा रूपान्तरण गरी सकेपछि पनि पुरानै शैली र मानसिकतामा परीक्षा सञ्चालन गरिनु तथा संघको जिम्मेवारीलाई पूर्णरूपमा प्रदेशमा हस्तातरण गर्न नसकिनु विडम्बना हो भने परीक्षालाई अझै पनि अदृश्य हाउगुजीमा रूपमा राज्यले प्रस्तुत गर्न खोजेको समीक्षा शिक्षाविद् तथा सरोकारवालाहरूको छ । हुन सक्छ अर्को वर्ष केही रूपान्तरण र परिवर्तनको आभाष पाइनेछ ।

अक्षरांक मूल्यांकन पद्धती वा लेटर ग्रेडिङका आधारमा नतिजा प्रकाशित गरिने व्यवस्थाको सुरुआतसंगै मूल्यांकन पद्धतिमा विश्वका कतिपय देशमा निकै अघिदेखि प्रचलनमा आएको यस पद्धतिलाई हाम्रो परिक्षाको मूल्यांकन प्रणालीमा स्थापित गराउने सम्बन्धित निकायको सक्रियता र नीतिगत थालनीलाई निकै हदसम्म सकारात्मक सुरुआतका रूपमा विभिन्न क्षेत्रबाट लिइएको छ ।

प्राविधिक धार अन्तर्गतको परीक्षाको नतिजा भने विगतका वर्षदेखि नै अक्षरांक मूल्यांकन विधिका (लेटर ग्रेडिङ)आधारमा प्रकाशित गर्ने परिपाटी भई नै सकेको हो । यसका साथै अक्षरांक मूल्यांकन पद्धतिका आधारमा परिक्षा परिणाम प्रकाशन गर्ने पद्धतिका सकारात्मक र केही नकारात्मक पक्षका बारेमा पनि शिक्षाविद् तथा तत्सम्बन्धी क्षेत्रका क्रियाशील निकायका विचमा ताजा बहस पनि निरन्तर छ ।

विशेषतः यस पद्धतिका कमजोर पक्षका रूपमा बहसका विषयमा परीक्षामा सम्मिलित हुने कोही पनि विद्यार्थीलाई लब्धांकपत्रमा अनुत्तीर्ण उल्लेख नहुने गरी परीक्षा परिणाम प्रकाशित गरिने हुनाले पढ्ने पढाउने परिपाटीमा ह्रास आउँछ कि भन्ने औँल्याइएको छ भने अर्कोतिर उत्तीर्ण हुने सबै विद्यार्थीहरूले उच्च शिक्षामा सहज पहँुच कसरी प्राप्त गर्न सक्दछन् भन्ने कुराले बहसको थालनी पनि गरेकोछ । यस मानेमा उच्चशिक्षाको पहुँचबाट सबै विद्यार्थीलाई समावेशी गर्नुपर्ने आवश्यकता र बाध्यताका बीच सरकारले उच्चशिक्षा प्रदान गर्ने निकायको सुसञ्चालन र व्यवस्थापन गर्न सक्छ भन्ने कुरा आफैंमा अह्म सवाल छ ।

निम्न मध्यमस्तरिय तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयमा विद्यार्थीलाई पठन पाठन गराउने पद्धतीलाई स्थापित गराउन सकिएमा भोलीका दिनमा यस्ता प्राविधिक शिक्षालयबाट शिक्षा हासिल गर्ने विद्यार्थीले रोजगारीका लागि श्रमवजारमा अवसर पाउने भई निकै हदसम्म वेरोजगारी समस्या समाधान गर्ने सरकारी नीतिमा मद्दत पुग्ने देखिन्छ । साथै अन्य इच्छुक विद्यार्थीहरू जो यस किसिमका प्राविधिक धारका विषयमा अध्ययन गर्न चाहन्छन तिनीहरूको समेत अध्ययनमा पहुँच पुर्याउन सकिएको खण्डमा यस तहको परीक्षामा स्वाभाविक प्रतिस्पर्धा कायम भई गुणस्तरीता कायम हुन जाने सम्भावनाको उजागर देखिन्छ ।

वास्तविक रूपमा भन्ने हो भने एसइई परीक्षा परीक्षामा सहभागी हुने हजारौं विद्यार्थीहरूको मिहिनेतको कसी र विद्यार्थीहरूको उच्च शिक्षाको नयाँ ढोका पनि खोल्नेछ । तसर्थ परीक्षालाई विद्यालय शिक्षाको दश वर्ष अध्ययनको मुल्यांकन तथा उच्चशिक्षाको खुट्किलो तर्फको अग्रगमनका रूपमा लिन सकिन्छ । यो परीक्षा वास्तवमै हाम्रो विद्यालय शिक्षाको नितान्त नियमित तर महत्वपूर्ण परीक्षा हो । यस परीक्षाप्रति अझै चासो र उत्साह पाइन्छ ।

यो उत्साह र चासोको संस्कृति शिक्षाक्षेत्रमा केही समयसम्म रहनेछ । किनकी, यस परीक्षाले परीक्षामा सहभागी हुने विद्यार्थी, तिनका अभिभावक तथा परीक्षामा सम्मिलित गराउने विद्यालय तथा शिक्षाक्षेत्रमा सरोकार राख्ने सरकारी तथा अन्य निकायहरूको समेत उत्तिकै चासो र जिज्ञासाको विषय रही आएको छ । किनकि विद्यालय शिक्षाको १० वर्षीय अध्ययनको अन्तिम परिक्षा र तत्पश्चात्को ११÷१२ कक्षाको अध्यययनमा कुन विषय तथा धारमा अध्ययन गर्न हो विद्यार्थीले आफूलाई अब्बल विद्यार्थीका रूपमा उभ्याउनुपर्ने भएकोले यस परीक्षाको अझ महत्व र उपादेयता रहेको छ ।

परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यको विषयवस्तुका रूपमा यसको गरिमा र साखलाई कायम गर्ने दिशामा सम्बन्धित सरकारी निकाय, विद्यालय, अभिभावक तथा स्वमं परीक्षार्थीहरूको दायित्व र भूमिका रहेको छ । परीक्षा सञ्चालक निकायको नेतृत्वदायी तथा समन्वयकारी भूमिकाको जति आवश्यकता महसुस गरिएको छ, त्योभन्दा महत्वपूर्ण कुरा यस परीक्षालाई व्यवस्थित तथा उच्च मर्यादित बनाउने दिशामा सबै सरोकारवाला निकायहरूको आ–आफ्नो स्थान र क्षेत्रमा दायित्वबोध हुनु पर्दछ ।

यस मानेमा सबैभन्दा पहिलो दायित्व परीक्षामा सम्मिलित हुने परीक्षार्थी आफैंले परीक्षालाई आफ्नो १० कक्षासम्मको विद्यालय शिक्षाको मूल्यांकनको मापनका रूपमा लिई मिहेनत र परिश्रमको प्रतिफल प्राप्तितर्फको अभियानको रूपमा लिई परीक्षामा सहभागी हुनुपर्ने देखिन्छ । यसका साथै परीक्षालाई कुनै अदृश्य हाउगुजी वा कठिनतम परीक्षाको मापनका रूपमा नलिएर यस तहको शिक्षामा हासिल गरेको ज्ञानलाई परीक्षाका माध्यमबाट रूपान्तरण गर्ने अवसरका रूपमा लिन सकेको खण्डमा उच्च अंकका साथ परीक्षामा उत्तीर्ण हुन सकिन्छ नै ।

परीक्षार्थीहरूले कुनै पनि खालको डर र भयको नकारात्मक मनोविज्ञानबाट आफुलाई टाढा राखेर सकारात्मक सोचका साथ परीक्षालाई लिन सकेको खण्डमा सफलताको पाइला अवश्य पनि पाउन सकिन्छ । भोलीका दिनमा ११ कक्षाको शिक्षामा विज्ञान, व्यवस्थापन, मानविकी वा शिक्षाशास्त्र अनि प्राविधिक धारतर्फको विधामा अध्ययनलाई निरन्तरता दिने दिशामा यस एसइई परिक्षा परिणामले मार्गदर्शन गर्छ । सहभागी विद्यार्थीहरूले अझ मिहेनत र परिश्रमका साथ परीक्षामा सफलता पाउने दिशामा आफुलाई क्रियाशील बनाउनु आवश्यक छ ।

परीक्षा सञ्चालन तथा उच्चस्तरीय व्यवस्थापनका सन्दर्भमा परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको बाह्य वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने दिशामा महत्व राख्दछ । जसका लागि जिल्ला स्तरीय परीक्षा समन्वय समितिले आफ्नो नेतृत्वदायी तथा समन्वयकारी भूमिका निर्वाह गर्ने दिशामा कुनै किसिमको मुलाहिजा तथा कन्जुस्याईं गर्न हुँदैन् ।

परीक्षार्थीहरूले मनोबैज्ञानिक त्रास र भयबाट मुक्त भई निर्धक्क ढंगबाट परीक्षामा सहभागी भई परीक्षा दिने वातावरण बन्ने बनाउने सवालमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ । परीक्षाको न्यूनतम मर्यादा र आचार संहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकहरूलाई आचरणअनुसार पुरस्कार र दण्ड जरिवानाको कार्यान्वयन गरिएको खण्डमा अवश्य पनि उत्साहजनक परिणाम पाउन सकिन्छ ।

परीक्षालाई सहभागी हुने विद्यार्थीहरूले उच्च शिक्षातर्फको अग्रगमनका रूपमा लिने वातावरण सिर्जन गर्ने दिशामा सबैको चासो र सरोकार हुनुपर्दछ । साथै परीक्षालाई मर्यादित, अनुशासित तथा भयरहित बनाउने दिशामा सरोकारवाला निकायहरूले गम्भीररूपमा दायित्वबोध गरेको खण्डमा यस परीक्षाको गरिमाले थप उचाई पाउनेछ । एसइई परीक्षा सञ्चालन, व्यवस्थापन तथा सम्पन्नताका आयामले सफल रहने नै छ, जसका लागि सरोकारवाला निकायहरूले इमान्दारिताका साथ कार्यान्वयन तहमा खरोरूपमा उत्रिनुपर्दछ ।

प्रतिक्रिया