सिमेन्ट उद्योगको सडक निर्माणले दुई गाउँपालिकाको विवाद चुलियो

धादिङ जिल्लाको बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको सिमानामा पर्ने मलेखु खोला हुँदै मलेखु बजार जोड्ने निर्माणाधीन सडकमा विवाद चुलिएको छ ।
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ स्थित ताल्तीमा निर्माणको क्रममा रहेको हुआसिन सिमेन्ट नारायणी प्रालिका लागि छोटो दूरीको मोटरबाटो निर्माण गर्ने भन्दै सिमेन्ट उद्योगले बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको सिमानामा पर्ने मलेखु खोलाको बगरबाटै करिब ११ किलोमिटर मोटरबाटो सडक निर्माण गर्न थालेपछि गजुरी गाउँपालिकातर्फका खोला किनारका जग्गाधनीले विरोध जनाएका हुन् ।

यता निर्माण चरणमा रहेको हुआसिन सिमेन्ट नारायणी प्रालिकोे लागि छोटो दूरीको मोटरबाटो भन्दै खोलाखोलैवाट गरिएको सडक निर्माण प्रति गजुरी गाउँपालिकाले समेत तीव्र्र रूपमा विरोध जनाएको छ । गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले खोलाबाटै निर्माण भईरहेको उक्त सडकका कारण गजुरी गाउँपालिका क्षेत्रका ५ हजार रोपनि खेतीयोग्य जमिन खेतमा क्षति पुग्ने र ठाडो खोलाले खेतीयोग्य जमिनलगायत मानवीय बस्तीमा समेत क्षति गर्ने सम्भावना भएकाले गाउँपालिकाको आपत्ति रहेको बताइन् ।

चाइनिज सिमेन्ट कम्पनीको र विकास कार्यको विरोध नगरेको बताउँदै गाउँपालिका उपाध्यक्ष ढुंगानाले भनिन्, ‘मलेखु खोला ठाडो खोला हो, विगतमा ०४१ र ०५० सालमा उक्त खोलामा आएको बाढीले दुवै गाउँपालिका तर्फका अधिकांश धानखेत ध्वस्त पारेको थियो । आज सिमेन्ट कम्पनीका लागि बेनीघाट रोराङ गाउँपालिकाले उक्त खोला खोलैबाट बगरमा ड्याम कसेर बेनीघाट रोराङ गाउँपालिका तर्पmवाट १२ मिटर चौडाइ भएको मोटरबाटो निर्माण गरिएको छ । उक्त बगरमा ड्याममाथिबाट मोटर बाटो निर्माण गर्दा गजुरी गाउँपालिकातर्फका अधिकांश धानखेत पुनः ध्वस्त हुने भएकाले उक्त निर्माणाधीन सडकको मात्र स्थानान्तरण गर्न माग गरेका हौँ ।’

उनले भनिन्, ‘उक्त क्षेत्रमा दुवै गाउँपालिका तर्फ गरेर करिब पाँच हजार रोपनी खेत रहेको छ । निर्माणाधीन उक्त सडकले गर्दा त्यस खेतमा वर्षायाममा उर्लने बाढीले खेतीयोग्य जमिनको तहसनहस गर्ने सम्भावना रहेकाले त्यस स्थानका स्थानीयहरूले समेत अवरोध जनाएका हुन् ।’

स्थानीयहरूले उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितिसमेत गठन गरेका छन् । संघर्ष समितिले पनि आपूmहरूसँग कुनै पनि निकाले समन्वय र सहकार्यसमेत नगरी एक्कासि काम गरेकाले आपनो खेतीयोग्य जमिनको बचावट गर्नका लागि आक्रोशित हुन बाध्य हुनुपरेको बताएको छ ।

संघर्ष समितिका संयोजकसमेत रहेका स्थानीय राजन कँडेलले भने, ‘हाम्रो जीवन निर्वाह कृषि पेसा नै हो । विगतमा ०४१ र ०५० सालमा उक्त खोलामा आएको बाढीकै कारण अधिकांश खेत बगरमा परिणत भएको थियो । केही समयपश्चात् पुनः बगरलाई खेतको रूपमा परिवर्तन त गराएका छौँ । हिजो प्राकृतिक कारणले क्षति पु¥याएको उक्त खेतमा फेरि आज बेनीघाट रोराङ गाउँपालिकाले मानवीय तवरवाट उक्त खेतमा क्षति पुगोस् भन्ने ढंगले सडक निर्माण गरेकाले उक्त सडकको मात्र विरोध गरेको हौँ ।’ उनले भने ‘खोलाबाट बाटो निर्माण गरेर कुनै फाइदा छैन ।

बस्ती नै नभएको स्थानबाट पक्की मोटरबाबटो निर्माण गर्दा कुनै फाइदासमेत छैन, बेनीघाट रोराङ गाउँपालिका क्षणिक स्वार्थमा मात्र लागेको छ ।’ उनले आरोपसमेत लगाए । हाल सञ्चालनकै क्रममा रहेको उक्त उद्योगसम्म जाने मलेखु भण्डारा सडक प्रयोग गर्दा गजुरी गाउँपालिकाले निकासी कर लिने भएकाले बेनीघाट रोराङ गाउँपालिकाले स्थानीयवासी तथा छिमेकी गाउँपालिकाका पदाधिकारीसँग छलफल नै नगरी सडक निकासी करकै लाभमा आपनो क्षेत्रवाट भटाभट सडक निर्माण गरेको कँडेलले आरोप लगाए ।

कँडेलले हामीसँग चीन र भारत जोड्ने मलेखु भण्डारा सडकखण्ड नाम दिइएको १० मिटर चौडा भएको प्रयाप्त सडक रहेको बताउँदै अझै आवश्यकता पर्छ भने कति चौडा गर्नुपर्छ पर्याप्त मात्रामा सडक चौडा गरेर लैजानसमेत यस भेगका स्थानीय तयार रहेको समेत बताए ।

यता गजुरी गाउँपालिकाले पनि मलेखु खोला बगरबाट सडक निर्माण गर्नुको साटो चेपाङ मार्गलाई थप चौडा गर्नुपर्ने माग गर्दै आएको छ भने बेनीघाट रोराङ गाउँपालिकाले मलेखु खोला बगरबाटै सडकको दूरी कम पार्ने र राजमार्गतर्फ निस्कन समयको समेत बचत हुने भएकोले बगरको सडकको विकल्पै नभएको दाबी गर्दै आएको छ ।

यता, हुआसिन सिमेन्ट प्रालिले निर्माण चरणका लागि जिम्मेवारी दिएका स्थानीय समेत रहेका व्यवस्थापक तुलसी थापाले भने स्थानीय तहको पूर्व स्वीकृतिमै खोला किनारका बगर र खेर गएका व्यक्तिगत जग्गामा सडक निर्माण गरेको भन्दै खेतमा बाढी पस्न नदिने बताएका छन् । तर, कम्पनीको कुरा सोही स्थानका स्थानीयहरूले भने मान्य नहुने बताएका छन् । उनीहरूले यसअघी कम्पनीले कुनै समन्वय र सहकार्य नै नगरेको बताएका छन् । स्थानीयहरूले त कम्पनीले आफूमाथि पर्नका लागि छलफल र पूर्वस्वीकृति लिएको बहानाबाजी प्रचारबाजी गरेको भन्दै आरोपसमेत लगाएका छन् ।

यस विषयमा हामीसँग कुनै निकायले चासो नै नदिएको उल्टै सो विषयमा कुरा राख्दा सम्बोधन गर्नाका साथै बेवास्ता गरिएको स्थानीय युवा विश्वास खरेलले बताए ।

हुआसिन सिमेन्ट प्रालिले मलेखु खोलाको अस्तित्वनै मेटाएर निर्माण गरिरहेको सडकले गर्दा अब आँउदा दिनमा ठूलो धनजनको क्षति पु¥याउन सक्ने सम्भावना रहेको र यसपछि खेतमा तथा मानव बस्तीमा क्षति भएमा सोको जिम्मेवारी हुआसिन सिमेन्ट प्रालि तथा बेनीघाट रोराङ गाउँपालिकाले लिनुपर्ने स्थानीय बासिन्दाहरूको माग छ ।

स्थानीयको विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले भने, ‘हुआसिन सिमेन्ट उद्योगका लागि निर्माण गरिएको सडकले पु¥याउने सम्भावित क्षतिप्रति मात्र हाम्रो आपत्ति हो ।’ सडक निर्माण गर्दा गजुरी गाउँपालिकातर्फका अधिकांश खेतीयोग्य जमिन खोलाको कटान हुने खतरा रहेकाले हुआसिन सिमेन्ट उद्योग सञ्चालक तथा बेनीघाट रोराङ गाउँपालिका, जिल्ला समन्वय समिति, ३ नम्बर प्रदेश सरकार तथा केन्द्र सरकारले उद्योगका लागि निर्माण गरिएको सडकले पु¥याउने सम्भावित क्षतिप्रति चासो दिनुपर्ने मागसमेत गरेका छन् ।

उद्योगका लागि निर्माण गरिएको सडकले पु¥याउने सम्भावित क्षतिप्रति मात्र आपत्ति रहेको दोहो¥याउँदै गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले सिमेन्ट उद्योगको भने आफूहरूले विरोध नगरेको प्रस्ट्याए । उक्त सडक निर्माण कार्यले गजुरी गाउँपालिका तर्फका अधिकांश खेतीयोग्य जमिन कटान गर्ने भएकाले उद्योग सञ्चालकले समयमै ध्यान दिनुपर्नेसमेत अध्यक्ष बस्नेतले बताए ।

यता बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले भने गाउँपालिकाले स्थानीयको खेतियोग्य जमिनको क्षति गराउने उद्देश्यले खोला बगरबाटै सडक निर्माण नगरेको भन्दै स्थानीयकै माग अनुरूप सडक निर्माण गरेको बताए ।

गाउँपालिका अध्यक्ष डल्लाकोटिले भने, ‘बगरमा १२ मिटर चौडा सडक निर्माणले स्थानीयलाई कुनै असर गर्दैन, खोलाको पानी निर्वाध रूपमा बगिरहेको छ । उक्त सडक निर्माणपछि मलेखु ताल्ती हुँदै चितवनको भण्डारा जोड्ने सडकमा समेत चाप कम हुनेछ, जसको सम्भावित अध्ययन समेत बेनीघाट रोराङ गाउँपालिकाले गरिसकेको छ ।’

डल्लाकोटीले भने, हाल गजुरी गाउँपालिकातर्फका स्थानीयले सडक निर्माण कार्य अवरुद्ध पारेका छन् । र पछिल्लो समय सोही विषयमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग छलफलसमेत जारी रहेको छ । तर, स्थानीयको मागलाई ख्याल गरी सम्बोधनसमेत गर्ने र अहिले अवरुद्ध रहेकै स्थानवाटै बेनीघाट रोराङ गाउँपालिकाले सडक निर्माण भने गरेरै छाड्ने अध्यक्ष डल्लाकोटिको दाबी छ ।

यता गजुरी गाउँपालिकाले भने कुनै पनि हालतमा उक्त सडक निर्माण गर्नै नदिने भन्दै अडान लिएको छ । यदि सम्बन्धित निकायले समयमै ध्यान नदिए हाल बहस र छलफलमा केन्द्रित रहेको विषयले उग्ररूप लिने र उक्त कार्यबाट ठूलो क्षति आउन सक्ने सम्भावनासमेत देखिएको छ ।

बेनीघाट रोराङ गाउँपालिका स्थित ताल्तीमा निर्माण चरणमा रहेको उक्त चाइनिज कम्पनी हुआसिन सिमेन्ट प्रालिकोे ८० प्रतिशत र नेपाली उद्योगपति सुरज वैद्यको २० प्रतिशत सेयर रहेको छ । निर्माणाधीन उक्त कम्पनीले आगामीे नौ महिनाभित्रमा दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी कम्पनी निर्माण भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया