डा. बद्रीविशाल पोखरेल
हाइ काडेर जीवन गुजार्नेलाई आलोचना गर्ने प्रशस्त अवसर हुन्छ । माओले भने झैँ कतिपय अनुकूलता एकपल्ट मात्र आउँछ । प्राप्त औसर र अनुकूलताको सदुपयोग गर्न नसकेर र नजानेर कतिपय नेताहरू आफ्नौ औकात र उचाइ बिर्सन्छन् र देश र जनताले दुःख पाउँछ
नेकपाका सुदूरपश्चिमका नेता भीमबहादुर रावल आफू वादी रहेको मुद्दामा बहस पैरवी गर्न छाडेर सिके राउत पक्षमा पैरवी गरिरहेका छन् । आवश्यकताअनुसार वलिदानी भावनाका साथ निर्माण गरिएको पार्टी र सरकारका विरुद्ध रावल जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने गरी बारबार बागी विचार र कृत्य गर्न व्यग्र देखिन्छन् ।
सुदूर पश्चिममा लामो समयसम्म राजनीतिक र राजकीय एकछत्र रजगज कायम गर्ने अवसर अहिले केही कमजोर हुँदा उनी औधी रुष्ट देखिन्छन् । उनले प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमण रोक्नसमेत भरमग्दुर प्रयत्न गरेको एक साप्ताहिकमा प्रकाशित भएको थियो । उनी सरकार र राउत सहमतिका स्पष्ट रूपमा लिखत सामग्रीमा केन्द्रित नभई राउतका फेसबुक र ट्वीटरमा उल्लिखित विषय र सामग्रीमा आधारित अप्रासंगिक तथा असान्दर्भिक बहस र पैरवी गरेर जग हँसाइरहेका छन् ।
नेता रावल आफू वादी भएर सहमतिको तमसुकमा स्पष्ट उल्लिखित शब्द, वाक्य, कमा र फुलिस्टबको सही सत्य बहस नगरी राउत कित्तामा उभ्भिएर न्यायका नामका श्याल सिङ खोज्नेजस्तो नौसिङे बहस गरेर जग हँसाइरहेका छन् । यो उनको राउत पक्षीय रौद्र रूप देखेर नेकपा कार्यकर्ता नै महान् आश्चर्यमा परेका छन् । यसरी उनी अनेक कुतर्क गरेर सहमति भाँड्न गम्भीर प्रयत्नमा देखिन्छन् ।
रावलले बहसका त्रममा यो सहमति विरुद्ध आमजनतालाई उकासिरहेका थिए । यही उकासमा परेर भारतीय रअको योजनामा देश विखण्डन गर्ने सिके राउतसित राष्ट्रवादी भनाउँदो सरकारले गरेको सम्झौता खारेज गरिनुपर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज भीष्मराज सुवेदी र युवा संघका केन्द्रीय सदस्य प्रकाश रोकायाले नेपाली सन्तान नामको आयोजनामा सुदूरपश्चिमको धनगढीमा रावल प्रायोजित सडक विरोध जुलुसको आयोजना गरेको एक राष्ट्रिय पत्रिकामा प्रकाशित छ ।
रावलले राउतले सहमतिको लिखतमा बारम्बार विगतका आफ्ना विखण्डनकारी कृत्यका बारेमा परोक्ष गल्ती महसुस गरेका छन् । तर, नेकपाका कार्यकर्ताहरूलाई उकास्न रावलले राउतले कहीँ पनि गल्ती महसुस नगरेको विषयलाई ताड सरह प्रचार गरेको देखिन्छ । देश र जनताको हितमा काम गर्दा पनि केही देशी र विदेशी प्रतिक्रियावादीहरूको आँखाको तारो बनिरहेको नेकपाको यो सरकारका विरुद्ध भए नभएका र जायज नाजायज विषय र मुद्दा खोजीखोजी चिया कपमा तुफान होइन, सुनामी सिर्जना गर्न भगीरथ प्रयत्न गरिरहेको पाइन्छ । तर, अचम्म यसको अगुवाइ भने आजै र अहिल्यै मन्त्रीपद नपाउँदा चरम असन्तुष्ट बनेका स्वयं रावलजस्ता नेकपाका केही नेताहरू गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षका बीच बारबार तीव्र अविश्वास, दरार,द्वन्द्व र अन्तर विरोध सिर्जना गर्न पनि केही नेकपा नेता नै लागि परेको पनि देखिन्छ । सिके राउतसित सरकारले गरेको ११ बुँदे सम्झौता सन्दर्भमा प्रधानमन्त्री ओलीले अभिव्यक्ति गर्दा शान्ति प्रक्रियाका विषयमा प्रचण्डको साहसिक निर्णयको उच्च प्रशंसा गर्नु भयो भने सिके राउतले पनि अलिकति भए पनि यस खालको साहस गरेको प्रधानमन्त्रीका शब्दमा स्पष्टरूपमा उल्लेख गरिएको यथार्थ सत्यलाई जवर्जस्त बंग्याउँदै ओलीविरुद्ध कटु कटाक्ष सुरु गरिएको देखिन्छ ।
ओलीप्रति यस्ता कटु कटाक्ष पहिले पनि बारम्बार भएका र बीचमै तुहेका हुँदा यिनको माने महत्व नेताले भँडास ओकल्नु र पार्टीमा क्षणिक वितृष्णा जगाउनुबाहेक अरू केही नहोला । तर, जननेता मदन भण्डारीको असामयिक र दुःखद् षडयन्त्रपूर्वक हत्या गरेपछि पार्टी नीति, सिद्धान्त केन्द्रित भएर परिचालित हुँदै नभएको दृष्टान्त अहिले केही नेताहरूले वेलावेला प्रदर्शन गरिरहेका छन् ।
सहमतिको पहिलो बुँदामा नै राउतले नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो भन्ने कुरामा आफूलाई नै केन्द्र भागमा राखेर ल्याप्चे लगाएका छन् । सहमतिमा उल्लिखित कर्तव्यमा सहमत राउतले आफूले विगतमा देशको अखण्डता विरुद्धका सबै क्रियाकलापहरूलाई अकर्तव्य ठहर गरेका छन् र यसप्रति राउतले परोक्ष पछुतो गरेको देखिन्छ ।
अझ यस बुँदाबाट त राउत अरूहरू बहकिएका नेपालीहरूलाई समेत सम्झाउँदै कर्तव्य पालना गर्न आग्रह पो गरिरहेका छन् । दोस्रो बुँदामा नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जन अभिमतमा अधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको उल्लेख गरिएको देखिन्छ । जन अभिमत भनेको जनभावना, चाहना, इच्छा हुन्छ र यसलाई लोकतान्त्रिक विधिबाट समस्याको समाधान गर्ने भनिएको देखिन्छ ।
तर यस विषयलाई सफासफी स्पष्ट रूपमा सहमतिका शब्द, अक्षर र भावनालाई बिल्कुल बेवास्ता गरी राउतले कहाँ कुन सभा, फेसबुक र ट्वीटरमा के–के भनेका छन् भन्ने त्यान्द्रातुन्द्री खोजेर रावलले विषयान्तर बहस गर्न सुहाउँछ ? यस्ता विषय सन्दर्भमा मनोगत आधारमा रावललगायत नेताहरू बौलाउन मिल्छ ? सिके राउतसित सरकारले गरेको सहमतिको दूरगामी महत्व छ र यस्ता विषयलाई भड्काउन र बिथोल्न देशी र विदेशी प्रतिक्रियावादीहरू हरपल षडयन्त्ररत रहन्छन् भन्ने बुझीबुझी देशैभरी ढोल पिटाएर सहमति गरिनुपथ्र्यो भन्ने जस्ता कुरा गर्नु नासमझ हो ।
पार्टी सचिवालयमा छलफल गरेर अन्तिम रूप दिएको देखी देखी पार्टी केन्द्र र स्थायी समितिको बैठकमा पनि सविस्तार छलफल गर्नुपथ्र्यो भन्नुको कुनै तुक देखिन्न । स्थायी समिति सदस्य भए पनि आफूलाई थाहा नै नदिई समहति गरिएको भन्ने जिकिर रावलको देखियो र सुनियो । आजै पनि माननीय शेरबहादृुर तामाङ एउटा गोयबल्स शैलीको मिडियामा सहमतिका छिद्र खोज्दै थिए । हुँदाहुँदा सर्वोच्च अदालतले रिहा गर्ने समय र सहमति गर्ने संयोगमाथि भारी शंका गरिएको पाइन्छ । देश र जनताका लागि निरन्तर मन र ध्यान दिने मानिस हर्दम यस्ता संवेदनशील अनुकूल समयको खोजीमा हुन्छ ।
हाइ काडेर जीवन गुजार्नेलाई आलोचना गर्ने प्रशस्त अवसर हुन्छ । माओले भने झैँ कतिपय अनुकूलता एकपल्ट मात्र आउँछ । प्राप्त अवसर र अनुकूलताको सदुपयोग गर्न नसकेर र नजानेर कतिपय नेताहरू आफ्नौ औकात र उचाइ बिर्सन्छन् र देश र जनताले दुःख पाउँछ ।
देश र जनताको पक्षधर वकिल हो भने उसले कुतर्कको कन्दनी कसेर बहसका लागि बहस गर्दैन । र राउत पक्षका अनर्गल विषय र मुद्दा उठाएर बहस पैरवी गर्दैन ।
यो सहमतिविरुद्ध सिके राउत कदापि भाग्न सक्तैनन् र सक्नेछैनन् । फेरि यो सरकार र सत्तासित गरेको सहमति हो । बन्दुके कार्यकर्ता र संगठनलाई सहमति अनुसार सम्झाउन राउतलाई समय लाग्ला तर उनले जसरी पनि सहमति अनुसार आफ्ना कार्यकर्ताहरूलाई सम्झाउनुपर्ने हुन्छ ।
बन्दुक नियन्त्रित पार्टी नेताकै लागि सबैभन्दा खतरा हुन्छ । यसैले आजै र अहिल्यै सहमतिअनुसार काम भएन भनिहाल्न अलि नमिल्ला । तर, अन्तराष्ट्रिय स्तरमा नै यो विषय प्रशारित भएको हुँदा सहमतिलाई हुबहु पलना गर्न राउत बाध्य हुनेछन् ।
सहमतिलाई विभिन्न बहानामा पालना नगर्नु राउतकै लागि दुखान्त हुन्छ र हुनेछ । सही छाप लगाए पछि राउतलाई भाग्ने ठाउँ छैन । यसो गरे भने उनको राजनीति पनि समाप्तै हुनेछ ।
सहमतिपछि पनि सरकारलाई धोका दिनु राउतको बाँकी जीवन जेलमा नै हुने निश्चित देखिन्छ । अहिले सम्म जेलमा परेकाहरू समेतले कालकोठरी अरू भोग्नु पर्ने निश्चत छ ।
अब राउतको पार्टी र संगठन खुल्ला हुँदा सरकारलाई पनि यस बारे धेरै कुरा थाहा हुन्छ । यसरी थाहा हुनु पनि देश र जनता लागि आवश्यक पनि छ । विखण्डनकारी नामका गतिविधिमा सरिकहरू मध्ये कति सहमतिमा आउँछन् र आउँदैनन् तिनको पनि भेउ सरकारसित हुनेछ ।
माओले सयौँ फूल फुलुन् सयौँ विचार पन्पिुउन् भन्ने नारा दिँदा चीनियाँ कम्युनिस्ट पार्टीका मित्र र शत्रु स्पष्ट रूपमा देखा परे । यसले उपचार विधि र पद्धतिमा सहजता उत्पन्न हनुगयो ।
राज्य र सरकारले समय, श्रम र लगानीबाट खोजी गर्नुपर्ने सक्रियहरू अब सजिलै देखापर्ने र थाहा हुने् अवस्था सिर्जना भएको छ । अब सहमतिका तपसिलका बुँदामा रौचिरा दर्शन छाट्ने काम छैन ।
सहमतिको पहिलो बुँदा नै शीर्ष र शीर्षस्थ बुँदा हो । यसका आधारमा नै अरू सबै बाँकी बुँदाका शब्द र वाक्यको अर्थ लगाउँदा हुन्छ । बालका खाल उखेल्ने काम नगर्दा राम्रो । तर, राउतका वकिलहरू नेकपाभित्रै रहँदासम्म उनी छिटै सहमति पालना गर्न बाध्य नहुन पनि सक्छन् ।
प्रतिक्रिया