मधेसमा होलीको रंग र बदलिँदो परिवेशको अन्तरंग

होलीले आर्थिक संस्कृतिलाई निरन्तर विस्तार गर्दै आएको छ । मधेसमा जतिसुकै साधारण परिवार भए पनि होलीको दिन कम्तीमा दुई हजार रुपैयाँँ खर्च भइहाल्छ । हरेक घरमा मासु अनिवार्य पुग्छ, हरेक घरमा कम्तीमा पुरुषले अनिवार्य रूपमा नयाँ गन्जी लाएको हुन्छ, दुई-चार बट्टा रंग नकिन्ने र दुई-चार पोका अबिर नकिन्ने कुनै परिवार हुँदैन

मधेसमा सबैभन्दा लामो समयावधिसम्म मनाइने पर्वको रूपमा होलीको स्थान रहेको छ । होलीको पहिलो गीत औपचारिक रूपमा वसन्त पञ्चमीको दिन गाइन्छ । अझै पनि ग्रामीण समुदायमा वसन्त पञ्चमीको दिन दुई चारजना भेला भई होलीमा बजाइने डम्फू, झीरजस्ता बाजाहरू बजाएर होलीको सुरुआत गरिन्छ ।

होलीको समापन फागु पूर्णिमाको भोलिपल्ट गर्ने सामान्य चलन छ । पहाडमा होली फागु पूर्णिमाको दिन नै मनाइन्छ, तर मधेसमा भने फागुन पूर्णिमाको भोलिपल्ट चैत कृष्ण परेवा तिथिको दिन गरिन्छ । यस दिन आइतबार, मंगलबार र बिहीबार परेमा अझ भोलिपल्ट होली खेलेर समापन गरिन्छ । यस वर्ष बिहीबार होली परेकोले कतै सोही दिन होली खेलेर समापन गरिन्छ भने कतै शुक्रबार पनि होली खेलेर राती समापन गरिन्छ ।

मधेसमा सबैभन्दा ठूला पर्वहरू भनेकै छठ र होली हुन् । छठ बन्धनै बन्धनको र आस्थाको उत्सव हो भने होली सम्पूर्णतः निर्बन्ध उत्सव हो । यसले खानपानको उत्सवको रूपमा आफूलाई स्थापित गरिसकेको छ । यसले रङ र अबिर उडाएर समयलाई नै रंगीन बनाइसकेको छ । होलीको मुख्य दिन तिथिको दृष्टिले चैत सुरुआत हुने भएकोले चैतको सुरुआतको दिन मनाइने महान उत्सवलाई आधुनिक चलनमा बुद्धिजीवीहरूले वसन्तोत्सव पनि मान्न थालेका छन् । होलीको इतिहास र धार्मिक पक्षलाई नजर अन्दाज गर्नेहरूले वसन्तको स्वागत गर्ने महापर्वको रूपमा स्वीकार गरिन थालिएको पनि पाइन्छ ।

होलीको धार्मिक मान्यता परिवर्तन हुँदै गएको भए पनि र यसको सांस्कृतिक वर्तमान पनि परिवर्तनको संघारमा रहेको भए पनि यसले अर्थ सम्बन्धलाई भने निकै विस्तार गरेको छ । हुन त के मानिन्छ भने जुन संस्कृतिले अर्थ व्यवस्थासित सकारात्मक सम्बन्ध गाँस्न सकेको हुँदैन, त्यसको मृत्यु निश्चित हुन्छ ।

संसारमा त्यही भाषा र संस्कृति लोप भएको छ जसको आर्थिक सम्बन्ध बलियो थिएन । होलीले आर्थिक संस्कृतिलाई निरन्तर विस्तार गर्दै आएको छ । मधेसमा जतिसुकै साधारण परिवार भए पनि होलीको दिन कम्तीमा दुई हजार रुपैयाँ खर्च भइहाल्छ । हरेक घरमा मासु अनिवार्य पुग्छ, हरेक घरमा कम्तीमा पुरुषले अनिवार्य रूपमा नयाँ गन्जी लाएको हुन्छ, दुई-चार बट्टा रंग नकिन्ने र दुई-चार पोका अबिर नकिन्ने कुनै परिवार हुँदैन । सामान्य हल्का पेय पदार्थ हरेक घरको आवश्यकता हुन्छ । कम्तीमा साधारण स्वागत सामग्रीको व्यवस्था अनिवार्य हुन्छ ।

गर्नेले सीमाहीन खर्च गर्दछन् । अनेक प्रकारका मासु र माछाका साथै अत्यन्त महँगा विदेशी मदिराको खोलो बगाउँछन् । घरमै भोजको आयोजन गर्छन् । समाजमा आफ्नो धाक र रवाफ देखाउने साधन होलीलाई बनाउँछन् । घरमै एकभन्दा खसी ढालेर सकेसम्म प्रतिष्ठित र समाजमा सबैभन्दा बढी मानिस आफ्नो भएको तथा उच्च ओहोदाका मानिसमा आफ्नो पहुँच भएको देखाउने प्रयास गर्दछन् । होलीको ढोंग रचेर सर्वसाधारणलाई अप्रयक्ष रूपमा हेप्ने काम गर्दछन् अथवा फजुल खर्च गरेर अरूलाई पनि प्रोत्साहन दिन्छन् । यसले नहुने वर्गलाई विशेष मारमा पार्दछ । सम्पन्नको देखासिकी गरेर विपन्नहरू ऋण गरेर संस्कृति मान्न बाध्य छन् । यसले झन् विपन्नता बढाउन सकारात्मक भूमिका खेलेको देखिन्छ ।

होली मिलनको नवीकृत परम्पराको विकास हुन थालेको छ । हुन त होलीलाई मनको सबै कलुषतालाई हटाएर, कालो मनलाई पनि रंगीन बनाएर, दुस्मनी भए पनि हटाएर रंग–अबिर लाउने, सँगै बसेर खाने पर्वको रूपमा लिइन्छ । तर औपचारिक रूपमा हुन थालेका होली मिलन समारोहले परम्परालाई नवीकृत गर्दै सम्बन्धित क्षेत्रका मानिसलाई बोलाएर शब्दमा होलीको शुभकामना आदानप्रदान र व्यवहारमा अबिर दल्नेदेखि भोजसम्मको चलन थाल्दैछ ।

औपचारिक समारोह सहर तथा बजारसम्म सीमित छ । गाउँमा औपचारिक होली समारोह होलीकै दिन गरिन्छ वा कुनै यज्ञको समापन हुँदा होलीको गीत गाएर अबिर दलेर सबै आनन्दित हुन्छन् । सहर बजारमा पनि यस किसिमको समारोहको आयोजन मुख्यतया संस्थाहरूले गर्न थालेका छन् । संस्थागत प्रयासले गर्दा होलीको एक हप्तापहिलेदेखि नै समाजका विशिष्ट व्यक्तिहरू व्यस्त हुन थालेका हुन्छन् । औपचारिक समारोहमा सर्वसाधारणको सहभागिता न्यून हुन्छ । होलीको शुभकामना होली बितेपछि प्रायः दिइन्नँ ।

होलीको औपचारिक संस्कृति बढ्दै जाँदा यसले केही संस्कारहरूलाई पछाडि धकेलेर विकृतिलाई बढाउँदै लगेको छ । ठूलाले सानालाई निधारमा अबिर लगाएर कोसेली (सुपारी, सुकमेल, नरिवल, बदाम आदि) दिने चलन थियो । उमेर वा नातामा आफूभन्दा ठूलो भएका मानिसको खुट्टामा अलिकति अबिर चढाएर अबिर हातमा दिइन्थ्यो । बाल्टीमा रंग घोलेर गाउँ टोलका भाउजू जतिलाई खोजी खोजी रंग हाल्ने चलन सामान्य थियो ।

भाउजूहरूले पनि देवर र नन्दबाहेक अरूसित होली खेल्दैनथे । महिला वा पुरुष साथीहरूले एकापसमा अबिर र रंगले सीमा नाघ्ने गरी होली खेल्थे । जिस्क्याउँथे । एकाबिहान होलिका दहनपछि परम्परागत बाजागाजासहित होली खेलेर थाकेकाहरू भने त्यसपछि होलीको विशेष खानपानको व्यवस्थापनमा ध्यान दिन्थे । यस दिन अनेक किसिमका व्यञ्जन घरमा पाक्थे । अरूकहाँ घुमीघुमी खाना खानु र अरूलाई पनि खाना खुवाउनु सामान्य चलन थियो । कुस्मा विशेष पेय पदार्थ थियो जुन अहिले लोप हुने अवस्थामा पुगिसकेको छ । बाँसको पिचकारी बनाउने चलन थियो ।

वयस्कहरूको कण्ठबाट प्रतीकात्मक र रागात्मक होलीको जुन राग सुन्न पाइन्थ्यो, त्यो अब रहेन । होलीको धेरै कुरो हराइसक्यो र नवीनताहरू थपिँदै गए । नवीनतामा धेरै विकृतिहरू पनि छन् । विकृतिले होलीको रूपलाई विरुप बनाउने खतरा बढेको छ । अब होली मान्छेले कम र म्युजिक सिस्टमले बढी गाउन थालेको छ । होलीको गीतमा झुम्ने र रमाउनेहरूभन्दा मदिराले लट्ठ परेर विकृत मानसिकता प्रदर्शन गर्नेहरू बढ्दै छन् । मात्तिएर बाइक चलाउनेहरूले गर्दा यस दिन सडक दुर्घटना पनि बढेको देखिन्छ । जथाभावी गीत बजाउने र अश्लील नृत्य गर्नेहरूको कारणले झगडा पनि हुने गरेको छ । दलगत होलीले होलीको फराकिलो प्रचलनलाई संकीर्णतामा सीमित गर्दै लगेको छ जसले होलीको मूल मर्मलाई नै प्रहार गर्दछ ।

होलीको औपचारिक समापन गर्ने आफ्नै रीति छ मधेसमा । फागुन पूर्णिमाको दिन जुन ठाउँमा होलिका दहन गरेर होलीको धुँआ हेर्ने र आगो ताप्ने संस्कृतिको निर्वाह गरिन्छ, त्यहीँ नै होलीको औपचारिक समापन गरिन्छ, खरानी उडाएर के मान्यता छ भने होलिका दहनको खरानी उडाएपछि मकै, चना, गहुँ, केराउ आदिको ओरहा÷होरहा खान सकिन्छ ।

आजभोलिका युवाहरूमा होलीको दिनको आरम्भ र होलीको अन्त्यको विषयमा कुनै चासो हुँदैन । होलिका दहन र खरानी उडाउने संस्कृति केही ठाउँबाहेक सर्वत्र बिरानो बन्दै छ । अधिकांश ठाउँमा दुई चारजना बूढा पुरानाहरूले यसलाई निर्वाह गरिरहेका छन् । जे होस्, परम्परादेखि नै उत्साह र उमंगको पर्वको रूपमा रहेको होली परिवर्तित परिवेश झन् हुर्किंदै गइरहेको छ । यसको परम्परागत रंग फिक्का पर्दै गएको भए पनि नवीन रंगले आफ्नो अन्तरंगलाई सजाउँदै लगेको छ ।

प्रतिक्रिया