आपसी सद्भाव र रङको उत्सवको पर्व होलीमा विकृतिलाई प्रश्रय नदिऔँ

गीता अधिकारी

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा फागुन ३० गते बिहीबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याएसँगै यष वर्षको होलीको सुरुवात भएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।

भारतमा भनिने होली हाम्रो फागु पर्व हो । तराई क्षेत्रमा फगुवा । तर, अहिले सबैतिर होली नै भन्न थालिएको छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगीन कपडाहरू मिलाएर बनाएको चिर गाडेपछि होली पर्व सुरु भएको मानिन्छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा फागुन ३० गते बिहीबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएसँगै यसवर्षको होलीको सुरुवात भएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । यसरी सुरु भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्लपूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरूमा चैत ७ गते बिहीबार होली पर्व मनाइँदै छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ । रंगहरूको यो पर्वमा मात्रै रंगहरूसहित होली खेल्न पाईन्छ । होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरको रूपमा पनि लिइन्छ ।

नेपालमा होली कहिले देखि सुरु भयो भन्ने यकिन तिथिमिति नभए पनि मल्लकालदेखि सुरु भएको भन्ने गरिन्छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रूपमा लिने गरिएको छ । जो. पं. भरतमणी मरासीनीका अनुसार हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहलादलाई मार्न छोरालाई अग्निकुण्डमा हालेर आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहलादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रंग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको हो । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । मरासीनीका अनुसार यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।

असत्य माथि सत्यको विजय भएको कारण भनि मानिँदै आएको यो पर्वमा हिजो आज थुप्रै विकृति देखिएका छन । सामान्यतय रंग दलेर आपसमा खुसी मनाउने गरे ता पनि सहरी ईलाकामा बेलुनमा पनी भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिँड्ने मान्छेलाई छयाप्ने, जस्ता विकृतिले यो चाडको महत्व नै हराउने त होइन भन्ने शंका उपशंका उठेका पनि छन् । आफ्नो क्षणिक खुसीका लागि कसैको इच्छाविपरीत पानी र रंग फ्याक्नु राम्रो हो र !

के हामीले खेल्ने रंगहरू हानिरहति छन् त ? बजारमा रहेका रंगहरू रसायनयुक्त हुन्छन् । यस्ता रंगहरू शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्याहरू हुने विज्ञहरू बताउँछन् । भारतमा केही वर्ष अघि गरिएको अनुसन्धानमा होलीमा प्रयोग हुने रंगमा कपडा रंग्याउन प्रयोग हुने रसायन नै प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । नेपालमा आउने रंग पनि त्यस्तै किसिमका हुन् ।

होलीका नाममा विकृति र विसंगति भित्रिएको छ जसले यसको मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता हुन थालेको छ । होलीमा विकृती फैल्याउने, पानी छयाप्नेलगायतका कार्यहरूलाई प्रहरीले पक्राउ गर्ने सार्वजनिक मुद्दा लगाउने गर्नले पछिल्ला समयमा केही कमि भने आएको छ । काठमाडौंमा केही वर्ष अघि देखिने घरको छतबाट फोहर पानी फ्याक्ने, प्लास्टिकमा भरेर पानी फ्याक्ने जस्ता दृश्यले त्रासित बनाउँथ्यो होली सकसपूर्ण बन्थ्यो, खासगरी महिला दिदी बहिनीलाई घरबाहिर निस्कनै गाह्रो पथ्र्यो तर अहिले यस्ता दृश्यमा कमी आएको छ । ‘लोला विकृति’मा कमि देखिएको छ ।

होली मात्र होइन हाम्रा अन्य चाडपर्वहरूमा पनि पछिल्लो समयमा विकृति बढेको पाइन्छ । चाहे हाम्रा भनिएका चाडपर्वहरू हुन या भित्रिएका संस्कृतिहरू जस्तै भेलेन्टाइन्, क्रिमश आदी । सबै तिर हामीले हाम्रा सीमाहरू नाग्न थालेको । यस्ता चाडपर्वहरूमा विकृति बढ्दै गएको देखिन्छ । भरखरै मात्र हामीले शिवरात्री मनायाँै । शिवको अराधना गर्ने पर्वमा गाजा, भांग, धतुरा र मदिरा जस्ता कुराहरूले प्रश्रय पाए । पशुपतिक्षेत्रमा त गाजा भाङको राम्रो व्यापार नै थियो र युवापुस्तामा त्यसको विकृति स्पष्टरूपमा देखिन पाइन्थ्यो । त्यस्तै, महिलाहरूको चार्डको रूपमा रहेको तीज पनि एक महिना अघि देखिनै विभिन्न पार्टी प्यालेसहरूमा पुग्न थालेको छ । दसैं, तिहार लगायतका चार्ड पर्वहरूमा पनि मौलिकता भन्दा विकृतिले नै प्रश्रय पाइरहेको तपाईं हामी सबैले देखेका नै छौँ ।

धार्मिक आस्था र विश्वासमा मनाइने पर्वहरूमा समयको माग अनुसार सही रूपमा परिमार्जन हुनुपर्नेमा विकृति भित्र्याएका छौँ हामीले । वर्षौदेखि होलीमा पनि यस्तै हुँदै आएको अनुभव सबैले बटुलेकै छाँै । फलतः रंग र सद्भावको यो पर्वमा डर र त्रासका दृश्यहरू देखिने गर्छन् । वसन्त ऋतुको आगमनसँगै खुसियाली बोकेर आउने रङगहरूको पर्व होली पछिल्लो समय महिला अझ विशेषगरी युवतीका लागि त्रासको पर्वका रूपमा विकसित हुन थालेको छ । चाडपर्वको मौलिकतालाई अंगाल्नु पर्छ न कि विकृतिले प्रश्रय ।

धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरूलाई सचेत नागरिकहरूले प्रश्रय दिनुहुँदैन । हुलहुज्जत वा जर्बजस्ती गर्नु संस्कृति हुन सक्दैन । यसको आफ्नो मौलिकपनलाई जोगाई भोलीको पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी र कर्तव्य हो । हाम्रा हरेक चाड पर्वका अवसरमा यससँग सम्बन्धित गीतहरू पनि हुने गर्छन् । होलीका लागि पनि छुट्टै लय र भाकामा गीत संगीत रहेका छन् । यही मेसो पारेर कति सर्जकहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको छ स्रोता÷दर्शकमाझ । होलीका गीतले हाम्रा चलचित्रमा पनि स्थान पाइरहेका छन् ।

पछिल्लो समय कर्पोरेट र सामूहिक भन्दा पनि कमर्सियल होलीको ट्रेण्ड बढेको छ । अहिले धेरै टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाहरूले पनि आ–आफ्नै होली कार्यक्रम सञ्चालन÷आयोजना गर्ने गरेका छन् । होलीमा सडकमा हो–हल्ला गर्दै हिँड्नुभन्दा आफ्ना नातेदार, नजिकका साथीभाइ भेला भएर खानपिन गर्दै, रमाइलो गर्दै, नाचगान गर्दै, एक–अर्कालाई रंग दल्दै प्रेम र सद्भाव बाँडेर खेलौँ, मनाऔँ । विकृतिलाई प्रश्रय नदिउँ । होलीमा टाढा भएका नजिक होउन्, तर नजिक भएका नबिच्कियुन् । रमाइलो पर्वमा अरूलाई पीडा दिने काम नगरौँ ।

प्रतिक्रिया