मेयरका पनि मेयर धुलिखेलका मेयर

कृष्णहरि बास्कोटा

अरनिको राजमार्ग र बिपी राजमार्ग पर्ने धुलिखेल नगरपालिकाले आफूलाई प्रदेश नं. ३ को राजधानीको दाबेदार पनि ठानिरहेको छ । नेपाल सरकारले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन गरिदिने आशामा पनि यो पालिका बसेको छ । यसैगरी यसैपालिकाभित्र रहेको ठूली चौरमा काठमाडौंको आन्तरिक उडानको वैकल्पिक एयरपोर्टको रूपमा पूर्वाधार बन्ने कुरामा पनि धुलिखेलवासी आश्वस्त छन् ।

अशोककुमार व्याञ्जु श्रेष्ठ धुलिखेल नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ नगरपालिका महासंघको अध्यक्ष पनि हुनुहुन्छ । यसर्थ उहाँले ‘मेयरहरूको मेयर’ को उपाधि पाउनुभएको छ । ०७५ माघमा मेयरले धुलिखेल नगरपालिकामा यस पंक्तिकारलाई आमन्त्रण गरी सम्पूर्ण निर्वाचित जनप्रतिनिधि एवं कर्मचारीलाई प्रशिक्षण दिन लगाउनुभयो । सो बखत मैले जनप्रतिनिधिमा हुनुपर्ने गुणहरूको व्याख्या गरे । नगरपालिकाले सम्पादन गर्नुपर्ने कामको सूची देखाए । नेपालभरिका पालिकाहरूले गरेको असल अभ्यासको फेहरिस्त बताए । कसरी धुलिखेलले आपूmलाई सम्बृद्ध तुल्याउन सक्छ भनी विविध प्रस्ताव गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिकाले तयार गरेको मोबाइल एपको उद्घाटन गर्नुभएको थियो । सम्भवतः नेपालका सात सय ५३ ओटा पालिकामध्ये पहिलोपटक मोबाइल एप सञ्चालनमा ल्याउने श्रेय धुलिखेलले नै पाएको छ । हाल एकसय भन्दा बढी पालिकाले मोबाइल एप सञ्चालनमा ल्याएका छन् । धुलिखेलपालिकाले एकीकृत सहरी विकास योजना तयार गरेको छ । साथै, यस पालिकाले एकीकृत सम्पत्ती करलगायतका करहरू नगरवासीले ई–पेमेण्ट सिस्टमबाट तिर्न मिल्ने प्रबन्ध पनि गरेको छ । यस अतिरिक्त धुलिखेलले विभिन्न महत्वपूर्ण पर्यटकीय स्थल, मठ मन्दिरलगायतका स्थानमा फ्री वाइफाई सेवा प्रवाह गरेको छ । नेपालमा बर्षेनि करिब १० लाख पर्यटक आउने गरेका छन् । नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भएकाले ती सबै पर्यटक त्यही झर्नु स्वभाविकै हो । तथापी ६० प्रतिशत पर्यटक काठमाडौंलाई नै केन्द्र विन्दु बनाएर आउने गरेका छन् । जस्मा ठूलो संख्याका पर्यटक धुलिखेल घुम्न वा बस्न आउने गरेको तथ्याङ्कले देखाउँछ । त्यसो त धुलिखेल आन्तरिक पर्यटकको पनि प्रथम गन्तव्यस्थल सरह भएको छ ।

धुलिखेलमा काठमाडौं विश्वविद्यालय स्थापना भएको छ । यो विश्व विद्यालय स्थापना गर्न र हाल सञ्चालन गर्नमा पनि धुलिखेल पालिकाको महत्वपूर्ण योगदान रहेको छ । यो विश्व विद्यालय स्थापनामा शिक्षाविद् सुरेशराज शर्मा लगायतको योगदान भुल्न सकिँदैन । यसैगरी, धुलिखेलमा राष्ट्रियस्तरको विशाल अस्पताल रहेको छ । यो अस्पताल स्थापना र सञ्चालनमा पनि धुलिखेल नगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । एउटा बिर्सन नहुने कुरो, यो अस्पताल स्थापना गर्न हालका केयुका उपकुलपति डा. रामकण्ठ माकाजूको उल्लेख्य भूमिका रहेको छ । हाल यस पालिकाले दक्षिण कोरियाको उल्सान सहरसँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यलाई अन्तिम चरणमा पु¥याएको छ । यस पालिकाले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा पनि हस्तक्षर गरेको छ । जलवायु परिवर्तनका कारण पानीको स्रोतमा परिरहेको असरबारे अध्ययन गर्न यस पालिकाले साउथ एशिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिजसँग समझदारी गरेको । यसरी यो पालिका अन्तर्राष्ट्रियस्तरमा पनि आफूलाई चिनाउन सफल भएको पाईन्छ । धुलिखेल नगरपालिकाका यी अद्भूत कामबाट अरू पालिकाले सिक्न सक्ने देख्दछु ।

करिब ६ सय वर्षअघि भारत र चीनसंग व्यापार गर्ने नाकाको रूपमा स्थापित धुलिखेल बजार नेवारहरूको बाहुल्यता भएको सुन्दर पहाडी नगर हो । यस पालिकाको नाम नेवारीमा ‘धली ख्यः’ हो । मुलुकको राजधानी काठमाडौंबाट करिब ३० किमी पूर्वमा रहेको शीतल, शान्त, प्रदुषणरहित, हरियाली सहरको पहिचान बनाएको यस पालिका आन्तरिक र वाह्य घुमन्तेका लागि ‘पर्यटकीय हब’ का रूपमा विकासित हुँदै गएको छ । कूल १२ ओटा वडामा विभक्त यस पालिकाले आफूलाई ‘स्मार्ट पालिका’ को रूपमा चिनाउने सपना बोकेर अघि बढिरहेको छ । अरनिको राजमार्ग र बिपी राजमार्ग पर्ने धुलिखेल नगर पालिकाले आफूलाई प्रदेश नं. ३ को राजधानीको दाबेदार पनि ठानिरहेको छ । नेपाल सरकारले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन गरिदिने आशामा पनि यो पालिका बसेको छ ।

यसैगरी, यसैपालिकाभित्र रहेको ठूली चौरमा काठमाडौंको आन्तरिक उडानको वैकल्पिक एयरपोर्टको रूपमा पूर्वाधार बन्ने कुरामा पनि धुलिखेलवासी आश्वस्त छन् । यसैगरी, भक्तपुरको सूर्यविनायकदेखि धुलिखेल चौकसम्म ६ लेनको सडक बन्ने गरी नेपाल सरकार र जापान सरकारबीच सम्झौता हुने कुरामा पनि यो पालिका आश्वस्त छ । साथै पालिकाले एक अर्ब लागतमा निर्माण हुने बृहत् ढल निकास आयोजनामा पनि आफ्नो प्रयास जारी राखेको छ । यसरी हेर्दा र विश्लेषण गर्दा धुलिखेल नगरपालिका विशेष महत्वकांक्षाका साथ अघि बढेको पाइन्छ ।

धुलिखेल नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन सञ्चालनका लागि करिब दुई हजारजना क्षमताको स्तरीय सभा हल निर्माणको प्रयास गरिरहेको छ । यसबाट पनि कैयौँ विषयमा काठमाडौंको चाप कम गर्न मद्दत पुग्नेछ । यसैगरी, धुलिखेल हरियो तरकारी उत्पादनको हब पनि मानिन्छ । विशेषगरी यस क्षेत्रमा अग्र्यानिक उत्पादन हुने हुँदा तरकारी संकलन तथा बिक्री केन्द्र निर्माणमा पनि पालिका तल्लीन छ । यस पालिकाले आफ्नो भूमिमा माध्यम आकारको औद्योगिक ग्रामको आवश्यकता बोध गरेको छ । यहाँ फिल्म सिटी निर्माणको पनि प्रबल सम्भावना छ । यसलाई पुष्टी गर्न धुलिखेल नगरपालिकाले आफूलाई नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चिनाउँदै, हरियाली, वातावरणमैत्री, स्मार्ट धुलिखेल निर्माण गरी जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने दीर्घकालीन सोच लिई अघि बढिरहेको छ ।

रोजगारीको सिर्जनामा स्वरोजगार र स्वाबलम्बी नागरिक निर्माणमा धुलिखेल पालिकाले प्रयास गरिरहेको छ । यसैगरी, यो पालिका सुशासन र पारदर्शिताको सुनिश्चितता सहित आफूलाई नमूना पालिकाको रूपमा चिनाउने प्रयास गर्दैछ । यसका लागि आर्थिक अनुशासन कायम गर्ने र बेरुजूलाई शून्यमा झार्ने प्रयास पनि गरिरहेको छ । यो पालिकाले आफूलाई शिक्षाको क्षेत्रमा अग्रणी पालिकाको पहिचान बनाउने समेत लक्ष्य लिएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेको यस पालिकाले आफ्नो छुट्टै लोगो निर्माण गरेको छ । नियमित र व्यवस्थित ढंगले राजपत्र मुद्रण गरिआएको छ । आकर्षक र सूचनायुक्त ढंगले वेवसाइट सञ्चालनमा ल्याएको छ । यस पालिकाले विद्युतीय सञ्जालका माध्यम नागरिकमा पु¥याउने सेवामा सुधार गर्दै उपभोक्ताको सन्तुष्टिको खोजी गरिरहेको अनुभूति हुन्छ ।

धुलिखेल नगरपालिका काभ्रे उपत्यका एकीकृत खानेपानी परियोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्यले हिँडिरहेको छ । यो पालिका नगर स्तम्भ निर्माणको अधुरो कामलाई पुरा गर्न प्रतिबद्ध देखिन्छ । यस पालिकाले राष्ट्रिय विभूति बलभद्र कुँवरको सालिक निर्माण गर्दैछ । साथै साहित्यकार गुरूप्रसाद मैनालीको सालिकसहित पार्क निर्माणमा पनि यो पालिका जुटेको छ । आधुनिक बसपार्क निर्माण र निर्माणाधीन सपिङ्ग कम्प्लेक्सको सम्पन्नतामा पनि पालिकाका पाइलाहरू अघि बढिरहेका छन् । यस पालिकाले व्यवस्थित बस्ती विकासका लागि ल्यान्डपुलिङको काममा पनि आफूलाई सहभागी गराएको छ ।

बढ्दो सहरीकरणसँगै समस्याको रूपमा देखिएको बसपार्क सञ्चालन र ठाउँ ठाउँमा पार्किङ्ग व्यवस्थापनमा यस पालिकाले निजी क्षेत्रको सहयोग र सञ्चालनको अपेक्षा गरेको छ । घुम्ती सेवाको माध्यमद्वारा आम जनतामा सेवा पु¥याउनसमेत पालिका कटिबद्ध छ । यस अतिरिक्त बर्थिङ्ग सेन्टरमा सेफ्टी सामाग्री र नवजात शिशुका लागि न्यानो कपडा उपलब्ध गराउन धुलिखेल पालिका अग्रसर छ । साथै यस पालिकाले आम नगरका वासिन्दाको लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको छ । यो पालिका आफूलाई बालमैत्री नगरको रूपमा रूपान्तरित गर्न पनि दत्तचित्त छ । यी कुरहरू पनि मुलुकका अन्य पालिकाहरूले धुलिखेल नगरपालिकाबाट अनुशरण गर्न सक्ने अनुभूति हुन्छ ।

धुलिखेल नगरपालिकाले संजीवनी क्याम्पसका जेहेन्दार विद्यार्थीलाई केन्द्रविन्दुमा राखी छात्रवृत्तिको कार्यक्रम लागू गरेको छ । आफ्ना नगरवासीको उच्च शिक्षाका लागि काठमाडौं विश्व विद्यालयलाई सघाउनुका साथै निश्चित कोटा पनि हासिल गरेको छ । यसबाट धुलिखेलका जेहेन्दार विद्यार्थीले डाक्टर वा इन्जिनियर पढ्न कहाँ जाऊँ भनी भौँतारिनुपरेको छैन । यो पालिका बाह्रँौ शताब्दीमा निर्मित उमामहेश्वरको मूर्तिलाई पहिलाकै स्वरूपमा पुनस्थापित गर्ने पवित्र कार्यमा पनि जुटेको छ ।

विभिन्न क्षेत्रका जनतालाई सघाउन अस्ट्रेलियन र कोरियन स्वयंसेवीहरू परिचालन गर्न पनि धुलिखेल नगरपालिका सफल भएको छ । यो पालिका उपभोक्ताहित संरक्षणमा पनि जुटेको छ । उपभोक्ता संरक्षण ऐन, २०५४ बमोजिम उपभोक्ता अधिकारको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नुपर्ने कुरामा यो पालिका सजग छ । जस्को कारण पालिकाले सबै पसलमा अनिवार्यरूपमा मूल्य सूची राख्न लगाउनुका साथै नियमित रूपमा बजार अनुगमन पनि गरिआएको छ । यर्थाथमा सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले बहसमा ल्याएका उपभोक्ता अधिकारलाई हाल विश्वभरि आआप्mनो परिवेशअनुसार कानुन बनाएर लागू गरिएको छ । यसलाई मुलुकभरिका सबै पालिकाहरूले उच्च महत्व दिनु पर्छ ।

धुलिखेल नगरपालिकाले आफ्नो पालिका स्थापना दिवसको अवसरमा आफ्नो पेसा, व्यवसाय, कला, साधना, साहित्यलगायतका क्षेत्रमा योगदान गर्ने नागरिकलाई सम्मान गर्ने नीति अख्तियार गरेको छ । यस पालिकाले नगर यातायात गुरु योजना निर्माण गरेको छ । देवीटार क्षेत्रमा झरना–वाटरफल क्षेत्रको विकास गरेको छ । ठूलो वन क्षेत्रमा हाइकिंग सहित पदमार्ग पहिचान गरेको छ । यसैगरी नयाँ बस्ती, तल्लो कुत्तालको दोभान र रवी–ओपीको तल्लो क्षेत्रमा कृत्रिम तालको पूर्व संभाव्यता अध्ययनको थालनी गरेको छ ।

धुलिखेल नगरपालिकाले कैयौँ नमुना र अरूका लागि अनुशरणीय कार्य गरेको छ । तथापी नेपाली उखान अनुरूप सुनमा सुगन्ध ल्याउन यस पालिकाले सबै वडामा रहेको सडकलाई कालोपत्रे गर्नुका साथै सडकपेटी पनि निर्माण गर्न जरुरी छ । पालिकाले सुबिधा सम्पन्न वृद्धाश्रम निर्माण गर्न र बाल बगैँचा निर्माण गर्न ढिला गर्नु हुदैन । सुशासन र पारदर्शिताका लागि कम्तीमा प्रत्येक वर्ष पालिकाद्वारा सम्पादित कामको पुस्तक तयार गरी प्रत्येक घरधुरीमा वितरण गर्नु पर्छ । सबै नगरवासीको घरमा विद्युत्, टेलिफोन र पिउने पानीको सेवा पुगेको सुनिश्चित गर्नुपर्छ । यसैगरी, व्यवस्थित ल्यान्डफिल्ड साइटको व्यवस्था र प्रत्येक वडामा खुल्ला क्षेत्र सहितको पार्क बन्नुपर्छ । यसैगरी, वडागतरूपमा साइबर सेन्टर र ठाँउ ठाँउमा पिउने पानी, विश्रामस्थल र शौचालय निर्माण गर्नुपर्छ । आखिर राम्रो काम गरेका र गर्न सक्छन् भनी आशा गरेका नेतृत्वलाई नै सुझाब दिने न हो ।

धुलिखेल नगरपालिकाले निकट भविष्यमै सामुदायिक भवन निर्माण गरी आमनगरवासीलाई सामाजिक कार्यका लागि स्थान उपलब्ध गराउनुपर्छ । साथै यस पालिकाले चिडियाखाना, संग्रहालय र अतिथिगृह निर्माणको पहल गर्नुपर्छ । यस पालिकाको उत्पादन, बिक्री गर्ने कोसेली घर सञ्चालनमा ल्याउनुपर्छ । आम नागरिकको स्वास्थ्य बिमा गर्ने पहल गर्नुपर्छ । अनौपचारिक शिक्षा, महिला विकास र सहकारी एवं सामूहिक खेतीमा पालिका अघि सर्नुपर्छ । सुपथ मूल्यका सहकारी पसल खोल्ने, पुस्तकालय र वाचनालय सञ्चालन गर्ने तथा बेरोजगार युवालाई सीप र बिउपुँजी दिएर स्वरोजगार कार्यक्रममा सहभागी गराउनुपर्छ । यी सुझाबहरूको कार्यान्वयनबाट जसरी धुलिखेल नगरपालिकाका मेयर अरू मेयरका पनि मेयर बन्नुभएको छ, उसैगरी धुलिखेल नगरपालिका पनि अन्य नगरपालिकाहरूको नमुना पालिका बन्नेछ ।

प्रतिक्रिया