‘गैरकानुनी भए, डोजर लगाएर भत्काऊ’

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा हनुमानढोका क्षेत्रमा निर्माणाधिन महर्जन कम्प्लेक्स भत्काउन सांसदले नै आवाज उठाएका छन् । उनीहरूले मापदण्ड मिचेको भए डोजर लगाएर भत्काउन माग गरेका हुन् ।

मापदण्ड मिचेर निर्माण भइरहेको सो विवादित कम्प्लेक्सका विषयमा प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले कानुन मिचेर सम्पदा क्षेत्रलाई असर पार्नेगरी महर्जन कम्प्लेक्स निर्माण गरेको भए डोजर लगाएर भत्काउनुपर्ने बताए । ‘नियम कानुनभन्दा माथि कोही हुँदैनन्, सम्पदाको पुनर्निर्माण गर्दा मौलिक शैलीमा जस्ताको त्यस्तै बनाउनुपर्छ’, नेता नेपालले भने, ‘यदि, नेपालको कानुन मिचेर सम्पदा क्षेत्रलाई असर गरेको भए त्यस्ता भवनहरू डोजर लगाएर भत्काउनुपर्छ ।’

सांसदहरू सुजिता शाक्य, नारदमुनी राना, चाँदतारा कुमारी, मोहन बानियाँ, सरिता गिरी, रेनुका गुरुङ, दिव्यमणि राजभण्डारी र सरलाकुमारी यादवले पनि सम्पदालाई असर गर्नेगरी बनाइएका भवन भत्काउनुपर्नेमा जोड दिए । सम्पदालाई असर गर्नेगरी मापदण्ड मिचेर महर्जन कम्प्लेक्स निर्माण गरेको भए तुरुन्त भत्काउनुपर्नेमा उनीहरू सबैको जोड थियो । सांसदले धार्मिक सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि वैदेशिक सहयोग लिँदा सोच्नुपर्ने बताउँदै सम्बन्धित सम्पदाका गुठीको सम्पत्ति परिचालन गर्नुपर्नेमा जोड दिए । बैठकमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा वरिपरि क्षेत्रमा अग्ला भवन निर्माण गर्न नहुने, कानुनी मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्ने र सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा गरी संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो ।

काठमाडौंको न्युरोडमा रहेको महर्जन बिजनेस एसोसियट्स प्रालिले निर्माण गरिरहेको ‘महर्जन कम्प्लेक्स’ को निर्माण विवादमा रहेको छ । निर्माण सम्पन्न गरी वैशाखबाट सञ्चालनमा आउन लागे पनि विवाद भने समाधान भएको छैन । कम्प्लेक्स ३५ फिटभन्दा माथि लैजान नपाउने भए पनि सोभन्दा बढी बनाएको र भूमिगतरूपमा समेत निर्माण भएको सम्पदाप्रेमीको आरोप रहेको छ । विश्वसम्पदा संरक्षित क्षेत्रमा बन्ने घरको उचाइ ३५ फिटभन्दा कम हुनुपर्ने, भूमिगत तह खन्न नपाइने, ३ दशमलव ५ फिटभन्दा ठूला झ्याल राख्न नपाइने, घरको गारोमा इँटा देखिनुपर्नेलगायत मापदण्ड पुरातत्व विभागको भए पनि पुराना संरचना निर्माणको हकमा विभागको स्वीकृतिअनुसार साबिककै उचाइ कायम गर्न सकिने विभागको नियम छ ।

बैठकमा सम्पदाप्रेमीहरूले सहरी क्षेत्रका सम्पदा क्षेत्र अतिक्रमण गरेर निजी घर निर्माण तीव्ररूपमा भइरहेको सम्बन्धमा समितिको ध्यानाकर्षण गराएका थिए । उनीहरूले सम्पदाको पुनर्निर्माण गर्दा व्यापारिक प्रयोजनका लागि नभई जस्ताको त्यस्तै मौलिक ढाँचामा बनाउनुपर्ने सुझाव दिए । हनुमानढोका क्षेत्रको पूर्वतर्फ निर्माणाधिन महर्जन कम्प्लेक्सले सम्पदा क्षेत्रलाई असर गर्नेगरी मापदण्ड मिचेर जमिनमुनि पार्किङ र बेसमेन्ट बनाएको तथा संरक्षित क्षेत्रको नियमविपरीत ३५ फिटभन्दा बढी अग्लो बनाउन लागेको तथ्य पेस बैठकमा गरेका थिए । महर्जन कम्प्लेक्सले सम्बन्धित सरकारी निर्देशनको समेत पटक–पटक अटेर गर्दै आएको सम्बन्धित सरकारी निकायको आरोप छ ।

कम्प्लेक्स निर्माणका क्रममा डोजर प्रयोग गर्दा सम्पदा क्षेत्रका पोखरीको पानी सुकेको र कम्प्लेक्सको बेसमेन्टदेखि हनुमानढोका दरबार क्षेत्रको राष्ट्रिय ढुकुटीसम्मको दूरी नौ मिटरको मात्र रहेकोले पनि सुरक्षामा समेत खतरा रहेको दरबार हेरचाह अड्डाको भनाइ छ । कम्प्लेक्सका विरुद्धमा सांसदले नै चर्को आवाज उठाएपछि संसदीय समितिले पुरातात्विक सम्पदामा देखिएका समस्या अध्ययन गर्न ‘विश्वसम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा सांसदहरू नारदमुनी राना, बोधमायाकुमारी यादव र सुदन किराँती राई रहेका छन् । एकजना भने चयन गर्न बाँकी रहेको समिति सभापति पवित्रा निरौला (खरेल) ले बताइन् । उपसमितिलाई काठमाडौं उपत्यकाका सबै सम्पदा क्षेत्रमा देखिएका समस्याका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न तीन महिनाको अवधि निर्धारण गरिएको छ ।

बैठकमा सभापति खरेलले पुरातात्विक सम्पदा क्षेत्रको पुनर्निर्माणका क्रममा देखिएका समस्याका बारेमा उठेका विषयवस्तु गम्भीर भएकाले थप अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी दिइन् । संस्कृति नै हाम्रो सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै समितिले पुर्खाले निर्माण गरेका सम्पदालाई जस्ताको त्यस्तै पुस्ता हस्तान्तरण गर्नुपर्ने ठहरसमेत गरेको छ । यता, महर्जन कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जनले भने कानुनको परिधिभित्रै रहेर कम्प्लेक्सको भवन निर्माण गरेको दाबी गरेका छन् । कम्प्लेक्सको नक्सा हाल चार तलाको मात्र पास भएको र सोहीअनुसार निर्माण गर्दा ३१ फिटसम्म मात्र उचाइ रहेको अध्यक्ष महर्जनको दाबी छ ।

प्रतिक्रिया