विप्लव समूहमाथि प्रतिबन्ध

काठमाडौं । आतंकवादी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)माथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारले निरन्तर वार्तामा आउन र आतंक फैलाउने गतिविधि नगर्न आग्रह गरे पनि नमानेपछि सरकारले त्यसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समुहका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको छ । लगानी सम्मेलन नजिकिदै गरिरहेका बेला विभिन्न कम्पनीमा बम पड्काउने, जनजिवन आंतकित गर्ने खालका क्रियाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको छ ।

सरकारले सो समुह राजनीतिक नभई अपराधिक संगठन भएको पनि ठहर गरेको छ । सरकारले यसअघि गठन गरेको राजनीतिक वार्ता समितिले बोलाउदा पनि विप्लव समुह वार्ताका लागि आएको थिएन ।

वार्ताका लागि पटक–पटक बोलाउँदा पनि नआएको तथा बम विस्फोट गराउने जस्ता क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारद्वारा प्रतिबन्ध लगाउने निर्णय, आपराधिक संगठन भएको पनि ठहर

सो समुहले राजधानीकै नख्खुमा बम विस्फोट गराउदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै, म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गको घरमा समेत बम विस्फोट गराएको थियो । मन्त्रीपरिषद्मा गृहमन्त्री रामबहादुर थापाले नै विप्लवका गतिविधि निष्तेज बनाउने गरी कार्ययोजना लगेका थिए । तर, प्रधानमन्त्रीले गतिविधि मात्र नभई पुरा संगठनमाथी नै प्रतिवन्ध लगाउनु पर्ने भनेपछि सो निर्णय भएको हो । ‘चन्दा मागेर, मान्छे मारेर पनि राजनीति हुन्छ ? त्यो विप्लव समूहलाई बन्देज लगाउने निर्णय गरौं’, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीको भनाइ उदृत गर्दै अर्का एक मन्त्रीले भने, ‘यसरी हुँदैन । हामीले आवश्यक कारबाही गर्नुपर्छ । त्यो त अपराधी समूह हो ।’

प्रधानमन्त्रीको प्रस्तावपछि बैठकले विप्लव माओवादीलाई कडाइ गर्ने र प्रशासनिक रूपमा कारबाही अगाडि बढाउने निर्णय गरेको छ । यतिसम्म कि प्रधानमन्त्री ओलीले विप्लव समूह आपराधिक समूह भएकाले उसलाई राजनीतिक रूपमा नलिन मन्त्रिहरुलाई निर्देशन समेत दिएका छन् । ‘बैठकले विप्लव नेतृत्वको नेकपाका क्रियाकलाप नियन्त्रण गर्ने प्रकारको निर्णय पनि गरेको छ,’ ती मन्त्रीले भने, ‘तर बैठकको माइन्यूट लेखिँदा कसरी र कुन शैलीमा लेखिन्छ, अहिले केही भन्न सकिन्न ।’ पटकपटक वार्ताका लागि पहल हुँदा पनि सकारात्मक नभएपछि विप्लव समूहप्रति सरकार कठोर भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने स्पष्ट पारेका थिए । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग मंगलबार भएकोको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे ।

‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन’, प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रतिक्रिया