लक्ष्मी बैंकले बोनस सेयर दिने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चुक्ता पुँजीको ८ दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड पुगेको छ । बैंकको १८औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ०७४÷७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न सेयर तथा डिबेन्चर अन्डरराइट गर्नेलगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । आव ०७४÷७५ मा ६५ दशमलव ५६ अर्ब निक्षेप र ६२ दशमलव ६५ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ८१ अरब रहेको छ । सोही आवमा बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरू नियामक व्यवस्था अनुरूप नै राम्रो अवस्थामा रहेका छन् ।

उच्चस्तरीय संस्थागत सुशासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थापन भएको बैंकको रूपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोबाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोगमार्फत हरियाली मैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ । लक्ष्मी बैंकको इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट सन् २००९ देखि सञ्चालनमा रहेको छ । यसैगरी, दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सन् २०१२ बाट कारोबार सुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फन्ड १ र लक्ष्मी इक्विटी फन्ड नामक दुई म्युचुअल फन्डसमेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रतिक्रिया