चेल्सीको लज्जास्पद हार

एजेन्सी, लन्डन । चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीसँग ६–० को लज्जास्पद नतिजा सुम्पिएको छ । स्ट्राइकर सर्जियो अग्विरोको ह्याट्रिकप्रेरित सिटी यस जितपछि २४ घण्टा नबित्दै लिभरपुललाई पछि पार्दै पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको हो ।

यस नतिजापछि सिटी २७ खेलमा ६५ अंकका साथ शीर्ष स्थानमा फर्किंदा समान खेल खेलेको लिभरपुल समान अंक भए पनि गोलअन्तरमा पछि परेको हो । ६० अंकका साथ टोटेनह्याम तेस्रो, ५१ अंकका साथ म्यानचेस्टर युनाइटेड चौथो तथा आर्सनल र चेल्सी समान ५० अंकका साथ क्रमश पाँचांै र छैटौं स्थानमा छन् । टोली छैटांै स्थानमा झरेसँगै सारीको पद दुबिधामा परेको हो ।

यसअघि पछिल्लो अवे खेलमा बर्नमाउथलाई ४–० को नतिजा सुम्पिनु चेल्सीको १९९६ पछिकै सबैभन्दा खराब हार थियो । यो चेल्सीले १९९१ पछि कुनै पनि प्रतियोगितामा बेहोरेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद हार हो । घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलको चौथो मिनेटमा रहिम स्टर्लिङले सिटीको गोल खाता खोलेका थिए ।

त्यसको २१ मिनेटमा थप ३ गोल गर्दै सिटीले सुखद नतिजा ल्याउने संकेत गरेको थियो । १३औं मिनेटमा अग्विरोले सिटीको अग्रता बढाएका थिए । त्यसको ६ मिनेटपछि अग्विरोको व्यक्तिगत दोस्रो गोलमा अग्रता बढाएको सिटीलाई २५औं मिनेटमा एल्के गुडोगानले ४–० मा पु¥याएका थिए ।

५६औं मिनेटमा अग्विरोले पेनाल्टीको सदुपयोगमा ह्याट्रिक पूरा गर्दै सिटीलाई फराकिलो जिततर्फ अघि बढाएका थिए । खेल सकिन १० मिनेट बाँकी हुँदा रहिम स्टर्लिङले बललाई जाली चुमाएसँगै सिटीले रबाफिलो जित पक्का गरेको थियो ।
प्रिमियर लिगअन्तर्गत आइतबार चाँडो गरी भएको अर्को खेलमा टोटेनह्यामले लेस्टर सिटीलाई ३–१ ले पराजित ग¥यो ।

प्रतिक्रिया