दिदीको घोषणाप्रति राजाको असन्तुष्टि

बैंकक । थाइल्यान्डका राजा माहा बाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएकी छन् । ‘थाई रक्षा चार्ट पार्टी’ का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन् ।

राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलीय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइ छ । तत्कालीन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो ।

उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । तर, जेन्सेनसँग उनको सम्बन्धविच्छेद भएपछि थाइल्यान्ड फर्केकी थिइन् । त्यसपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ ।

फेरि पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलीय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले शुक्रबार बेलुका बताए । शाही दरबारद्वारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरू राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरीत हुने उल्लेख गरिएको छ ।

आउँदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्वीकार गरेका थिए । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रूपमा कुनै पनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।

थाई राजतन्त्रलाई परम्परागत रूपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रूपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक संकट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।

पूर्व–प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ । थाइल्यान्डमा थाक्सिन समर्थक ‘राता’ टिसर्टधारी र राजावादी ‘पहेँला’ टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुवैलाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।

यो पार्टी अर्बपति थाई नेता थाक्सिन सिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुन् । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्युत गरिएको थियो ।तर, सन् २०१४ मा उनकी बहिनी यिंलकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो ।

राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उनी आफूलाई यस पटकको चुनावमार्फत नागरिक नेताका रूपमा स्थापित गर्न इच्छुक हुन् । उनी विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा छन् ।

आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने राजकुमारीको घोषणासँगै प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गरे । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार थिए ।

आगामी निर्वाचनमा मुख्यगरी उनीहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने राजकुमारीको घोषणासँगै विश्वको ध्यान एकपटक फेरि थाइल्यान्डतर्फ तानिएको छ ।

प्रतिक्रिया