नेपाली महिला फुटबलको लज्जापूर्ण हार

काठमाडौं । साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले भारतमा जारी हिरो गोल्डकप हारबाट सुरुआत गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा शनिबार नेपालले म्यानमारसँग ३–० को नतिजा सुम्पिँदै हारबाट प्रतियोगिताको सुरुआत गरेको हो । म्यानमारले खेलको सुरुआतदेखि नै दबाब बनाए पनि गोलकिपर एन्जिला तुम्बाम्पोले केही उत्कृष्ट प्रहार जोगाएपछि नेपाल लज्जापूर्ण हारबाट जोगियो ।

म्यानमारकी किन मो वाइले २ र विन थिङ्गी टुनले १ गोल गरेपछि नेपालको ३–० को हार भने टर्न सकेन । त्यो पराजयसँगै नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीलाई ठूलो झड्का लागेको छ । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल बेहोरेपछि भारतमा खराब सुरुआत ग¥यो ।
४४औं मिनेटमा म्यानमारकी किनले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाइन् । त्यसपछि दबाबमा परेको नेपालले खेलमा फर्किन संघर्ष गरे पनि पहिलो हाफमा १–० ले नै पछि प¥यो । दोस्रो हाफमा खेल फर्किने लक्ष्य बनाएको नेपालले उल्टै दुई गोल खाएपछि म्यानमारलाई खेल सुम्पियो ।

५२औं मिनेटमा विन थिङ्गी गोल गरेपछि म्यानमारले २–० को अग्रता बनायो । ७७औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानमारले अग्रता तेब्बर बनायो । थप दबाबमा परेको नेपालले त्यसपछिको बाँकी समयमा गोल फर्काउन नसकेपछि ३–० ले स्तब्ध भयो ।

त्यससँगै फिफा वरीयतामा आफूभन्दा ६४औं स्थान माथि रहेको म्यानमारसँग नेपालले महत्वपूर्ण ३ अंक गुमायो । राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ ।

प्रतिक्रिया