नन्दनपुरमा वृद्धवृद्धा स्याहार आश्रम

बुटवल । छोराछोरी नभएकै कारण वृद्ध अवस्थामा स्याहार नपाउने आमा बुबाहरूका लागि कपिलवस्तुको नन्दनपुरमा स्याहार केन्द्र निर्माण भएको छ । बुद्ध वृद्धा आश्रम नाम दिएको आश्रम अहिले निर्माणाधीन अवस्थामा छ । डेढ बिघा क्षेत्रफलमा फैलिएको वृद्धा स्याहार केन्द्रको अहिले ५० प्रतिशत काम भइसकेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ नन्दनपुरमा निर्माण भइरहेको बुद्ध बृद्धि आश्रम १८ कोठाको छ । अत्याधुनिक सुविधा सम्पन्न हुने आश्रममा महिला र पुरुष गरी ३० जना राख्न सकिनेछ । बृद्ध फाउण्डेसन यू.के को संयोजन तथा एनआरएन यु.के र कपिलबस्तु सेवा समाज यु.के को संयुक्त सहयोगमा १ करोड २५ लाखको लागतमा वृद्धा आश्रम बन्न लागेको छ ।

फाउण्डेसनले विभिन्न च्यारेटी सो गरेर पठाएको रकमले यो आश्रम बन्न लागेको बृद्ध फाउण्डेसन यु.के का अध्यक्ष दीपक श्रेष्ठले बताए । ‘हामीले वृद्धाहरूलाई स्याहार गर्नकै लागि आश्रममा निर्माणमा लागेका होइनौँ’ उनले भने, ‘हामीले समाजमा देखेका भोगेका आधारमा बृद्ध अवस्थामा आमा बुवाहरूलाई स्याहार गर्ने उद्देश्यले निर्माण गरेका हाैँ ।’

कैलाश आश्रम धार्मिक वन क्षेत्रमा रहेको निर्माणाधीन आश्रममा अहिलेसम्म ५३ लाख रूपैया खर्च भइसकेको छ । स्वास्थ्य उपचार, नर्सिङ, मनोरञ्जन सहितको सुविधा सम्पन्न बृद्धा आश्रम चालु आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको छ । छोरा छोरी नभएर वृद्ध भएका आमा बुवालाई आश्रममा प्राथमिकता दिएर राखिने फाउण्डेसनका नेपाल अध्यक्ष रविराज ज्ञवालीले जानकारी दिए ।

रोजिरोटीका लागि विदेश गएका युवाहरूले रकम जम्मा गरेर स्याहार केन्द्रको निर्माण सुरु गरे पनि स्थानिय र प्रदेश सरकारले स्याहार केन्द्रको निर्माणमा चासो नदिएको गुनासो फाउण्डेसनको छ । फाउण्डेसनले शनिबार एक कार्यक्रमको आयोजना समेत गरी हाल सम्मको आयव्यय समेत सार्वजनिक गरेको छ । फाउण्डेसन नेपालका कोषाध्यक्ष दिनेश श्रेष्ठले अहिले सम्म ५३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेल, कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएतले बोलेका थिए ।

प्रतिक्रिया