संसदीय सुनुवाइ समितिलाई असहमतिपत्र

काठमाडौँ । संवैधानिक परिषद्को सिफारिस गैरकानूनी भएको ठहर गर्दै संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापतिलाई असहमतिपत्र हस्तान्तरण गरिएको छ ।

सिँहदरबारमा आइतबार बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रतिपक्ष दलका सांसदले उक्त असहमतिपत्र हस्तान्तरण गरेका हुन् । पत्रमा संविधानको धारा २८४(४) र २९२ (१) को बर्खिलाप हुने गरी संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस भएको उल्लेख छ ।

सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसाल गौतमद्वारा हस्ताक्षर गरिएको असहमतिपत्र बुझ्दै समितिका सभापति कर्णले संवैधानिक परिषद्को निर्णय बदर गर्ने अधिकार समितिमा नभएको जानकारी दिए । उनले संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध १० दिनसम्ममा उजुरी दर्ता गरिसक्न आह्वान गरेका छन । समितिका सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले परिषद्ले संवैधानिक र कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी सिफारिस गरिएको बताए ।

सांसद भुसालले संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलका नेतालाई उपहास गरी अध्यक्षको नाम सिफारिस भएको जानकारी दिइन् । सांसद भीमसेनदास प्रधानले परिषद्ले एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र र पद्धतिको ठाडै उल्लङ्घन गरेको उल्लेख गरे । सांसद जीतेन्द्रनारायण देवले संवैधानिक, राजनीतिक र नैतिक मूल्य मान्यता विपरित परिषद्ले आयोगका अध्यक्षको सिफारिस गरेको आरोप लगाए ।

बैठकमा सांसद पार्वत गुरुङ, सुमनराज प्याकुरेल, पूर्णकुमारी सुवेदीलगायतले सहमति र एकताका आधारमा गतिरोधको अन्त्य गर्नुपर्ने बताएका थिए । यही माघ ७ गते बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी, मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया