आर्मीको मिश्रित नतिजा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत शुक्रबार मिश्रित नतिजा निकालेको छ । नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शुक्रबारको दुई खेलमा मिश्रित नतिजा प्राप्त गरेपछि उपाधि जित्ने आर्मीको लक्ष्य पूरा हुन सकेन । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसविरुद्धको खेल ३–२ ले गुमाएपछि आर्मी उपाधि यात्राबाट बाहिरिएको हो । लिगमा दुई खेल मात्र बाँकी छँदा आर्मीले २९ अंक जोडेको छ । आर्मीसँग समान १२ खेलबाट एपिएफ ३६ अंकसहित शीर्षमा र पुलिस ३१ अंकका साथ दोस्रो स्थानमा छ ।

उपाधिका लागि महत्वपूर्ण रहेको खेलमा पुलिसले आर्मीको चुनौती २५–२२, २१–२५, २५–१८, १५–२५ र १५–१२ ले समाप्त पारेको हो । आर्मीले दाङको श्रीगाउँविरुद्धको दिनको दोस्रो खेल भने २५–१२, २५–१९ र २५–११ ले सहजै आफ्नो बनायो । त्यो जितसँगै आर्मीले तेस्रो स्थान भने पक्का ग¥यो ।

शीर्ष स्थानको एपिएफले पश्चिमाञ्चलविरुद्धको खेल २५–१५, २५–१८ र २५–११ ले जित्दै दोस्रो स्थानको पुलिससँगको दूरी ५ अंकले बढायो । सामाखुसी इङ्लिस बोर्डिङ(सेब)ले श्रीगाउँमाथि २५–१८, २५–१५ र २५–११ को जित निकाल्दै पाँचौं स्थानका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । अन्तिम खेल बाँकी छँदा सेबले १४ अंक र श्रीगाउँले ११ अंक बटुलेका छन् ।

१४ खेल नै खेलिसकेको चितवन टाइग्रेसले १३ अंक बटुल्दै प्रतियोगिता सकाएको छ । शनिबार अन्तिम खेल सेबले पश्चिमाञ्चविरुद्ध र श्रीगाउँले पुलिससँग खेल्दै प्रतियोगिता टुंगाउनेछ । अर्को महत्वपूर्ण खेलमा आर्मीले एपिएफको सामना गर्नेछ ।

प्रतिक्रिया