प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक सुरु गर्ने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।

सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पुर्याएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गरे ।

“डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको सुरु भयो, संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो, ”सांसद रिजालले भने ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले सुरुमा कांग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

सांसद रिजालले बोलिसकेपछि कांगर्ेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख महराले चिकित्सा शिक्षा विधेयक विधिअनुसार नै पारित गरिएको उल्लेख गर्दै बस्न कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।

सभामुख महराले पटकपटक कांग्रेस सांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरे ।

प्रतिक्रिया