विरोधका बीच सहिदपार्कको शिलान्यास

वीरगञ्ज । वीरगञ्जमा प्रदेश सरकारबाट गर्न लागिएको सहिदपार्क शिलान्यासको विरोध भए पनि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश–२ सरकारबाट वीरगञ्जको घण्टाघरस्थित रहेको १० बिघा जग्गामा सहिद पार्कको शिलान्यास भएको हो । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रूपमा पार्कको बुधबार शिलान्यास गरेका छन् । पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले सहिदहरूको सपना सकार गर्न पार्कको निर्माण गर्न लागिएको बताए ।

सहिदको कुनै जात, धर्म, समुदाय नभएकोले सबैलाई पार्क निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘सहिदको सम्मानका लागि पार्क निर्माण गर्न लागिएको छ, सहिदको कुनै जात, धर्म हुँदैन त्यही भएर सबैले सहयोग गरिदिनुस्’, उनले थपे, ‘मधेस आन्दोलनकै उपलब्धी संघियता, समावेशिता आएकाले मधेस आन्दोलनको केन्द्र भएको ठाउँमा प्रदेश सरकारले पार्क निर्माण गर्न लागरहेको छ ।’ प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जमा मात्र राजा, रजौटाहरूको सालिक रहेकोले सहिद पार्क निर्माण गर्न लागिएको बताए ।

पार्क शिलान्यासको विरोध गरेको नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले ‘हात्ती चले बजार कुकुर भुके हजार’ भन्दै प्रदेश सरकारलाई काम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘आफूहरू आन्दोलन गर्नका लागि नै जन्मेको र लास भएर गुज्रेका छौँ आउनुहोस् पूर्ण तयारीका साथ आउनुहोस् हामी तयार छौँ ।’ भौतिक पूर्वधार विकास मन्त्री प्रदेश–२ अन्तर्गत रहेका सहरी विकास तथा भवन कार्यालय, वीरगञ्ज पर्साले शिलान्यास कार्यक्रमको आयोजना गरेको थियो ।

बिपी उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले सहिद पार्क निर्माणको लागि ७५ लाख रकम छुट्याएको छ भने पहिलो चरणमा पार्कको बाउन्डरी वाल निर्माण गरिने सहरी विकास तथा भवन कार्यालय, पर्साका प्रमुख सरोज गोइतले बताए । शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी सहभागी थिएन ।

उनी निकट एक व्यक्तिका अनुसार प्रदेश सरकारले स्थानीय सरकारलाई बाइपास गर्दै मनपरी गरेका कारण कार्यक्रममा मेयर सरावगी सहभागी भएका थिएनन् । महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारले पार्कको शिलान्यास गर्नु र सो कार्यक्रममा नगरप्रमुख सहभागी नहुनु राम्रो नभएको कार्यक्रम स्थलमै चर्चा चलेको थियो ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख सरावगीसहित, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत विभिन्न कार्यालयका प्रमुख र सुरक्षा प्रमुखहरूको पनि सहभागिता थिएन भने उपस्थिति पनि न्यून थियो । यता मंगलबार नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी पार्कको शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेको थियो । बिपी उद्यानको नाममा रहेको जग्गामा बिपीको नाम मिटाउनु नहुने र मिटाउन प्रयास गरियो भने कानुनी तथा राजनीतिक लडाइँ लडने कांग्रेसको चेतावनी छ ।

प्रतिक्रिया