मोहियानी दाबी गर्ने घटे

ताप्लेजुङ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङले खुलाएको मोहियानी जग्गा हकदाबीमा न्यून संख्याको मात्र निवेदन परेको छ । गत १६ पुसदेखि १५ माघसम्मको निर्धारित समयमा नौ जनाले मात्र निवेदन दिएको कार्यालयले जानकारी दिएको छ ।

मालपोतको स्रेस्तामा १ सय ५२ मोहियानी देखिएका छन् । पर्याप्त सूचना गर्दागर्दै पनि कम निवेदन आएको मालपोत अधिकृत भगिमान मादेनले बताए । भूमिसुधार मन्त्रालयले पटकपटक गरी ०७४ साल यता तीनपटक मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा साहु दुवैले निवेदन दिनेगरी सूचना प्रकाशित गरेको थियो । ०७५ साल १६ पुसदेखि १५ माघसम्म मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा साहु दुवैले निवेदन दिनेगरी सूचना प्रकाशित गरेको थियो ।

केन्द्रबाट पत्राचार भएपछि एफएम रेडियोबाट सूचना प्रसारण गरेको मादेनले बताए । कार्यालयले पहिला साविकका गाविस, नगरपालिकामा सूचना टाँसेर र सचिवलाई जानकारी गराएर निवेदन आह्वान गरे पनि त्यसरी गरिएको सूचना कसैले पनि पत्तो नपाएको बताइएको छ । रेडियोबाट प्रसारित भएपछि बल्ल बुझ्नेहरू आएको नायव सुब्बा युवराज पौडेल बताउँछन् ।

पौडेलका अनुसार अहिलेसम्म तिनपटक सूचना प्रशारण गर्दा ४४ जनाले निवेदन दिएका छन् । यसअघि निवेदन परेको हकमा भने फस्र्योट हुने चरणमा रहेको बताइएको छ । अहिलेसम्म १२ ओटाको भने फस्र्योट भइसकेको छ । अन्यको प्रक्रियामा रहेको नासु पौडेलले जानकारी दिए । ‘मंगलबारसम्म निवेदन दिने म्याद थियो । यस अवधिमा नौ जनाको निवेदन परेको छ,’ गौतमले भने, ‘आवश्यक कागजात र प्रमाणको अध्ययन गरिरहेका छौं, अब तुरुन्तै प्रक्रिया अघि बढाउँछौं ।’

ऐनमा व्यवस्था भएअनुसार मालपोतले १५ दिनभित्रमा जग्गाधनीलाई कार्यालयमा उपस्थित गराउनुपर्छ र मोहियानी हो या होइन यकिन गर्नुपर्छ । ऐनअनुसार नै गर्ने तर भौगोलिक विकटता भएकाले बाटोको म्याद राखेर गर्ने मादेन बताउँछन् । जग्गा दिने व्यक्ति सहमतिमा आए दुई पक्षको समझदारीमा तुरुन्तै बाँडफाँड हुन्छ ।

सहमति नभए दुवै पक्षलाई राखेर एक वर्षभित्र जग्गा लेनदेन हुनेगरी प्रक्रिया सुरु गरिन्छ । मन्त्रालयले यसै आवमा टुंग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । स्रेस्तामा उल्लेख भएका र माग गर्नेले आफूले उपभोग गरेको आधा जग्गा पाउने मादेन बताउँछन् । स्रेस्तामा उल्लेख भएका व्यक्ति नभए उनका छोरा–नातिले पनि पाउने उनले जानकारी दिए ।

द्वेैत स्वामित्व अन्त्य गर्नका लागि स्रेस्तामा मोही उल्लेख भएको र फिल्डबुकमा जनिएको हुनुपर्छ । ऐनमा उल्लेख भएअनुसार मोहियानी दाबी गर्ने धेरै भएमा वा एकाघरका बाबुछोरा, दाजुभाइ भए जग्गा दिनेले आफूलाई रुचाएको ब्यक्तिलाई नामसारी गरिदिन सक्छ । मोही र जग्गाधनी मिलेको खण्डमा जुनसुकै वेला पनि लेनदेन हुन्छ । चालु आर्थिक वर्षमा मात्र दुई ओटा कारोवार भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया