सुशासन समितिविनाको स्थानीय तह

सल्यान । स्थानीय तहको निर्वाचन भएको डेड वर्षभन्दा बढी बितिसक्दासमेत स्थानीय तहमा अझै पनि सुशासन समिति गठन हुन सकेको छैन । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा सुशासन समिति गठन गर्न परिपत्र गरेको लामो समय बितिसक्दासमेत जिल्लाका ६ स्थानीय तहले सुशासन समिति बनाउन नसकेका हुन् ।

स्थानीय तहका प्रमुखको संयोजकत्वमा गठन हुने उक्त समितिमा नेपाल उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज र वुद्धिजीवी लगायतको सहभागिता हुने प्रावधान रहेको छ । वित्तीय सुशासन कायम गर्न, सेवा प्रवाहलाई जनमैत्री बनाउन र समग्र सुशासनको अभ्यासलाई स्थानीय तहको एक अंगको रूपमा प्रयोग गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रत्येक तहमा सुशासन समिति गठन गर्न सबै तहलाई परिपत्र गरिएको थियो ।

विभिन्न प्राविधिक समस्याका कारण समिति गठन हुन नसकेको र अब आउँदो नगर कार्यपालिकाको बैठकबाट समिति गठन गरिने बन्गाड कुपिन्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताए । विगतमा केही समस्याका कारण जुनजुन समिति बनाउनु पथ्र्यो बनाउन सकिने अब आउने कार्यपालिकाको बैठकमा उक्त विषय राख्ने र समिति गठन गरिने उनले बताए ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले एक हप्ताभित्र समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘परिपत्र आएको जानकारी नै थियो विस्तारै गरौँला भन्दाभन्दै बन्न नसकेको हो केही दिनभित्रै कार्यपालिकाको बैठक आह्वान गरेर सुशासन समिति गठन गर्छौं ।’

जिल्लाको दार्मा, कुमाख, सिद्धकुमाख र कपुरकोट गाउँपालिका बाहेक अन्य ६ स्थानीय तह शारदा नपा, बागचौर नपा, बन्गाड कुपिण्डे नपा, कालिमाटी गापा, त्रिवेणी गापा, छायाक्षेत्र गापाले स्थानीय तहको निर्वाचन भएको लामो समय बितिसक्दासमेत सुशासन समिति बनाउन सकेको छैनन् ।

प्रतिक्रिया