संखुवासभा खेलकुद हवः करोडौँको लगानी अव्यवस्थित रंगशाला

संखुवासभा खेलकुद क्षेत्रमा अब्बल नरहे पनि विकासक्रम तीव्र छ । पछिल्लो समय भिन्न विधाका थुप्रै प्रतियोगिता यसका उदाहरण हुन् । जिल्ला खेलकुद विकास समितिको तथ्यांकमा एक वर्षमा भलिबलका ३, ब्याडमिन्टनका ३ र फुटबलका ७ वटा प्रदेश स्तरीय ठूला प्रतियोगिता जिल्लामा सञ्चालन हुने गरेका छन् ।

जिल्लास्तरीय तथा पालिका र वडास्तरीय प्रतियोगिता सयौँको संख्यामा सञ्चालित छन् । जिल्ला खेलकुद समितिमा १७ ओटा खेल सम्बद्ध क्लबहरू आबद्ध छन् भने खेलकुद विकासका लागि गठन गरिएका विभिन्न विधाका ११ ओटा संघहरू आबद्ध छन् । तर, १७ ओटा क्लबमध्ये निरन्तर प्रतियोगिता सञ्चालन गर्ने एड्भान्स क्लब मानेभञ्ज्याङ, खाँदबारी युथ क्लब, मिर्मिरे युवा क्लब तामाफोक, लोहोरुङ क्लब पाङ्मा र हाङ्थुम क्लब मादी रहेका छन् ।

एड्भान्स क्लब मानेभञ्ज्याङ जिल्लाको निकै पुरानो र दरिलो क्लब हो । ०४९ मा स्थापित यस क्लबले स्थापना कालदेखि अरुण कपको रूपमा फुटबल प्रतियोगिता गरेको थियो । जिल्ला फुटबल संघ संखुवासभाले ०६८÷६९ मा सी डिभिजन रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितासमेत आयोजना गरिसकेको छ ।

जसमा एड्भान्स क्लब विजेता भएर बि डिभिजनमा प्रवेश गरेको थियो । त्यसयता ०६४ देखि अरुण कपलाई बृहत्तर बनाउँदै अरुण भ्याली रनिङ कप नामाकरण गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । गत वर्ष कपको सातौँ संस्करणमा सर्वाधिक १ लाख ५० हजार प्रथम राशीको प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । १८ लाख खर्च गरिएको यो प्रतियोगिता संखुवासभाको मुख्य प्रतियोगिता हो ।

जिल्लामा हालसम्म कै ठूलो राशी रहेको चैनपुर मेयर गोल्ड कप फुटबल प्रतियोगिता हो । यो प्रतियोगितामा तीन लाख रूपैयाँको प्रथम पुरस्कार राशी रहेको थियो । वैशाख १५ देखि २२ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको प्रदेश स्तरीय यो प्रतियोगिता संखुवासभाको खेलकुद महोत्सवको रूपमा आयोजना गरिएको थियो ।

चैनपुरलाई खेलकुद क्षेत्रको हवको रूपमा विकास गर्न, हाइअल्टिच्युडको खेल सञ्चालन गर्न र चैनपुरलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा चिनाउन खेलको आयोजना गरिएको मेयर भरत खत्रीले बताएका छन् । यो प्रतियोगितामा ३९ लाख खर्च भएको थियो ।

जिल्लामा हुने ठूला फुटबल प्रतियोगिताहरूमा अरुण भ्याल्ली रनिङ शिल्ड, चैनपुर गोल्ड कप, खाँदबारी गोल्ड कप, हाङ्थुम कप र मादी कप हुन् । भलिबलतर्फ रेजिना कप, द नर्थ बरुण कप, जिल्ला भलिबल संघले आयोजना गर्ने अन्तर पालिकास्तरीय प्रतियोगिता र नवयुग क्लब चैनपुर पोखरीले आयोजना गर्ने प्रतियोगिता रहेका छन् ।

हाङ्थुम, मादी, खाँदबारी र लोहोरुङ कप आयोजना गर्दा पनि १५ देखि २० लाख खर्च हुने गरेको छ । यी ठूला प्रतियोगिता सञ्चालन गर्दा वार्षिक ४ देखि ५ करोड खर्च हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत घिमिरेले बताए ।

तर, यतिका रकम खर्च गरेर गराइने प्रतियोगिता भने त्यति सहज नभएको घिमिरेले बताए । प्रतियोगिता सञ्चालनका लागि ठूलो रकम खर्च गरिए पनि व्यवस्थित रंगशाला र कबर्डहल नहुँदा समस्या भएको उनले गुनासो गरे । जिल्लामा हुने जुनसुकै प्रतियोगितामा दर्शकको बाक्लो उपस्थितिसमेत छ । तर, व्यवस्थित रंगशाला र कभर्डहलको पनि अभाव उत्तिकै छ ।

फुटबल प्रतियोगिताका लागि भगिवन्त रंगशाला, चैनपुर रंगशाला र मुडे शनिश्चरे खेल मैदान फुल साइजको मैदान हो । मानेभन्ज्याङ खेल मैदान, खाँदबारी रंगशाला र मादी खेल मैदान नाइन साइजका मात्र हुन् । सेभन साइजका थुप्रै मैदानहरू छन् । तर व्यवस्थित भने कुनै पनि छैनन् । जिल्लामा हुने सैयौँ साना प्रतियोगिता विद्यालयको खेलमैदान र विभिन्न संघसंस्थाका मैदानमा संचालन गर्नुपर्ने बाध्यता छ । रंगशालाको अभावमा विद्यालयका मैदानमा आयोजना गरिएका प्रतियोगिता अवधिभर विद्यालय नै बन्द गर्नुपर्ने हुन्छ । प्रायः भलिबल प्रतियोगिता विद्यालयको मैदानमा गर्नुको विकल्प पनि छैन ।

रंगशाला र कभर्डहल नहुँदा वर्षायाम अर्थात् जेष्ठ महिनादेखि भदौ अन्तिमसम्म जिल्लामा कुनै पनि प्रतियोगिता सञ्चालन गर्न सकिदैन । खेल मैदानमा पानी परेपछि चिप्लो र खेलाडीलाई असहज हुँदा वर्षायाममा व्यवस्थित रंगशाला कै अभावका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिएको घिमिरेले बताए । उनले भने, भलिबल, फुटबल, ब्याडमिन्टन र मार्सलआट्स खेलको व्यवसायिकता सुरु गरिए पनि वर्षायाममा कुनै पनि खेल सञ्चालन गर्दा खेलाडीहरूलाई समेत समस्या भएको छ ।

खेलकुदलाई निकै महत्वका साथ हेरेको संखुवासभाले प्रतियोगिता सञ्चालन र समापनका समयमा लाखौं लाख खर्च गरेर मन्त्री, खेलसम्बद्ध निकायका प्रमुख व्यक्तित्व र कलाकारसमेत ल्याउने गरेका छन् । तर, भौगोलिक विकटतासँगै खेलकुदलाई अघि बढाउन नियामक निकायको ध्यान आकर्षित गर्न मोटो रकम खर्च गर्नु परेको घिमिरेले बताए । तर अव प्रत्येक स्थानीय तहमा एक खेल मैदानका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको र जिल्लामा एक व्यवस्थित रंगशाला र एक कभर्डहल निर्माणका लागि सरकारको राष्ट्रिय निति रहेकोले आशावादी रहेको घिमिरेको भनाई छ ।

त्रिपाल बेरेर कभर्डहल

ब्याडमिन्टन खेलमा पुरस्कार राशी सानै भए पनि खेलाडी र खेलप्रेमीको उपस्थिती कम छैन । जिल्ला स्तरीय डबल समूहमा गरिने प्रतियोगिताहरूमा करिब ३० समूहको प्रतिस्पर्धा हुने गरेको छ । अहिले जिल्लाका झन्डै २६ स्थानमा कोर्ड निर्माण भएको छ । जसबाट थुप्रै खेलाडीहरू उदयमान छन् । तर व्यवस्थित खेलमैदान (कभर्ड हल) नहुँदा खेलाडीहरूले सास्ती खेप्दै आएका छन् ।
जिल्लाका विभिन्न स्थानमा व्याडमिन्टन खेल सञ्चालन हुने भए पनि कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान छैन । खेलमैदान अभावमा

खेलाडीहरू सरकारी कार्यालयहरूको परिसरभित्र तथा व्यक्तिका जग्गामा बनाइएको ब्याडमिन्टन कोर्डमा खेल खेल्न बाध्य छन् । विभिन्न समयमा जिल्ला स्तरिय प्रतियोगिताहरू हुने भएपनि प्रतिकुल मौसमका कारण खेलहरू प्रभावित हुने गर्दछ ।

कबर्ड हल नहुँदा खाँदबारी नगरपालिका भित्र मात्र ५÷६ स्थानमा खेलाडीहरूमार्फत आर्थिक रकम संकलन गरी कोर्ड व्यवस्थित बनाउन खोजिएको छ । एउटा कोर्डलाई व्यवस्थापन गर्न त्रिपाल र बाँसको लागि करिब ६० हजार रूपैयाँ खर्च गरे पनि यो कार्य दिगो छैन । ब्याडमिन्टन खेल विकासमा कभर्ड हल नहुँदा समस्या भएको खेलाडी सोनाम लामाले बताए ।

जिल्ला स्तरमा थुप्रै ब्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन हुने गरे पनि कबर्ड हल निर्माण पक्रिया भने अघि बढ्न नसकेको खेलाडी निराकार बज्रचार्यले बताए । कबर्ड हल निर्माणका लागि विभिन्न निकायबाट आश्वासन दिए पनि अहिलेसम्म निर्माण नहुनु दुःखद कुरा भएको संघका अध्यक्ष प्रविण शेर्पाले बताए ।

हल निर्माणका लागि पटकपटक नियामक निकायहरूमा अनुरोध गरिए पनि यसप्रति चासो नदेखाएको शेर्पाको भनाइ छ । तर, कचर्ड हल निर्माणका लागि जग्गा उपलब्ध नभएकाले जग्गा खोज्ने काम भइरहेको खाँदबारी नगरपालिका वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । उनका अनुसार जग्गा उपलब्ध भए तत्काल कभर्डहल निर्माण प्रक्रिया अघि बढाउने थियौँ ।

प्रतिक्रिया