शान्ति वार्तामा महत्वपूर्ण प्रगति

वासिंगटन । संयुक्तराज्य अमेरिका र अफगानिस्तानमा विगत १७ वर्षदेखि युद्धरत तालिवान समूहले अफगानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले नियुक्त गरेका अफगान शान्तिदूत जाल्मे खलिलजादले कतारको दोहामा तालिवान प्रतिनिधिसँग अप्रत्यासित रूपमा ६ दिनदेखि वार्ता गरिरहेका छन् । ‘विगतमा भन्दा यसपटकको वार्ता निकै सकारात्मक भएको छ । केही महत्वपूर्ण सवालमा हामीले सहमति गरेका छौँ,’ खलिलजादले ट्विट गर्दै भनेका छन् ।

अफगानिस्तानी र पाकिस्तानी सरकारसँग छलफल गरी खलिलजाद तालिबानसँग वार्ता गर्न कतार पुगेका थिए । वार्ताका सम्बन्धमा थप जानकारी गराउन आफू अफगानिस्तान पुनः जान लागेको खलिलजादले बताए । ‘हामी यो वार्तालाई अझ तीव्रता दिन चाहन्छौँ र चाँडै अर्को वार्ता हुनेछ ।

केही विवादका विषयमा छलफल गरी तत्कालै टुंग्याउनुपर्नेछ,’ उनले ट्विटमा लेखेका छन्, ‘सबै कुरामा सहमति नहुँदासम्म कुनै एक विषयमा पनि सहमति भयो भन्न सकिन्न र विस्तृत शान्ति सम्झौता भएपछि मात्र सहमतिको कार्यान्वयन भएको मानिनेछ ।’

वार्ताको टेबलमा राखिएका कुनै पनि विवरण सार्वजनिक गरिएको छैन, तर जानकारका अनुसार प्रस्तावित योजनामा अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता गर्ने तथा अफगानिस्तानमा कुनै पनि विदेशी अतिवादी समूहलाई तालिबानले शरण नदिने उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि ट्विट गर्दै खलिलजादबाट आफूले उत्साहजनक समाचार प्राप्त गरेको बताएका छन् । ‘अमेरिका अफगानिस्तानमा दिगो शान्तिको पक्षमा दृढ छ, र अन्तर्राष्ट्रिय आतंकवादीको आश्रयस्थल अफगानिस्तान नहोस् भन्ने अमेरिकी चाहना हो र त्यसमा तालिवान सहमतिमा आउने हाम्रो विश्वास छ ।’ अमेरिकाले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र समृद्धिलाई सदैब समर्थन गर्ने विदेशमन्त्री पोम्पेओले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकाको सबैभन्दा लामो अफगान युद्ध अन्त्य भएको चाहन्छन् । अफगान युद्ध सन् २००१ सेप्टेम्बर ११ बाट सुरु भएको थियो । राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा तैनाथ सेनामध्ये आधा अर्थात् १४ हजार अमेरिकी सेना तत्कालै फिर्ता गर्ने बताइसकेका छन् ।

तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्तामा प्रगति भए पनि युद्धविराम गर्ने सम्झौता भइसकेको भन्नेमा सत्यता नरहेको बताएका छन् । साथै, उनले अफगानिस्तान सरकारसँग पनि वार्ता भएको भन्ने कुरा हल्ला मात्र रहेको बताए । वार्तामा सहमति जुट्न बाँकी विषयमा आगामी बैठकमा सुल्झाउनेतर्फ तालिवान सकारात्मक रहेको उनले स्पष्ट गरे ।

प्रतिक्रिया