बाँध भत्किँदा सातको मृत्यु, १५० बेपत्ता

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरू नौजना घाइते भएका र १ सय ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीले शुक्रबार बेलुका सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पीडितका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा सयभन्दा बढी व्यक्तिहरू छुट्टाछुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन् । घटनास्थलमा ४ सय २७ भन्दा बढी कामदार काम गरिरहेकोमा १ सय ५० भन्दा बढी कामदार अहिले सम्पर्कमा नरहेको अधिकारीको भनाइ छ ।

कामदारबाहेक स्थानीय बासिन्दापनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरूले बताएका छन् । बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय वासस्थानमा असर परेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धार कार्यका लागि अग्नीनियन्त्रक र अन्य उद्धारकर्ताहरू परिचालित भएका छन् ।

प्रतिक्रिया