सुदर्शनको ‘लोकतान्त्रिक सामन्तवाद’ पुस्तक बजारमा

काठमाडौं । लेखक सुदर्शन अर्याल ‘शितल’ द्वारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’ बजारमा आएको छ । उक्त पुस्तकको विमोचन कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रको आवरणमा राज्यसत्तामा पक्षपाती र सामान्तवादी चरित्र मौलाउँदै गएको टिप्पणी गरेका छन् । उनले भने, ‘वर्तमान शासनसत्ता देख्नमा लोकतन्त्रजस्तो देखिए पनि शासनशैली र व्यवहारमा सामन्तवादी चरित्र देखिएको छ । त्यसकारण यसलाई लोकतान्त्रिक सामन्तवाद भन्न सकिन्छ । यसो भन्ने आँट लेखक अर्यालले गरेका छन् । यो लेखकको साहस हो ।’

उनले सहिदहरूको सपना र बलिदानअनुरुपको सत्ता सञ्चालन नभएको जिकिर गरे । प्राडा केसीले भने, ‘सहिदहरूले किन रगत बगाएका थिए ? किन आफ्नो जीवन बलिदान दिएका थिए ? आज सहिदहरूको सपनाअनुसार शासन व्यवस्था सञ्चालन भइरहेको छ त ?’ लोकतन्त्रमा योग्यता, जवाफदेहिता र पारदर्शिता हुनुपर्ने बताउँदै उनले भने, ‘खै !

त देशमा यसको स्थान कहाँ छ ? एकपटक श्रीमती अर्कोपटक श्रीमान् मन्त्री, श्रीमती नभए श्रीमान् सांसद, श्रीमान् नभए श्रीमती सांसद, असली बाहुनकी श्रीमतीले जनजाति कोटाबाट सांसद पद हात पार्छन्, यस्तो पनि हुन्छ ?’ उनले लोकतन्त्रको आवरणमा सामन्तवाद लादिएको छ, लोकतन्त्रको आवरणमा सामन्तवादी चरित्र र आचरण मौलाएको बताए ।

कार्यक्रममा विश्लेषक अनिल योगीले सयौँ सहिदहरूको बलिदान र लाखौँ जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्रमा जनताको हितमा काम नभएको बताए । उनले अर्यालको पुस्तक समय सान्दर्भिक भएको जिकिर गरे ।

लेखक अर्यालले लोकतन्त्र समस्त शोषित, पीडित र गरिब जनताको हितमा हुनुपर्नेमा त्यस्तो नभएको भन्दै लोकतन्त्रको नाममा नातावाद, कृपावाद र पार्टीस्वार्थ मौलाउँदै गएको हुँदा लोकतान्त्रिक सामन्तवाद देखिएको धारणा व्यक्त गरे । उनले सुन्दा अप्रिय लागेता पनि मुलुकमा अहिले लोकतन्त्रको नाममा लोकतान्त्रिक सामन्तवाद हावी हुँदै गएको बताए ।

प्रतिक्रिया