महादेववेसी व्यापार महोत्सव सुरु

धादिङ । थाक्रे गाउँपालिकास्थित महादेववेसीमा महादेववेसी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उज्यालो भविष्य महिला समूह थाक्रेले आयोजना गरेको महोत्सव ११ देखि २२ माघसम्म सञ्चालन हुनेछ । मेलामा उँट र मयुर मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

महिला समूह थाक्रे गाउँपालिकाभित्रका पाँच सयभन्दा बढी महिलाको सक्रियतामा गठन गरिएको समूह हो । महिला समूहले महिलाहरूलाई एकीकृत गर्दै हकहित सुनिश्चित गर्दै आइरहेको छ । उक्त समूहले गत वैशाखमा प्रथम महादेवेसी राजमार्ग मिनिमहोत्सव सञ्चालन गरी एम्बुलेन्स खरिद गरी अहिले सेवा दिँदै आइरहेको छ । अहिलेको महोत्सवको पुरानो ऋण चुक्तासँगै जग्गा खरिद गर्ने रहेको मूलआयोजक समितिका अध्यक्ष ताराकुमारी खड्काले बताइन् ।

महोत्सवमा औद्योगिक व्यापारसँग सम्बन्धित स्टलसहित १ सए १५ स्टल रहने छ, प्रतिभा प्रदर्शन, बाल उद्यान तथा रमाइलो मेलाका खेल सामग्रीहरू, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति र विभिन्न वेशभूषाका झाँकी प्रदर्शन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया