नेपालको ऊर्जामा थप लगानी गर्न आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गरेका छन । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भेटमा मन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि सरकारले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए । मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । ‘नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौँ, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ’, उपमहानिर्देशक ताकामीले भने । उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरू इच्छुक रहेको बताए । भेटमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत सहभागी थिए ।

प्रतिक्रिया