मन्दिर प्रवेश गरेकी महिलालाई घरको ढोका बन्द

महिलाहरूका लागि प्रतिबन्ध रहेको दक्षिण भारतको केरलास्थित एउटा मन्दिरमा प्रवेश गर्ने एउटी महिलालाई उनको परिवारले घरमा छिर्न नदिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । सबरीमाला मन्दिरमा प्रवेश गरेको निहुँमा सासूले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै ३९ वर्षीया कनकदुर्गा गत हप्ता मंगलबार अस्पताल भर्ना भएकी थिइन् । उनको टाउकोमा चोट लागेको थियो ।

केरलास्थित सबरीमाला मन्दिरमा रजस्वला हुने उमेरका महिलाहरू प्रवेश गर्न नपाइने परम्परा छ । तर, गत सेप्टेम्बर महिनामा भारतको सर्वोच्च अदालतले त्यो परम्परा हटाउन र सबै महिलालाई मन्दिरमा प्रवेश गर्न दिन आदेश दिएको थियो । अदालतको उक्त आदेशको विरोधमा विभिन्न स्थानमा प्रदर्शनहरू भएका थिए ।

अदालतको आदेशपछि धेरै महिलाहरूले मन्दिरमा जाने प्रयास गरे । तर, प्रदर्शनकारीहरूले उनीहरूलाई छेकेर मन्दिर भित्र जान दिएनन् । तर, प्रदर्शनकारीलाई छक्काउँदै कनकदुर्गा र अर्की एक महिला जनवरी २ मा मन्दिरमा प्रवेश गर्न सफल भएका थिए । सोमबार साँझ कनकदुर्गा अस्पतालबाट घर फर्किन् । तर, उनको घरको ढोका बन्द थियो ।

सामाजिक कार्यकर्ता तंकाचन बिठयाटिलले बिबिसीका इमरान कुरैशीलाई बताएअनुसार उनी घर पुग्दा त्यहाँ परिवारका कोही पनि थिएनन् । उनका पति र दुई छोराहरूले पनि घर छोडेका थिए । बिठ्याटिलका अनुसार उनी प्रहरीसँग आएकी थिइन् र उनीहरूले कनकदुर्गालाई महिला सहायता केन्द्र लगे । एक रात त्यहाँ बसेपछि कनकदुर्गा प्रहरी कार्यालय पुगिन् । त्यहाँ उनका पति कृष्णन् उन्नीलाई सोधपुछ गर्न झिकाइएको थियो ।

वरिष्ठ प्रहरी अधिकारी प्रतीश कुमार भन्छन्, ‘उनी पत्नी कनकदुर्गालाई घर लैजान चाहँदैन थिए तर कनकदुर्गा भने पति जहाँ गएको हो त्यहीँ जान चाहन्थिन् ।’ अन्ततः उनका पतिले उनलाई लैजान मानेनन् र एक्लै गए । पति गएपछि भने कनकदुर्गा महिला सहायता केन्द्रमै फर्किनुपर्यो ।

कनकदुर्गाले यसअघि नै सासूविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएको हुनाले यो विषय अब अदालतले टुंग्याउने प्रहरीले जनाएको छ । अहिले घरमा छिर्न कनकदुर्गाले अदालतको हस्तक्षेप खोजेकी छन् । कनकदुर्गा र बिन्दु अम्मिनी मन्दिरमा छिरेको समाचार आएपछि सोको विरोधमा केरलाभरी हिंसात्मक प्रदर्शनहरू भएका थिए ।

त्यसपछि उनीहरू लुकेर बस्न बाध्य भए । उनीहरूलाई प्रहरीले सुरक्षा दिएर एक ठाउँबाट अर्को ठाउँ सारेको थियो । भारतको सर्वोच्च अदालतको आदेशको विरोधका कयौं महिलाहरू नै देखिए । यता अदालतले आदेश दियो तर त्यसको कार्यान्यन भएको देखिएन । प्रहरीको भूमिका पनि फितलो देखियो ।

गुप्तवासबाट पहिलोचोटि घर फर्किएपछि आफूलाई सासूले पिटेको कनकदुर्गाले प्रहरीलाई बताएकी थिइन् । सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गराउने अभियानमा लागेका महिला अधिकारवादी कार्यकर्ता प्रसाद अमोर भन्छन्, ‘उनले परिवारको बेइज्जत गरेको भन्दै उनीहरू कनकदुर्गा घर नआऊन् भन्ने चाहन्छन् । उनको समाज पनि महिलाहरू मन्दिरमा प्रवेश गर्ने धारणाविरुद्ध थियो ।’
भारतमा आगामी अप्रिल र मे महिनामा निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा महिलाहरू मन्दिर प्रवेश गर्ने विषयबारे विवाद बढेको छ ।

सबरीमाला मन्दिरको विशेषताः

सबरीमाला भगवान अयप्पाको मन्दिर हो । उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ । सो मन्दिरमा दर्शन गर्न प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन् । मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ । एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुट्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेबसाइटमा उल्लेख छ ।

मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ । सबरीमालाजाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन् । तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन ।

हिन्दूधर्ममा महिनावारी भएका महिलाहरूलाई अशुद्ध मानिन्छ र उनीहरूलाई मन्दिर प्रवेशलगायत अन्य धार्मिक क्रियाकलापमा सहभागी गराइँदैन । तर, अधिकांश मन्दिरहरूमा त्यसबाहेकको समयमा महिलाहरूले सहज प्रवेश पाउँछन् ।

तर, सबरीमालामा भने १० वर्षमुनिका बालिका र रजोनिवृत्त भएका ५० वर्षमाथिका महिलाले मात्र प्रवेश पाउँने गरेका छन् । (एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया