कतै रमाइलो कतै कष्ट

काठमाडौं । मौसममा आएको बदलीसँगै मंगलबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका उच्च पहाडी भागमा उच्च हिमपात भएको छ । वर्षासँगै परेको हिमपातले जनजीवन भने प्रभावित बनेको छ ।

हिमाली जिल्लाहरूमा हिउँ पर्नु स्वाभाविक भए पनि उच्च पहाडी क्षेत्रमा समेत बाक्लो हिउँ परेको छ । मनाङ, मुस्ताङ, दोलखा लगायतका पर्यटकीय क्षेत्रमा मंगलबारदेखि नै हिउँ परिरहेको छ । मनाङमा भने साढे एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । त्यहाँको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार माथिल्लो क्षेत्र जान आएका पर्यटक हिमपातका कारण रोकिएका छन् ।

पछिल्लो समय पुस २३ गतेदेखि हिमपात नभएकोमा मंगलबार अपराह्नदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार जिल्लाका सबै भागमा हिउँ परेको छ । तल्लो क्षेत्रको नासो गाउँपालिकास्थित धारापानीसम्म हिउँ परेको छ । चिसोका कारण साँझ बिहानसमेत तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । राति माइनस १८ डिग्रीसम्म झरेको छ ।

यता, केरुङमा बाक्लो हिमपात भएपछि नेपाल आउने तयारीमा रहेका कन्टेनर उतै रोकिएका छन् । हिमपातसँगै चिसो बढेपछि कन्टेनरमा सिल लगाउने कामसमेत रोकिएको छ । सिल गरेका कन्टेनर पनि केरुङमै रोकिएका छन् । सडकमा बाक्लो हिउँ जमेको छ, यातायात सञ्चालन हुन सकेको छैन । चिसोका कारण काम गर्न सकिने अवस्था नरहेको व्यापारीहरूले बताएका छन् । केरुङ जान लागेका कन्टेनर पनि बाटोमै रोकिएका छन् ।

यता, राजधानी काठमाडौं आसपासका उच्च क्षेत्रमा पनि मंगलबारबाट हिउँ परेको छ । फुल्चोकी, चन्द्रागिरि, दामन, नगरकोट लगायतका क्षेत्रमा पनि हिउँ परेको छ । जसका कारण सो क्षेत्रमा हिउँ खेल्न जानेको ठूलो भिड लागेको थियो ।

हिमपातसँगै बढेको चिसोले मुस्ताङको जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो ।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत जिल्लाका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।

कठ्यांग्रिएर एक युवाको मृत्यु

निरन्तर भएको वर्षासँगै चिसो बढेपछि जुम्लामा कठ्यांग्रिएर एक युवाको मृत्यु भएको छ । अत्यधिक हिमतुफानमा परी सिञ्जा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको हो ।

पटमारादेखि जोडु जाने क्रममा नाकुल्ली लेकमा हिउँ र हावाहुरीका कारण कठ्यांग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

पटमाराबाट राडीपाखी खरिद गरी बिक्री गर्न जोडु गाउँ जाने भनी उनका दुई दाजुभाइ हिँडेका थिए । नाकुल्ली भन्ने स्थानमा तीव्र हिमपातसँगै हावाहुरी चल्दा उनीहरू विचलित भएका थिए । मंगलबार साँझ पटमाराबाट घर फर्कंदै गर्दा हिउँमा परी मृत्यु भएको हो ।

प्रतिक्रिया