माङसेबुङमा खिवेक्वा यक्वा सेवा सम्पन्न

इलाम । प्रकृतिपूजक किरातीहरूको सावायेहाङ किरात खिवेक्वा यक्वा (उभौली) सेवा २०७५ धुमधामका साथ सम्पन्न भएको छ ।

बालीनाली छरपोक गर्नुअघि बिउवीजनको सेवा गरिने सो कार्यक्रम किरात धर्मगुरु लिङदेन आत्मानन्द र गुरुआमा साँवा पवित्रहाङमा लिङदेनको हस्तवाहुलीबाट माङवाहाङवा (सद्विज) वितरणसँगै सम्पन्न भएको हो ।

जिल्लाको माङसेबुङमा विभिन्न कार्यक्रमका साथ खिवेक्वा यक्वा सेवा गरिएको छ । सेवाको क्रममा साक्मुरा वदेम्मा (गालीश्राप वहन्ती), विश्व शान्ति र मानव एकताको कामना गर्दै सावायेत् लाधुङ सेमी सेवा, पुस्तक पुस्तिका विमोचन, झाँकी प्रदर्शन, साहित्यिक तथा बृहत् साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले किरात परम्परागत नाचहरू माङलाङ, केलाङ, साकेला, हुर्रा र गीतहरू पालाम, ख्याली, हाक्पारेलगायतका गायन प्रस्तुति गरेको थियो ।

सेवाको अन्तिम दिन किरात धर्मगुरु लिङदेनले आशीर्वाद दिँदै खिवेक्वा याक्वा सेवा किरातीहरूको महान परम्परा रहेको बताए । ‘माघबाट उभौली लाग्छ । भूमि न्यानो हुँदै जान्छ । बालीनाली छरपोक गर्ने समय सुरु हुन्छ’, लिङदनेले भने, ‘किरात धर्म नेपालको हिमालको काखमा रहेको पाखा पखेरामा उत्पत्ति भएको धर्म हो । त्यसैले सधैँ प्रकृति र पृथ्वीको सेवा गर्न अनुरोध छ ।’

सेवामा नेपालका विभिन्न स्थानसँगै भारतको दार्जिलिङ, सिक्किम, आसाम, भुटान, अमेरिका, बेलायतलगायतका हजारौँ किरात धर्मावलम्बीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले बालीनालीको बिउ संकलन गरेका थिए । संकलित बिउ किरात धर्मावलम्बी भक्तजनलाई वितरण गरिएको थियो ।

के हो सावायेहाङ किरात खिवेक्वाग यक्वाल सेवा ?

प्रकृतिपूजक किरातीहरूले जग्गा जमिन खनजोत गर्न र बिउवीजन छर्नअघि पृथ्वीको पूजा आराधना गर्ने गर्दछन् । त्यस पूजा आराधानालाई सावायेहाङ किरात खिवेक्वाो यक्वाप (उभौली) सेवा भनिन्छ । खनजोत गर्दा जमिन भित्र र बाहिर रहेका कीटपतंगहरू अञ्जानवस मारिने भएकाले खिवेक्वाप यक्वा सेवामा उक्त भूलवस भएको कार्यका लागि क्षमा याचना र मृत कीटपतंगको मुक्तिका लागि सेवा भक्ति गरिन्छ ।

कीटपतंग, रोग नलागिकन बालीनालीले राम्रो फल दिवोस्, मानव तथा सकल प्राणीमा धनधान्य, शुख, शान्ति तथा समृद्धि मिलोस् भनेर तागेरा निङवा भुमाङ (ईश्वर) प्रति सेवा आराधाना गरिन्छ । यसरी नै यही सेवामा पृथ्वी, आकाश, हावा, आगो र पानी (पंचतत्व) को सन्तुलनका लागि सेवा भक्ति गरिन्छ । यसरी सेवा आराधाना गर्दा जलवायु सन्तुलनमा रहने विश्वास रहेको छ ।

प्रतिक्रिया